मध्यपश्चिम तस्करको ‘ट्रान्जिट’

सुर्खेत, १२ असोज । आर्थिक वर्ष ०६८/६९ मा मध्यपश्चिमबाट लागुपदार्थ कारोबारमा संलग्न एक सय पक्राउ परेका छन् । गत आर्थिक वर्षको भन्दा यो वर्ष दोब्बर संख्या हो यो । यस आर्थिक वर्षमा पक्राउ परेकाबाट दुई सय ७६ ग्राम ब्राउनसुगर, ५ किलो अफिम र १ किलो ६ सय ग्राम चरेस प्रहरीले बरामद गरेको  छ ।
तथ्यांक हेर्ने हो भने मध्यपश्चिम पछिल्लो समय लागुपदार्थ तस्करको ट्रान्जिट प्वाइन्टका रूपमा स्थापन हुँदै गएको छ । गत वर्ष बर्दियामा १३, सुर्खेतमा १२, दाङमा आठ, रोल्पामा पाँच, सल्यानमा चार, रुकुममा तीन र प्युठानमा एक लागुऔषधका कारोबारी पक्राउ परेका थिए । मध्यपश्चिमबाट पक्राउ परेकामध्ये ११ महिला छन् । बढीजसो १६ देखि ४० वर्षसम्मका युवा कारोबारीमा संलग्न छन् ।
लागुपदार्थको ओसारपसारका लागि तस्करले मध्यपश्चिमलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाइरहेका छन् । एक वर्षमा एक सय कारोबारी लागुपदार्थसहित पक्राउ पर्नुले पनि स्थिति भयावह बन्दै गएको प्रष्ट हुन्छ । राजनीतिक अस्तव्यस्तता र कानुनी व्यवस्था फितलो बन्दै गएका बेला मध्यपश्चिममा अपत्यारिलो ढंगले मौलाएको लागुपदार्थको कारोबारले खतरा बढेको छ ।
अभाव, गरिबी, बेरोजगारी र निराशाले छटपटाइरहेकाहरू धेरै धन कमाउने लहडमा पहाडी जिल्लामा अफिमको खेतीमा लागेका छन् भने युवा पुस्ता लागुपदार्थको सेवन तथा कारोबारमा संलग्न हुन थालेका छन् ।
गिरोह नै सक्रिय
मध्यपश्चिममा लागुऔषध कारोबारमा ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । कर्णालीको जुम्लादेखि युरोपसम्म लागुऔषध कारोबार गर्ने तस्करको गिरोह नै सक्रिय रहेको प्रहरीले बताउँदै आएको छ । लागुपदार्थसहित पक्राउ परेकाको अनुसन्धानबाट लागुपदार्थको कारोबारमा ठूलै गिरोह सक्रिय रहेको खुलेको मध्यपश्चिमाञ्चलका प्रमुख डिआइजी पार्वती थापा बताउँछिन् । भेरी तथा कर्णालीका विभिन्न जिल्लामा उत्पादित लागुपदार्थ भारत हुँदै युरोपका विभिन्न मुलुकसम्म निर्यात हुने गरेको छ ।
प्रहरीका अनुसार जाजरकोट, कालिकोट, दैलेख, जुम्ला, हुम्लालगायतका जिल्लामा उत्पादित अफिम सुर्खेत, बाँके हुँदै भारतसम्म पुर्‍याउन नेपाली तस्कर नै सक्रिय छन् । भारतबाट विदेशीले नै यसको कारोबार गर्दै आएका छन् । नेपाली तस्करले रुपैडिहासम्म पुर्‍याउँछन् । रुपैडिहाबाट विदेशी तस्करले युरोपसम्म पुर्‍याएर करोडौँ मूल्यमा यसको व्यापार गरिरहेका छन् ।
अफिमको कारोबारमा ठूलै गिरोह संलग्न भएको भन्दै बिक्रीवितरणका मुख्य व्यक्तिलाई पक्राउ गरिएको र अब तत्कालै मुख्य गिरोहलाई नै पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी गोविन्दराम परिवारले बताए । तस्करहरूले महिलालाई प्रयोग गर्ने क्रम पनि बढेको छ । कमजोर आर्थिक अवस्था भएका महिलालाई पैसाको प्रलोभन देखाएर लागुपदार्थको ओसारपसारमा प्रयोग गर्ने गरिएको उनी बताउँछन् ।
भेरी र कर्णालीका पहाडी जिल्लामा प्रशस्त मात्रामा अफिमको खेती हुने गरेको छ । गिरोहले नै यहाँका कृषकलाई यसको कारोबारका लागि उक्साइरहेका छन् भने ग्रामीण क्षेत्रसम्म प्रहरीको निगरानी कम हुने भएकाले स्थानीय पनि यसको उत्पादनमा सक्रिय भएका छन् । अन्य बालीभन्दा अफिमबाट बढी नाफा लिन सकिने भएपछि यहाँका कृषकले ठूलो मात्रामा अफिम खेती गरिरहेको पाइएको छ । भेरीको जाजरकोट, दैलेख र सुर्खेत तथा कर्णालीका प्राय: सबै जिल्लामा यसको उत्पादन हुने गरेको छ ।
यसरी भित्रिन्छ लागुपदार्थ
मध्यपश्चिममा भारतबाट अवैध लागुपदार्थ बढी भित्रिने गरेको छ । भारत र बाँकेको सिमाना रुपैडिहाबाट नेपालगन्ज हुँदै सुर्खेतमा लागुपदार्थ भित्रिने गरेको हो । प्रहरी स्रोतका अनुसार यस क्षेत्रमा भित्रिने अधिकांश लागुपदार्थ भारतको रुपैडिहा नाकाबाट नेपालगन्ज हुँदै आउने गरेको छ । खुला सिमाना र सिमानामा चेकजाँचमा कमजोरी हुँदा रुपैडिहाबाट सजिलै नेपालगन्जमा यस्तो पदार्थ भित्रिने गरेको छ । भारतका लागुपदार्थ कारोबारीले रुपैडिहासम्म ल्याउने र सुर्खेतबाट रुपैडिहा पुगेर यहाँ भित्र्याउने गरेका छन् ।
‘भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुपदार्थको कारोबार गर्ने गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी आनन्द मराठाले भने, ‘सिमानामा चेकजाँचमा कडाइ गर्न सकियो भने कारोबारमा पनि कमी आउँछ ।’ मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको सुर्खेतमा मात्रै हाल २ देखि ३ सयसम्मको संख्यामा लागुपदार्थ प्रयोगकर्ताहरू रहेको र मध्यपश्चिममा ३ हजारभन्दा बढी रहेको प्रहरी अनुमान छ ।
बढ्दो लागुऔषधको प्रभावलाई रोक्न कहीँ कतैबाट त्यति चासो नदेखाइए पनि पहिलो दुव्र्यसनमा लागेका केहीले पनि पुन:स्थापन केन्द्र स्थापना गरी काम गरिरहेका छन् ।
२१ साउनमा पाँच केजी तीन सय ग्राम अफिमसहित सुर्खेतको छिन्चुबाट प्रहरीले दुई महिलालाई पक्राउ गर्‍यो । रामघाटबाट कोहलपुरतर्फ लैजाँदै गर्दा छिन्चु–६ बाट कोहलपुर–२ की ३५ वर्षीया दिलमाया थापा र सोही ठाउँकी २९ वर्षीया सुस्मिता पुनलाई पनि प्रहरीले प्रक्राउ गरेको हो ।
कम्मरमा पटुकाले बाँधेको अवस्थामा पुनबाट दुई केजी आठ सय ग्राम र थापाबाट दुई केजी पाँच सय ग्राम अफिम बरामद गरिएको हो । प्रहरीका अनुसार यति ठूलो परिमाणमा अफिम पक्राउ परेको सुर्खेत जिल्लामै पहिलोपटक हो । ‘तीन महिनाको अनुसन्धानपछि यति ठूलो मात्रामा अफिम पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी गोविन्दराम परियारले भने ।
पक्राउ परेका महिलाको बयानका आधारमा प्रहरीले २६ साउनमा अफिम बिक्रीवितरणमा संलग्न रामघाट–९ घर भई रामघाटकै वडा नम्बर ४ मा बस्ने देवीप्रसाद शर्मालाई पक्राउ गर्‍यो । प्रहरी अनुसन्धानबाट शर्माले नै दुई महिलालाई रामघाटबाट कोहलपुरसम्म पुर्‍याइदिएबापत पाँच हजार रुपियाँ दिने गरी अफिम बोकाएको पत्ता लाग्यो । शर्माको बयानअनुसार अफिमको कारोबारका मुख्य व्यक्ति पनि पक्राउ परे ।
रजेना–३ का अन्दाजी ३० वर्षीय टोपबहादुर ओलीले नै भेरी तथा कर्णालीका विभिन्न जिल्लामा उत्पादित अफिम सुर्खेतसम्म ल्याई यहाँबाट भरिया प्रयोग गरी कोहलपुरसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ । ‘भेरी र कर्णालीका विभिन्न जिल्लामा उत्पादित अफिम बिक्रीवितरणमा ओलीकै प्रमुख भूमिका रहेछ,’ एसपी परियारले भने । जाजरकोट तथा कर्णालीका विभिन्न जिल्लामा उत्पादित अफिम ओलीले नै सुर्खेतको रामघाटसम्म पुर्‍याइदिने गरेको खुलेको छ । उनीहरूले कमजोर आर्थिक अवस्था भएका महिलालाई प्रयोग गरी रामघाटबाट कोहलपुरसम्म पुर्‍याई भारत हुँदै युरोपसम्म पुर्‍याउने गरेको प्रहरीसँगको बयानमा बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा अफिमको मूल्य प्रतिकेजी १ करोड रुपियाँ छ ।

आर्थिक वर्ष २०६८/०६९ मा विभिन्न लागुपदार्थसहित
सुर्खेत प्रहरीले पक्राउ गरेका व्यक्तिहरू :

नाम    ठेगाना    परिमाण
(१) भीमबहादुर ऐडी    वीरेन्द्रनगर–११    २ सय २० मिलिग्राम ब्राउन सुगर
(२) आशीष गुरुङ    लाटीकोइली–९    ०.३१ ग्राम ब्राउन सुगर
(३) नवीन विक    वीरेन्द्रनगर–१०    ०.१८ ग्राम ब्राउन सुगर
(४) काशीराम सुनार    गुमी–४    ३ केजी चरेस
(५) कृष्णबहादुर शाही    वीरेन्द्रनगर–१०    १०० ग्राम चरेस
(६) हेमन्त नेपाली    वीरेन्द्रनगर–६    ०.२६ मिलिग्राम ब्राउन सुगर
(७)सुमन बटला    वीरेन्द्रनगर–११    ०.४४ मिलिग्राम ब्राउन सुगर
(८) मोहन शाही    लाटीकोइली–९    १.९५ ग्राम ब्राउन सुगर
(९)इस्राइल अन्सारी    लाटीकोइली–९    १.८ ग्राम ब्राउन सुगर
(१०) याकुव अन्सारी    लाटीकोइली–९    ०.१० मिलिग्राम ब्राउन सुगर
(११)दिलमाया थापा    कोहलपुर–२    २.५ केजी अफिम
(१२)सुस्मिता पुन    कोहलपुर–२    २.८ केजी अफिम

प्रतिक्रिया