सेयर बजार जहाँको त्यहीँ

काठमाडौं, १४ असोज । सेयर बजारमा सुधार आउन सकेको छैन । ०६७ जेठ अन्तिमसाता चार सय ५० अंकमा रहेको नेप्से परिसूचक अहिले पनि चार सयको हाराहारीमा रहेको छ । यो भनेके साढे दुई वर्षअघिकै अवस्थामा बजार छ भन्नु हो । बंैकिङ क्षेत्रको वर्चस्व रहेको सेयर बजारमा औद्योगिक तथा उत्पादनमूलक, सेवा तथा विविध क्षेत्रको पर्याप्त पहुँच नदेखिएको कारणले पनि बजारमा सुधार आउन नसकेको केही विश्लेषक बताउँछन् ।
लगानीकर्ताको दृष्टिकोणमा सरकार र नियामक निकायले बजार सुधारका लागि गरेका सबै वाचा चुनावी नाराजस्तो मात्रै बनेका छन् । सरकारले बजार सुधारका लागि विगतमा गरेको धेरै सम्झौता निश्चित समयसम्म पनि पूरा गर्न नसकेपछि बजारप्रति लगानीकर्ता निराश भएका छन् । सोहीकारण लगानीकर्ता सरकारलाई विश्वास गरेर थप लगानी गर्ने अवस्थामा छैनन् ।
पुँजी बजारमा लगानीकर्ताले ठूलो रकम गुमाइसकेका छन् । यस्तो अवस्थामा लगानी गर्ने अवस्था नरहेकाले बजार सुधारमा उनीहरूले खासै योगदान गर्नसक्ने अवस्था देखिँदैन । संस्थागत लगानी भित्रयाउने योजना कागजमै मात्र सिमित रहेको छ । गैरआवासीय नेपालीको लगानी बजारमा भित्र्याउने कुरा लामो समयदेखि चल्दै आए पनि यसतर्फ ठोस कदम अघि बढेको छैन । गैरआवासीय नेपालीले विश्वको जुनसुकै कुनाबाट पनि इन्टरनेटको माध्यमबाट नेपाली सेयर दलालमार्फत सेयर खरिद गर्ने अवस्था निर्माण भए मात्रै लगनी गर्न सक्छन् । सरकराले यसका लागि इन्टरनेट बेसको सिडिएस सेवा सुचारु गर्नुपर्छ । यसतर्फ पनि राज्यसंयन्त्र असफल भएको देखिन्छ ।
योभन्दा पहिले सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, नेपाल टेलिकमलगायत सरकारी स्वामित्व रहेका संस्थालाई सेयरमा लगानी गर्न आग्रह गरेको थियो । तर, यो आसैआस पछि निराशामा परिणत भएको छ । संस्थागत लगानी भित्रिने आशमा आसावादी बनेका लगानीकर्ता पुन: निराश बन्न पुगे । सोही कारण केही समय बजार सुधारतर्फ लम्किए पनि यसले निरन्तरत पाउन सकेन । त्यतिखेर नेपाल टेलिकले दुई अर्ब रुपियाँ, कर्मचारी सञ्चय कोषले एक अर्ब ५० करोड र अन्य संस्थाले पनि करिब एक अर्बको हाराहारीमा सेयर किन्ने कुरा सार्वजनिक गरेका थिए । यो पनि कुरामै मात्र सीमित रहन पुग्यो ।
समग्र परिसूचकलाई हेर्दा सेयर संख्या र कम्पनीको संख्यामा वृद्धि भए पनि सेयर बजारमा भने खासै उत्साह थपिएको छैन । वित्तीय क्षेत्रले धानेको सेयर बजार आशा गरेअनुरूपम देखिएको छैन । निक्षेप प्रशस्त हुँदाहुँदै पनि अहिले वित्तीय क्षेत्र लगानी विस्तार गर्नसक्ने अवस्थामा छैन । अधिकांश वित्तीय संस्थामा घरजग्गा व्यवसाय क्षेत्रमा देखिएको मन्दीको दबाब परिरहेको छ । यो अवधिमा मुलुकको उत्पादनशील क्षेत्र र समग्र अर्थ व्यवस्थाले गति नलिएसम्म पुँजी बजार उकालो लाग्न सक्ने अवस्था देखिँदैन । उत्पादनशील र औद्योगिक क्षेत्रमा सुधार भएन र लगानी विस्तार भएन भने वित्तीय क्षेत्र एक्लैले केही गर्न सक्दैन । अर्कोतर्फ अन्य क्षेत्रमा राम्रो प्रतिफल हासिल भएमा लगानीकर्ताले बचेको केही रकम आकर्षक प्रतिफलका लागि सेयर बजारमा लगानी गर्ने हुन् । जबकि, अनियन्त्रित मुल्यवृद्धि र त्यसले सिर्जना गरेको महँगीका कारण आम नेपालीको क्रयशक्ति पनि क्रमश: घट्दै गएको छ ।
वास्तविक क्षेत्रको उपस्थिति न्यून रहेकाले पुँजी बजार दिगो र स्थिर हुन सकेको छैन । मुलुकको तरल राजनीतिक वातावरण, ऊर्जा संकट र प्रतिकूल औद्योगिक तथा व्यावसायिक वातावरणका कारण वास्तविक क्षेत्रले तत्काल आफ्नो हिस्सा बढाउने कुनै सम्भावना छैन ।
सेयर बजारमा सुधार आउन नसक्नुमा सरकारले लगानीको सुरक्षा प्रदान गर्न नसक्नु मुख्य कारक तत्त्वका रूपमा रहेको छ । लगानीकर्ताल यो सरकारलाई विश्वास गरिरहेको अवस्था छैन । हामीकहाँ हुन्डीमार्फत ठूलो परिमाणको कारोबार भइरहेको छ । सरकारले यस्तो कार्यलाई रोक्न सकेको छैन । योसँगै नियन्त्रित व्यवस्थाले अर्थतन्त्र मजबुत हुन सक्दैन भन्ने कुरा पनि सरकारमा बस्नेले बुझ्न सकेको देखिँदैन । यस्तो अवस्थामा पुन: तरलता अभाव हुनसक्ने अवस्था देखिएको छ । सरकारी बजेट आउन नसकेका कारण बैंकको निक्षेप बढ्न सकेको छैन । आठ खर्ब ६८ अर्ब पुगको निक्षेप पुन घट्न थालेको छ । अहिले यो आठ खर्ब ६२ अर्बमा झरेको छ । यो भनेको बजारबाट ६ अर्ब रुपियाँ हराउनु हो । यसले बजारमा पुन: तरलता अभाव सिर्जना गर्न सक्छ ।
नेप्सेमा झिनो सुधार

