एक जादुमयी रचनाशिल्पी

केही वर्षअघि मासिक साहित्यिक पत्रिका ‘मधुपर्क’मा मैले कुमार नगरकोटीको कथा ‘तिम्रो मृत्यको समाचार’को एक अंश पढेको थिएँ । मलाई त्यस कथाले एकदम आकर्षित गर्‍यो । शब्द संयोजन जटिल थियो तर अदभूत मिठास थियो त्यसमा । त्यस दिनदेखि मैले यी लेखकको नामलाई आफ्नो दिमागमा संरक्षित गरेँ । उनलाई मैले आफूलाई मन पर्ने लेखकको दर्जा पनि दिएँ ।
दिन बित्दै गए । नगरकोटीका लेख/रचना विभिन्न पत्रपत्रिकामा छाउन थाले । ‘गरिमा’मा मैले उनको अन्तर्वार्ता पढँे । एकाग्र चित्तले ‘मोक्षान्त काठमाण्डौ फिभर’ का कथा पढेँ । दिमाग खलबलियो । साहित्यिक हयांगओभरले सतायो । अर्कै दुनियाँमा पुगेको महसुस भयो । कता कता लेखक नगरकोटीलाई भेट्ने उच्चतम तृष्णा जाग्यो । मैले उनको फोन नम्बर भेट्टाएँ । विशेषगरी पत्रपत्रिकामा छापिएका उनका क्याजुअल लेख म नछुटाई पढ्थेँ । तीमध्ये ‘माधुरी दीक्षितको चिठ्ठी’, ‘फिक्सन फिभर’, ‘जबरा’, ‘अर्को कप कफी’, ‘अक्षरगन्ज’ , ‘कथार्सिस’ मलाई उनका मनपर्ने लेखहरू हुन् । अनि उनीबारेमा लेखिएका लेख पनि ध्यान दिएर पढ्न थालेँ । त्यसमा पनि दीपक सापकोटाले सौर्य दैनिकमा लेखेको ‘हरियो पर्दा’, रोशन शेरचनले लेखेको ‘झेन फकिरसँग एक साँझ’ आदि हुन् ।
मैले जति नगरकोटीलाई पढ्ने मौका पाएँ, त्यति नै उनको लेखन कलाप्रति आकर्षित हुँदै गएँ । अन्तत: एक दिन साहस जुटाएरै फोन गरँे । मेरो उनीसँगको कुराकानीको सुरुवात यस्तो थियो ।
‘कुमार सर, नमस्कार म बालिका थपलिया । तपाईसँग भेट्न चाहन्छु ।’
‘के काम थियो होला ?’ उनले जबाफ फर्काए ।
मैले आफ्नो इच्छा व्यक्त गरेँ, ‘म तपार्इंको नियमित पाठक हुँ, एकपटक भेटेर कुरा गर्न चाहन्छु ।’
उनले भेटघाटका निम्ति शंखमूलमा बोलाए । उनीसँग पहिलो भेटघाटका बेला मैले एउटा कोसेली तयार पारेकी थिएँ । त्यो उनीबारे लेखिएको कविता यस्तो थियो–
कहिलेकाहीँ
छिर्न सकेजस्तो पनि लाग्छ
छिर्न नसकेजस्तो पनि लाग्छ
तिम्रा अक्षरहरूको सम्मेलनभित्र
ती अक्षरहरूको
न कुनै सिलसिला छ
न कुनै परिवेश छ
न सुरु न अन्त छ
झन् मध्यान्तरको त कुरै नगरौँ ।
यिनै शब्द कोसेलीसहित म उनलाई भेट्न जाने तयारीमा जुटँे । भेटकै सुरुमा मैले उपहार टक्रयाएँ । उनले लिखित कमेन्ट गरे ‘ब्युटिफुल ।’ त्यसपछि हाम्रो साहित्यिक भलाकुसारी सुरु भयो । उनको र मेरो विषय एउटै परेकाले कुरा गर्न सजिलो भयो । नेपाली र अंग्रेजी साहित्य विषयमा चर्चा, परिचर्चा भयो । राजकुमार बानियाँले ‘गरिमा’ साहित्यिक पत्रिकामा उनका बारेमा लिएको अन्तर्वार्ता पढ्दा ‘उनी त खोला किनार एक्लै डुल्छन्, अनौठो बानी भएका छन्’ भन्ने लागेको थियो । तर गफगाफ गरेपछि सामान्य लाग्यो । उनीप्रतिका सम्पूर्ण द्विविधा हटे । यी फरक किसिमका ‘फिक्सन डिजाइनर’सँग कुरा गर्न पाउँदा मन अत्यन्त रमायो ।
