सपना पूरा भयो तर…

 

काभ्रे, १३ असोज । शुक्रबार बिहान भक्तपुरको मनोहरा खोला किनारमा भएको सीता एयरको विमान दुर्घटनामा एयर होस्टेज रुजा शाक्यको मृत्यु भएपछि बनेपा शोकमा डुबेको छ । रुजा पढ्ने बनेपाकै बनेपा सिद्धार्थ कलेज तथा उच्च माविले बिहानै श्रद्धाञ्जली सभा आयोजना गरी शोक मनायो ।

कक्षा ११ देखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित रुजाले कलेज र साथीहरूबीच राम्रो छाप छाडेकी थिइन् । ‘सीता एयरको विमान दुर्घटना भन्नेबित्तिकै झसंग भएँ,’ कलेजकी मिल्ने साथी दिना पलाञ्चोकेले भनिन् । २०४३ साल माघ २२ गते बनेपामा जन्मिएकी रुजा परिवारकी कान्छी छोरी हुन् । विगत १० वर्षदेखि दाइ रोमन फ्रान्समा बस्दै आएका छन् । दुई दिदीको विवाह भइसकेको छ । विद्या सागर स्कुल बनेपाबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि भक्तपुरको एभरेस्ट कलेजमा विज्ञान विषय लिएर अध्ययन गरेकी रुजा सफल हुन सकिनन् । सानैदेखि एयर होस्टेज बन्ने सपना बोकेकी रुजाले बानेश्वरमा ६ महिने तालिम लिइन् ।
विज्ञान विषयमा असफल भएपछि २०६४ सालमा व्यवस्थापन विषय लिएर बनेपाकै सिद्धार्थ कलेजमा अध्ययन गरेकी रुजाले २०६६ मा दोस्रो श्रेणीमा +२ उत्तीर्ण गरिन् । नियमित कक्षामा आउने रुजा मेधावी विद्यार्थी भएको प्राचार्य ज्ञानबहादुर केसीले जानकारी दिए । कलेजमा क्याम्पस प्रमुख पुकार कर्णजितसँग सानैदेखिको सपना पूरा भएको बताएकी थिइन् ।

प्रतिक्रिया