सहकारी अनुगमनका लागि कर्मचारी पठाउन राष्ट्र बैंकमा प्रस्ताव

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकलाई सहकारी अनुगमनमा दुईजना कर्मचारी पठाउन सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको छ । यसअघि दुईजना मात्र सहकारी अनुगमनमा खटिइएका भए पनि मन्त्रालयले पुन: दुईजना थप गर्न आग्रह गरेको हो ।
सरकारले बजेटमार्फत पाँच करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्ने व्यवस्था गरेको थियो  । तर, त्यतिखेर जनशक्ति अभाव भन्दै राष्ट्र बैंकले अनुगमन गर्न दुईजना कर्मचारी दिएको थियो । त्यसपछिका दिनमा सहकारी विभागका टोली र राष्ट्र बैंकको संयुक्त टोलीले अनुगमन गरिरहेको छ ।  टोलीले ०६६ माघदेखि  ठूला सहकारीको सघन अनुगमन सुरु गरिरहेको छ । टोलीले मुलुकभरका सहकारीको अनुगमन गर्न नसक्ने भएकाले थप प्रस्ताव गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्त सुर्दशनप्रसाद ढकालले जानकारी दिए ।
‘हामीसँग दक्ष जनशक्ति नभएर प्रस्ताव गरेका हौँ,’ प्रवक्ता ढकालले भने, ‘दुईजना कर्मचारी अनुगमनमा पठाउनेमा हामी ढुक्क छौँ ।’ सीमित जनशक्ति भएका कारण सहकारी अनुगमन पर्याप्त मात्रामा गर्न नसकिएको उनले बताए । ‘ठूला सहकारी आवश्यक छन्’, ढकालले भने, ‘पछिल्लो समयमा सहकारीमा विकृति बढेको छ ।’ देशमा २५ हजारभन्दा बढी सहकारी संघ/संस्था भए पनि खासै अनुगमन नभएको उनले बताए । ‘सहकारी अनुगमनलाई चुस्त बनाउन लागेका छौँ,’ उनले भने,  ‘राष्ट्र बैंकबाट थप दुईजना र सहकारी विभागको जनशक्तिलाई अनुगमनमा खटाउने सोच छ ।’ सहकारी अनुगमन गरे पनि गल्ती गरेकालाई कारबाही गर्न नियमको अभाव रहेकाले नियम बनाउनेसमेत मन्त्रालयले जनाएको छ ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी  सिद्धान्त, ऐन र मापदण्डभन्दा बाहिर गएर सञ्चालन भएका सहकारीलाई नछाड्ने बताए । सहकारी अनुगमनलाई तीव्रता दिई गल्ती गर्ने सहकारी सजायको भागिदार हुने उनको भनाइ छ । ‘विशेषगरी वित्तीय कारोबार गर्ने सहकारी ऐन, मापदण्डविपरीत रहेका छन्,’ रजिस्ट्रार न्यौपानेले भने,  ‘अनुगमन गर्दा वित्तीय कारोबार गर्ने सहकारी र सहर केन्द्रितलाई फोकस गर्ने छौँ ।’ अघिल्लो आवमा एक सय २६ सहकारीको संघन अनुगमन गरेको विभागले जनाएको छ । अनुगमनक्रममा सहकारी ऐन र मापदण्डविपरीत कारोबार गरेको, जोखिम कोष नराखेको, लगानी गर्दा पर्याप्त धितो नराखेको र प्रक्रिया नपुर्‍याएको, सञ्चालकले संस्थाको बचत र अन्य भौतिक सामग्रीको दुरुपयोग गरेलगायत गल्ती भेटिएको सहकारी विभागले जनाएको छ । सहकारी विभागको तथ्यांकअनुसार मुलुकभर २५ हजार तीन सय ७१ सहकारी दर्ता भएका छन् । तीमध्ये बचत तथा ऋण ११ हजार पाँच सय र बहुउद्देश्यीय चार हजार एक सय छन् । देशभरमा सहकारीले दुई खर्ब ६३ अर्ब कारोबार
गरेका छन् ।

प्रतिक्रिया