आन्दोलनको तयारीप्रति देउवा पक्ष रुष्ट

काठमाडौं, १४ असोज । पार्टीको केन्द्रीय समितिबाट निर्णय नगराई सरकारविरुद्ध आन्दोलन गर्ने तयारीमा कांग्रेस लागेपछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष रुष्ट बनेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नुपर्ने र त्यसपछि बन्ने सरकारका लागि नेतृत्वको दाबी गर्दै आएको दल कांग्रेसको देउवा पक्ष आन्दोलनका लागि केन्द्रीय समितिलाई बाइपास गरिएको भन्दै असन्तुष्ट बन्न पुगेको हो ।
विधि र प्रक्रियाअनुरूप पार्टी अगाडि नबढ्दा सरकारको नेतृत्व दाबी र आन्दोलनलाई बल नपुग्ने देउवा पक्षको तर्क छ । संविधानसभा विघटनपछिको अवस्थाबारे समीक्षासँगै नयाँ धारणा तय गर्न भदौको मध्यमा बसेको केन्द्रीय बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठक एक साता चलेर २० भदौमा २७ गतेसम्म स्थगन भएको थियो । वर्तमान सरकार हटाई आफ्नै दलको नेतृत्वमा सहमतिको सरकार बनाउने पक्षमा भए पनि देउवा समूहले संस्थापन विधि र प्रक्रियालाई बेवास्ता गरी अन्य दलसँग आन्दोलनको तयारीमा लागेको आरोप लगाएको छ ।
‘आन्दोलन गर्ने विषयमा विमति छैन,’ देउवा पक्षधर केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘हचुवाका भरमा आन्दोलन घोषणा गर्दा सरकार नै बलियो हुन्छ । यसप्रति पार्टी गम्भीर बन्न सकेन ।’ पार्टीबाट निर्णय नगर्दा आन्दोलन प्रभावकारी बन्न नसक्ने उनी बताउँछन् ।
संस्थापननिकट नेता दीपकुमार उपाध्याय पनि महतको भनाइमा सहमति जनाउँछन् । भन्छन्, ‘पार्टी निर्णयमै चलेको भए राम्रो हुन्थ्यो तर केन्द्रीय समितिले स्पष्ट निर्णय नगरी अघि बढ्नु गल्ती भयो ।’
केन्द्रीय समितिले गर्न नसक्ने निर्णय कार्यसम्पादन समितिले गर्नुपर्ने प्रावधान छ । तर, महाधिवेशनको दुई वर्षसम्म पनि कार्यसम्पादन समिति बन्नसकेको छैन ।
देउवा पक्षले सभापति सुशील कोइरालामाथि विधानअनुरूप नचलेको आरोप लगाउँदै आएको छ । विवाद बढ्ने डरले ‘आन्तरिक व्यवस्थापन’का नाममा आफू पक्षधरको मात्रै बैठक सभापति कोइरालाले निवासमै बसाउन थालेको देउवा पक्षधरको भनाइ छ । कोइरालाले केन्द्रीय समितिलाई बेवास्ता गर्दै केही दिनदेखि महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा. रामशरण महतलगायत निकटका सदस्यसँग छलफल गर्न थालेका छन् । सभापतिको यो शैलीलाई संस्थापन पक्षकाले नै पनि रुचाएका छैनन् । ‘केन्द्रीय समितिबाटै आन्दोलनमा जाने विषयमा निर्णय गर्नुपथ्र्यो,’ उपाध्याय भन्छन्, ‘यस्तो नहुँदा गल्ती भएको छ ।’
प्रधानमन्त्री उम्मेदवारमा हानाथाप
सरकारको नेतृत्व दाबी गरे पनि को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस एकमत हुनसकेको छैन । संविधानसभा चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर नपाएको कांग्रेसले यसपटक पनि आन्तरिक किचलोका कारण उम्मेदवारमा सहमति जुटाउन गाह्रो पर्ने देखिएको छ ।
पार्टीले सरकारको नेतृत्व गर्ने पक्का भए सभापति कोइराला नै अघिसर्ने मनस्थितिमा देखिन्छन् । तर, उनले तत्काल प्रधानमन्त्री बन्ने आफ्नो इच्छा नरहेको अभिव्यक्ति दिएका छन् । ‘सभापतिले अगाडि बढ्दिन भन्नुभएको छ’ केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘तीन नेता मिलेर निकास दिनुको विकल्प छैन ।’
सभापतिले तत्काल आफू प्रधानमन्त्री नबन्ने जनाउ दिएपछि वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेलका पक्षमा छुट्टाछुट्टै माहोल बनाउन केही नेता लागिपरेका छन् । देउवा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा छन् । सभापति नै सरकारको नेतृत्व गर्न अघिसरे पार्टीको जिम्मा आफूले पाउनुपर्ने उनको माग छ ।
‘सहमतीय सरकारको नेतृत्व शेरबहादुर देउवा र बहुमतीय सरकारको नेतृत्व रामचन्द्र पौडेलले गर्ने भन्ने पार्टीको निर्णय थियो,’ देउवानिकट केन्द्रीय सदस्य एनपी सावद भन्छन्, ‘निर्णय परिवर्तन नहुँदासम्म सहमतीय सरकारको नेतृत्वमा देउवाको विकल्प हुन सक्दैन ।’
उपसभापति पौडेलले भने १७ पटकसम्म बहुमतीय प्रक्रियामा आफूलाई भिडाएको भन्दै अबको प्रधानमन्त्री आफू बन्न पाउनुपर्ने तर्क गरेका छन् । आफूले पार्टी सभापतिलाई सहयोग गर्दै आएको भन्दै उनी आफूलाई प्रधानमन्त्री बनाउन सभापति खुलेर नलागेको भन्दै असन्तुष्ट रहेको स्रोत बताउँछ । स्रोतका अनुसार सुजाता कोइरालासहितका नेता पौडेलको पक्षमा लबिङमा लागिपरेका छन् ।

प्रतिक्रिया