भारत विरोधी गतिविधी नियन्त्रण गर्न माग

काठमाडौं, १२ असोज । एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल र भारतबीचको समबन्ध विगार्ने गरेर नेकपा–माओवादीबाट भएका कानून विपरितका कार्यलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एमाओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेकपा–माओवादीका गलत क्रियाकलाप र गतिविधी नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री भट्टराईले मुलुकमा संविधान र कानून विपरितका कार्य गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीका गतिविधी भारतलाई चिडाउने खालका रहेको भन्दै नियन्त्रण गर्न प्रधानमन्त्री भट्टराईलाई आग्रह गरेका थिए । जवाफमा भट्टराईले भने, ‘कानून विपरित भारत विरोध गतिविधी गर्ने अधिकार कसैलाई छैन ।’
यसैबीच, मधेसी मोर्चाले पनि नेकपा–माओवादीका भारत विरोध गतिविधी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । मोर्चाको आज काठमाडौंमा बसेको बैठकले संविधान र कानून विपरित कार्य गर्ने नेकपा–माओवादीका क्रियाकलाप नियन्त्रण गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेता कर्णले जानकारी दिए ।
‘नेकपा–माओवादीका गतिविधीले मधेस र भारतबीचको सम्बन्ध बिग्रने अवस्था भएको छ,’ मधेसी मोर्चाको निर्णय सुनाउँदै कर्णले भने, ‘भारतीय नम्वर प्लेटका सवारी साधन अवरोध गर्ने, भारतीय लगानी, मजदुर माथि भौतिक आक्रमण गर्ने कार्य कानून विपरित छन् ।’
मधेसी मोर्चाले नेकपा–माओवादीलाई भौतिक आक्रमणमा नउत्रन आग्रह गर्दै सरकारलाई कानून र संविधान विपरितका कार्य गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
नेकपा–माओवादीले भारतीय नम्वर प्लेटका सवारी साधन र हिन्दी चलचित्रहरुमा अबरोध गर्न शुरु गरे पछि प्रधानमन्त्री भट्टराई सहित एमाओवादी र मधेसी मोर्चाले त्यस्ता गतिविधी रोक्ने सहमति जनाएका हुन् ।

प्रतिक्रिया