काठमाडांै : नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । गत साताको पहिलो दिनका तुलनामा शून्य दशमलव ६२ अंकले वृद्धि भई चार सय १५ दशमलव ७० अंक पुगेको छ ।
गत साता स्टक एक्सचेन्जमा एक सय २१ कम्पनीको कारोबार भएको छ । जसमा सात हजार तीन सय ५८ कारोबारबाट ४३ करोड ५६ लाख ६४ हजार हजार रुपियाँ बराबरका १२ लाख ९६ हजार आठ सय ७९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गत साता एक सय २५ कम्पनीको कारोबार भएको छ । जसअनुसार सात हजार २८ कारोबारबाट ६२ करोड ९५ लाख ९० हजार रुपियाँ बराबरका ३५ लाख २१ हजार एक सय ६१ कित्ता सेयर खसरदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३० दशमलव ८१ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २६ करोड ११ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५९ दशमलव ९४ प्रतिशत हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव शून्य ९ अंकले वृद्धि भई एक सय ५ दशमलव २८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम तर्फ नौ करोड १६ लाख रुपियाँको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर दुई लाख ४३ हजार आठ सय १३ कित्ताको आधारमा किस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा सात सय आठवटाका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा चिलिमे हाइड्रो पावर कम्पनी, एभरेस्ट बंैक, किस्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल दूरसञ्चार कम्पनी रहेका छन्  । गत साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार नभएका नेप्सेले जनाएको छ ।

प्रतिक्रिया