हिरासतबाट दलित युवक रहस्यमयरुपमा गायब

नेपालगन्ज, १२ असोज । गाउँकी युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका एक दलित युवक प्रहरी हिरासतबाटै रहस्यमय रूपमा बेपत्ता भएका छन् । प्रहरीले उनी हिरासतबाट भागेर राप्ती नदीमा हाम्फालेको बताएपछि परिवारजनको होसहवास उडेको छ ।
बाँके बिनौना–८ का २० वर्षीय दीपक परियार २१ भदौमा पक्राउ परेका थिए । उनी अहिले जीवित छन् कि मृत भन्ने खुल्नसकेको छैन । परियार परिवारको एक्लो छोरा हुन् । आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई सुरक्षा गर्नुको साटो बेपत्ता पारेको भन्दै परिवारले प्रहरीसँग उनको अवस्था सार्वजनिक गर्न माग गरेको छ ।
रातको समयमा युवतीको कोठामा छिरेर जबर्जस्ती गर्न खोजेको भन्दै गाउँलेले परियारलाई कुटपिट गर्दै २१ भदौमा नियन्त्रणमा लिएका थिए । सोही रात उनलाई गाउँलेले इलाका प्रहरी कार्यालय बैजापुरको जिम्मा लगाएका थिए । भोलिपल्ट २२ गते प्रहरीले पीडित युवतीलाई दुई दिनभित्र २५ हजार रुपियाँ दिए।

परियारलाई छाड्ने सहमति गराएको थियो । पैसा बुझाएमा छाड्ने सहमति भएपछि सोही दिन प्रहरीले युवककी आमा पातली परियारसँग छोरा बुझेको कागजात बनाइसकेको छ । अघिल्लो दिनको सहमति अनुसार उनले छोरालाई छुटाउन ऋण गरेर २५ हजार रुपियाँ जुटाएकी थिइन् ।
सोही विषयमा २३ गते बिहान प्रहरी चौकीमा गाउँलेको भेला भएको थियो । तर, प्रहरीले ‘तपाईंको छोरा मकैबारीमा पसेर भाग्यो’ भन्दै गाउँका भलाद्मी बसाई दीपक घरमा फर्केपछि मात्र विवाद समाधान गर्ने अर्को कागज बनाएको बेपत्ता युवककी आमा पातलीले जानकारी दिइन् ।
‘सुरुमा छोरा भागेको कुरा पत्याएका थिएनौँ तैपनि प्रहरीले भनेपछि मान्यौँ र कागज पनि बनाइयो,’ पातलीले भनिन्, ‘अहिले दुई सातापछि त प्रहरीले ‘दिसा गर्ने निहुँमा तपाईंको छोरा हामीलाई छलेर भाग्दै राप्ती नदीमा हामफाल्यो’ भन्छन् ।’
प्रहरी जवान रामबहादुर घर्ती डयुटीमा रहेको समय परियार भागेको प्रहरी स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘घर्तीले पछिपछि दौडेर उनलाई पक्रन प्रयास गरेका थिए । लखेट्ने क्रममा दुवैजना राप्ती नदीमा हामफाले ।’ प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै स्थानीय रामबहादुर रावतले भने, ‘केही स्थानीयले प्रहरीलाई उद्धार गरेर बाहिर ल्याए तर परियार भने नदीमै बेपत्ता भए ।’
यता बेपत्ता युवककी आमा पातलीले आफ्नो छोरालाई नियोजित तरिकाले नदीमा बगाइएको बताएकी छन् । ‘पक्राउ गरेकै रात गाउँले र प्रहरी मिलेर मेरो छोरालाई मरणासन्न हुने गरी कुटे । त्यस्तो अवस्थाको छोरा कसरी भाग्न सक्छ रु’ उनले भनिन्, ‘जनताको जिउधनको रक्षा गर्छु भन्ने प्रहरी र केही गाउँले मिलेर मेरो छोरालाई बेपत्ता बनाए ।’
सुरुमा मकैबारी हुँदै भागेको र उनी आएपछि सहमति गर्ने भनेर कागज बनाएको प्रहरीले दीपक नदीमा हामफालेर बेपत्ता भएको कुरा ५ असोजमा मात्र जानकारी गराएको थियो । आफ्नो पति बेपत्ता भएको घटना प्रहरीले रहस्यमय तरिकाले धेरै दिन लुकाएको र उनको खोजीका लागि कुनै प्रयास नगरेको पत्नी सुमिनाले आरोप लगाइन् । ‘मेरो पति बेपत्ता भएकै भए पनि किन प्रहरीले दुई सातापछि मात्रै भन्यो रु’ उनले आक्रोश व्यक्त गरिन्, ‘गाउँमा कसैले तेरो पतिले आफैँ नदीमा हामफाल्यो भन्छन्, कसैले मारेर नदीमा फाले भन्छन् । सत्य के हो प्रहरीले लुकाइरहेको छ ।’
परियार बेपत्ता भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले छानबिन र अनुसन्धान गरिरहेको छ । बाँकेका एसपी विक्रमसिंह थापाले जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका युवक नदीमा हामफालेर बेपत्ता भएको आफूलाई जानकारी आएको बताए ।
‘यो विषयमा छुट्टै छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छु । प्रहरी होस् या अन्य व्यक्ति दोषी पाइए कारबाही हुन्छ,’ एसपी थापाले भने । प्रहरीले घटना हुँदा इलाका प्रहरी कार्यालय बैजापुरका इन्चार्ज रहेका चूडामणि थापा र डयुटीमा रहेका प्रहरी जवान रामबहादुर घर्तीलाई छानबिनका लागि जिप्रका बाँकेमा तानेको छ ।
यता बाँकेका दलित अधिकारकर्मी संघसंस्थाले प्रहरी नियन्त्रणमै रहेका बेला बेपत्ता भएका युवकबारे वास्तविकता पत्ता लगाउन माग गरेका छन् । प्रहरी नियन्त्रणमा रहेको व्यक्तिको सुरक्षा गर्नु प्रहरीको जिम्मेवारी भएको बताउँदै उनीहरूले घटनामा संग्लन प्रहरीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया