‘राजसंस्थाले नै मुलुक जोगाउँछ’

वीरगन्ज, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुन:स्थापनाले मात्रै वर्तमान राजनीतिक संकटबाट मुलुकलाई जोगाउने बताएका छन् ।

वीरगन्जमा शनिबारदेखि सुरु भएको विस्तारित बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले जनसंघर्षबाट नै मुलुकमा राजसंस्था पुन:स्थापना गरिने दाबी गरे । चार दलको सिन्डिकेटकै कारण मुलुक अहिलेको राजनीतिक र संवैधानिक जटिलतामा फसेको उनको आरोप छ ।
‘मुलुक चार दलको मात्रै पेवा होइन,’ थापाले भने, ‘राप्रपा नेपाल पनि यो मुलुकको प्रमुख राजनीतिक शक्ति हो,’ अध्यक्ष थापाले आगामी चैत या वैशाखमा संविधानसभाको नयाँ चुनाव हुने बताए । वीरगन्जको विस्तारित बैठकले चुनावकै रणनीति तय गर्ने उनले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपा नेपालका वरिष्ठ नेता केशरबहादुर विष्टले संघीयता नेपालका लागि उपयुक्त नरहेको बताए । नेपालजस्तो सानो मुलुकमा संघीयता अपनाउँदा मुलुक टुक्रन सक्ने खतरा रहेको उनले औँल्याए ।
बैठक उद्घाटनमा राप्रपा नेपालका सहअध्यक्ष पदमसुन्दर लावती, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री चन्द्रबहादुर गुरुङलगायतका नेताले सम्बोधन गरेका थिए ।
विस्तारित बैठक सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय विस्तारित बैठक शनिबारदेखि वीरगन्जमा सुरु भएको छ । विस्तारित बैठकको रापप्रा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले उद्घाटन गरेका हुन् । वीरगन्जको घन्टाघर चोकस्थित विपी उद्यान परिसरमा जनसभाको आयोजना गरी विस्तारित बैठकको उद्घाटन गरिएको थियो । जनसभामा पर्सा, बारा, मकवानपुर, रौतहट, चितवनलगायतका जिल्लाबाट आएका कार्यकर्ताको सहभागिता थियो ।
आइतबार बिहानदेखि सुरु हुने विस्तारित बैठकको बन्दसत्रमा केन्द्रीय समिति सदस्य, जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव, भ्रातृ संगठनका पदाधिकारीलगायत देशभरबाट करिब आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । सोमबारसम्म चल्ने विस्तारित बैठकको बन्दसत्रमा अध्यक्ष कमल थापाले चुनावी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष राजीव पराजुलीले तराई–मधेसका मुद्दासम्बन्धी प्रतिवेदन र महामन्त्री चन्द्रबहादुर गुरुङले संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । बन्दसत्रमा पेस हुने प्रतिवेदनमा सहभागीबीच समूहगत छलफल गरेर पार्टीको आगामी रणनीति तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । बैठकले मधेसप्रति पार्टीको ठोस र प्रभावकारी नीति तय गर्ने उपाध्यक्ष पराजुलीले बताए ।

प्रतिक्रिया