चन्दा नदिने प्याब्सनको अडान

धरान, १४ असोज । धरानका विद्यालयका सञ्चालकहरूले विद्यालयमा चन्दाआतंक मच्चाउनेविरुद्ध संस्थागतरूपमा आक्रामक भएर प्रस्तुत हुने तयारी गरेका छन् । विद्यालयको भविष्य अनिश्चित तुल्याउने गरी जबरजस्ती चन्दा माग गर्ने कुनै पनि संगठन वा समूहविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुने तयारी गरेको प्याब्सन धरानले जनाएको छ ।

शनिबार धरानमा सम्पन्न पत्रकार सम्मेलनमा उनीहरूले शैक्षिक संस्थामा पनि जबरजस्ती चन्दा माग गरी ती संगठन र समूहहरूले शैक्षिक गतिविधिमै अवरोध पुर्‍याएको बताए । प्याब्सनका केन्द्रीय अध्यक्ष बाबुराम पोखरेलले चन्दाआतंकले विद्यार्थीको भविष्य नै अन्योलमा परेको र यसले राष्ट्रको भविष्य पनि डामाडोल हुने अवस्था आएको बताए ।
कुनै पनि शिक्षण संस्था कसैलाई स्वेच्छिक आर्थिक सहयोग गर्न स्वतन्त्र भएको बताउँदै उनले जबरजस्ती चन्दाआतंक नरोकिए प्याब्सनले केन्द्रीयस्तरबाटै प्रतिकार गर्नेसम्मको नीति लिने जानकारी दिए । चन्दाआतंकले निजी विद्यालय आक्रान्त हुँदा पनि सरकारले गम्भीरता नदेखाएको बताउँदै सरकारले आफ्नो सुरक्षा आफै गर भन्ने शैली देखाएको उनले आरोप लगाए ।
प्याब्सन सुनसरीका अध्यक्ष दिलकुमार वनले सुनसरीका विभिन्न निजी विद्यालयमा एकीकृत माओवादी र नेकपा–माओवादीका विद्यार्थी संगठनले चन्दाआतंक मच्चाएको बताए । उनले दुवै संगठनले अधिवेशनका लागि भन्दै ५० हजार रुपियाँसम्म चन्दा माग्ने गरेको र नदिए आक्रमणको धम्की दिने गरेको बताए ।
प्याब्सनका पूर्वाञ्चल अध्यक्ष टीकाराम पुरीले सरकारले पनि शिक्षण संस्थाको सुरक्षा गर्न सक्ने अवस्था नदेखिएकाले आफ्नो सुरक्षाका लागि प्रतिकारबाहेक अर्को विकल्प नरहेको जानकारी दिए । ‘जति क्षति पुर्‍याउँछन् पुर्‍याउन्, हामी सबै मिलेर पूरा गरौँला तर डरधम्कीमा चन्दा दिएर पल्काउने काम अब गरिन्न,’ उनले बताए ।

प्रतिक्रिया