भारतीय गाडी तोडफोड

हेटौंडा : नेकपा–माओवादीले भारतीय नम्बरप्लेटमा नेपाल प्रवेश गरेका सवारीलाई फर्काइदिएका छन् । फर्कन नमान्ने एउटा सवारीसाधनमाथि तोडफोड भएको छ ।
माओवादीका कार्यकर्ताले बिहीबार साँझ बिआर ०६ पिए ५७४४ नम्बरको गाडी मनहरीको खरंगामा तोडफोड गरेका हुन् ।
माओवादी कार्यकर्ताले वीरगन्ज भन्सार हुँदै नेपालको विभिन्न भागमा ग्यास, अन्य लोड बोकेर आएका र नेपाल भ्रमणका लागि आएका पर्यटकसहितको भारतीय नम्बरप्लेटका गाडी फर्काइदिएका हुन् ।
पार्टीले उपभोग्य सामान बोकेर आउने टयाङ्कर तथा अन्य लोड बोकेका गाडीलाई नेपाली अस्थायी नम्बरप्लेट लिएर आउन भने पनि अस्थायी नम्बरप्लेट नभएका गाडीलाई रोकेको छ । अस्थायी नम्बरप्लेट नल्याएसम्म गाडी नछोडिने माओवादीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको हेटौंडा–९ पशुपतिनगरमा बसेका कार्यकर्ताले अस्थायी नम्बरप्लेटसहित आएका पर्यटक बोकेको गाडीलाई फर्काएका छन् । नेपाली नम्बरप्लेटको गाडीमा आउन आग्रह गर्दै फर्काइएको माओवादी मकवानपुरका सेक्रेटरी इन्द्रबहादुर परियारले जानकारी दिए । उनीहरूले बुधबार करिब ५० सवारीलाई फर्काएका थिए ।
यस्तै, जिल्लामा सञ्चालित केवल टेलिभिजनलाई भारतीय भाषाका च्यानल बन्द गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया