डेढ दर्जन गाविसमा खाद्य संकट

जाजरकोट, १४ असोज । जाजरकोटका डेढ दर्जन बढी गाविसमा चरम खाद्यान्न संकट देखिएको छ ।
प्राय: खाद्यान्न नपुग भइरहने जाजरकोटका भगवती, रग्दा, खगेनकोट, लहा, नायकबाडा, रोकायगाउँ, लिम्सा, सक्ला, ढिमे, पजारू, दसेरा, सीमा, जुँगाथापाचौर, अर्छानी, टालेगाउँ, थालारैकर, पैँक, झाप्रालगायत गाविसमा खाद्यसंकट देखिएको हो । ती क्षेत्रमा खाद्यान्न संकट देखिए पनि नेपाल खाद्य संस्थानको शाखामा भने चामल बिक्री नभएर थन्किएको छ । कुल १६ हजार ६ सय ९८ हेक्टर खतीयोग्य जमिन रहेको जाजरकोटमा यसवर्ष समयमा पानी नपर्दा मकै उत्पादन घटेकाले खाद्यसंकट झनै चरम भएको हो । जिल्लाको पूर्वी क्षेत्रमा खाद्यान्न पूर्ति गर्ने उद्देश्यले रग्दा गाविसको चौखा, उत्तरी क्षेत्रका लागि नायकबाडा गाविसको घाट, उत्तरपश्चिमी क्षेत्रका लागि पजारू गाविसको घोगी र पश्चिम क्षेत्रका लागि दसेरा गाविसको दसेरामा नेपाल खाद्य संस्थानका चार डिपो स्थापना गरिएको छ । तर, ती डिपोमा चामल सकिएको पूरा दुई महिना भएको छ । अघिल्लो आवका लागि ल्याइएको चामल सकिएको र यस वर्षका लागि चामल पुर्‍याउन ढिलाइ भएपछि उक्त डिपोहरू रित्तो भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोटका प्रमुख रामबहादुर बमले बताए ।
जिल्लामा रहेका खाद्य संस्थानका चार डिपो रित्ता छन् तर सदरमुकाममा रहेको शाखा कार्यालयमा भने आवश्यक मात्रामा चामल बिक्री नहुँदा राख्ने ठाउँको समेत अभाव भएको छ । हाल कार्यालयमा करिब एक हजार क्विन्टल बढी चामल मौज्दात रहेको कार्यालय प्रमुख बमले जानकारी दिए । उनले भने, ‘गाउँमा खाद्यसंकट परेको खबर आउँछ तर यहाँ हामीसँग चामल मौज्दात छ ।’ बोलकबोल प्रक्रियामा ढिलाइ भइरहेकाले सम्बन्धित डिपोमा चामल पुर्‍याउन नसकिएको कार्यालयले जानकारी दिएको छ । यो वर्ष सरकारले जाजरकोटका चारवटा डिपोमा ८/८ सय क्विन्टलका दरले तीन हजार दुई सय र शाखा कार्यालयमा चार हजार दुई सय गरी जम्मा सात हजार चार सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ ।
योभन्दा अगाडि खोलिएको बोलकबोलमध्येमा दसेरा र घोगी डिपोको सदर भइसकेको छ भने चौखा र घाट डिपोका लागि सदर नभएपछि पुन: बोलकबोल आह्वान गरिएको छ । दसेरा र घोगी डिपोमा तत्काल दुई/दुई सय क्विन्टलका दरले चामल पुर्‍याउने तयारी भइरहेको कार्यालयले बताएको छ । बाँकी दुई डिपोमा दसैँसम्म पुर्‍याउने लक्ष्य रहेको छ । अघिल्लो आवमा केही ठेकेदारहरूले राजनीतिक आडमा सम्बन्धित डिपोमा आवश्यक खाद्यान्न नपुर्‍याएपछि स्थानीयले खाद्यसंकट बेहोर्नुपरेको थियो । यसवर्ष त्यस्तो हुन नदिने कार्यालय प्रमुख बमले प्रतिबद्धता जनाए । गाउँमा खाद्यान्न सकिएपछि केही स्थानीयले खच्चडमा महागो ढुवानी भाडा तिर्दै चामल लिने गरेका छन् । खच्चड लिएर चामल लिन आएका ढिमे–७ का वीरबहादुर सिंहले समयमा पानी नपर्दा मकै उत्पादन राम्रो नभएपछि खाद्यान्न अभाव भएको बताए ।
संस्थानको अञ्चल कार्यालय नेपालगन्जले पठाएको दुई सय ३० क्विन्टल चामल केही गुणस्तरहीन भएको र सो चामल फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा जिल्ला खाद्य अधिकार सञ्जालको बैठक बसेर निर्णय गरिने कार्यालय प्रमुख बमले बताए । आव ०६८/६९ मा ११ हजार चार सय ६३ मेट्रिकटन खाद्यान्न अपुग भएको थियो । अघिल्लो आवको तुलनामा आव ०६८/६९ मा केही मात्रामा खाद्यान्न पूर्ति भए पनि चालु आव ०६९/७० सालमा भने वर्षात्का कारण खाद्यान्न उत्पादन स्वत: कम हुने र चरम खाद्य सङ्कट बेहोर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया