प्रहरी हत्याका अभियुक्त सार्वजनिक

ताप्लेजुङ, १४ असोज । चाँगेस्थित इलाका प्रहरी कार्यालय दोभानमा कार्यरत प्रहरी जवान भूपाल आचार्यको हत्यामा संलग्न अभियुक्त सार्वजनिक भएका छन् । प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत तीन अभियुक्तलाई सार्वजनिक गरेको हो ।

सान्थाक्रा–९ का २० वर्षीय उमेश लिम्बू, २८ वर्षीय गंगाबहादुर लिम्बू र वडा नम्बर ६ का १८ वर्षीय भीम लिम्बूलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूले बुधबार राति डयुटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको हो ।
ताप्लेजुङका डिएसपी केदार ढकालले हत्यामा संलग्नको विवरण सार्वजनिक गर्दै उनीहरूलाई ज्यानमुद्दा चलाइने बताए । उनका अनुसार उनीहरूलाई वारदात गरी भागेर लुकिछिपी बसिरहेको अवस्थामा सदरमुकाम फुङलिङ–१ बाट शनिबार दिउँसो पक्राउ गरिएको हो । ढकालले घटनामा आठ जनाको संलग्नता रहेको र अरू अभियुक्तको खोजीकार्य जारी रहेको बताए ।
बुधबार राति धारिलो हतियार प्रहारबाट प्रहरी जवान धनकुटा चुनवाङ घर भई दोभान प्रहरी कार्यालयमा कार्यरत आचार्यको मृत्यु भएको थियो भने पाँचथर फिदिम–४ घर भएका प्रहरी जवान चन्द्रदेवान राई गम्भीर घाइते भएका थिए । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । डिएसपी ढकालका अनुसार दोभान बजारको गस्तीमा रहेको प्रहरीले स्थानीय श्यामबहादुर लिम्बूको होटलमा मादकपदार्थ सेवन गरी होहल्ला गरिरहेको समूहलाई हल्ला नगर्न र घर जान सल्लाह दिने क्रममा समूहले आक्रमण गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
बुधबार प्रहरीको हत्या भएपछि सुरक्षाको माग गर्दै बिहीबार दोभानबजार बन्द गरिएको थियो ।

प्रहरी कारबाहीमा अपहरणकारीको मृत्यु
सिरहा : प्रहरीको कारबाहीमा एक अपहरणकारी मारिएका छन् । अपहरण, हत्या तथा लुटपाटको घटनाका आरोपी असनपुर–७, डोहटियाका सन्तोष सिंहको शुक्रबार राति १ बजे सिरहाको जिझौल–४ मा प्रहरीसँग भएको भिडन्तमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार शाहीको कमान्डमा गएको गस्तीमा रहेको प्रहरी टोलीसँग स्थानीय कटनिया खोलामा भएको भिडन्तमा प्रहरीको गोली लागेर महतोको ज्यान गएको एसपी विक्रम गुरुङले जानकारी दिए । गुरुङका अनुसार मोटरसाइकलमा रहेकामध्ये सिंहको ज्यान गएको छ भने दुई जना भाग्न सफल भएका छन् । भाग्नेमध्ये एक जना घाइते रहेको प्रहरीेले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट पाँच थान चाइनिज पेस्तोल, सोमा लाग्ने गोलीको खोका र एक थान थ्रीनट थ्रीको खोकासहित मृतक सिंहले भिरेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ । भिडन्तमा प्रहरीले १५ राउन्ड फायरिङ गरेको बताइएको छ ।
मध्यरातमा गस्तीमा रहेको प्रहरी टोलीतिरै बजाज कम्पनीको डिस्कभर मोटरसाइकलमा चढेर आएका तीन जनालाई रोकेर चेकजाँच गर्न खोज्दा मोटसाइकलबाट फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । फायरिङकै क्रममा सिंहको मृत्यु भएको एसपी गुरुङले दाबी गरे । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित अस्पतालमा ल्याइए पनि ढिलो गरी मात्र सनाखत भएको थियो ।
मंगलबार राति कजाराका कृष्णदेव यादव र गजेन्द्र यादवलाई अज्ञात समूहले मोटरसाइकलसहित अपहरण गरे पनि अपहरित भाग्न सफल भएको तर मोटरसाइकल अपहरणकारीले नै लगेका थिए । सोही मोटरसाइकलमा उनीहरू तीन जना सवार रहेका थिए । प्रहरीको गस्ती टोली त्यसकै खोजीमा निस्किएको थियो । (सौस)

प्रतिक्रिया