मैले उनको कथासंग्रहबारे यसरी कमेन्ट गरो, ‘तपार्इंका कथा पढेपछि म त वैचारिक तथा बौद्धिक ज्वरोले ग्रस्त भएा ।’ उनी लामो हाँसो हाँसे र भने ‘सिटामोल खाँदै पढ्नुस् न ।’ जबाफमा म पनि हाँसे । हुन पनि उनको सिर्जनामा अनौठो किसिमको रोमाञ्चकता छ जसले मस्तिष्कदेखि लिएर भित्री आत्मासम्म स्पर्श गर्छ । आफूलाई ‘नेपाली साहित्यको दुर्घटना’ भन्न रुचाउने उनमा गज्जब ‘सेन्स अफ ह्युमर’ छ । उनीसाग साहित्यबारे विचार आदानप्रदान गर्न पाउादा म निकै खुसी भएा । त्यस क्षणलाई मैले एक नयाा साहित्यिक साथी भेटेकामा भरमग्दुर सेलिब्रेट गरो । उनीसँगको मेरो पहिलो भेट यसरी टुंगियो ।
उनी यस्ता लेखक हुन् जसले तथाकथित साहित्यिकवादको लहरलाई भंग गरेर आफ्नै लहरको सूत्रपात गरिदिए । जसलाई कुनै पनि नियम र सिमाना स्वीकार भएन । साहित्यमा स्वच्छन्दता हुनुपर्छ भन्ने धारणाका साथ अक्षरहरूको युद्धमा होमिएका उनी नेपाली साहित्यको नौलो सर्जकका रूपमा कत्तिको जम्ने हुन् त्यो त समयले नै बताउनेछ । साहित्यलाई नवीनतम शृंखला प्रयोग गर्दै गतिशील बनाउनुपर्ने कुरामा उनी सकारात्मक छन् । साहित्यिक धारलाई अन्यत्र मोड्ने क्रममा उनी एकल विनिर्माणवादी हुन् भन्दा अतिशयोक्ति नहोला ।
हाम्रो पहिलो भेटघाटपछि आजसम्म अक्षरका सबल भावनाले निकट सम्बन्ध कायम गरिरहेका छन् । प्राय:जसो साथीसँग दारूमहलमा छिर्न रुचाउने उनी दारूदेखि टाढा रहने कलमजीवीसाग पनि उत्तिकै घनिष्ट छन् । त्यसैले मेरो विचारमा दारू नै घनिष्टताको परिचायक होइन् । यसको विषयमा मैले उनलाई प्रस्टयाएा ‘म सराब त पिउादिन तर मलाई सराबी सिर्जना एकदम मन पर्छ । जसको छन्द तपाईंको लेखनमा पनि पाइन्छ ।’ मेरो सराबयुक्त दर्शन मन परेर सायद उनी मुस्कुराए, केही बोलेनन् ।
उनको सिर्जनामा गज्जबको जादु छ । पढ्न थालेपछि बीचमा छोड्नै मन नलाग्ने । नियममा चल्न रुचाउने परम्परावादी साहित्यकारको निम्ति दह्रो झापड बन्न सक्छ यो । उनको लेखनशैलीले नेपाली साहित्यमा अलग किसिमको धार निम्त्याउन खोजेको छ । उनको यो कदमको निम्ति हामी पाठक नै प्रेरणा शक्ति हाँै । आफ्नो दैनिक जीवनका घटनालाई साहित्यको रंगले रंगाउने यी स्रष्टाका विचारमा ‘यदि राम्ररी मनाउन सकियो भो हरेक दिन उत्सव बन्न सक्छ । अनि केही न केही सिक्न सकिन्छ । अनि तिनै सिकेका अनुभूतिलाई सिर्जनात्मक कार्यमा अनुवाद गर्न सकिन्छ । विषयवस्तु खोज्न टाढा पुगिरहनै पर्दैन । हामीले पहिल्याउन चाहिँ सक्नुपर्छ ।’
उनीसँगको संगतले थाहा हुँदै गयो कि, उनी चुरोट र कफीका सौखिन रहेछन् जसको प्रभाव उनको लेखाइमा पनि प्रतिविम्बित हुन्छ । पछिल्लोपटक भेट हँुदा मैले पनि उनीसँग कफी पिएँ र साहित्यिक विचार आदानप्रदान गरँे । जसले मलाई यो लेख लेख्नको निम्ति प्रेरित गर्‍यो ।

प्रतिक्रिया