राजमार्ग सुचारु गर्ने सहमति

कालिकोट, १२  असोज । कालिकोटको बिर्तामोड दुर्घटनाका मृतकलाई कर्णाली यातायात व्यवसायी संघले क्षतिपूर्ति दिने सहमति भएपछि यातायात सञ्चालन हुने भएको छ ।
सिडिओ कार्यालय कालिकोटमा बसेको सर्वपक्षीय बैठकले दुर्घटनामा परेर मृत्यु भएका २८, बेपत्ता एकलाई जनही २५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै दुर्घटनामा परी घाइते भएका १३ लाई उपचार गर्ने सहमतिसमेत भएको बैठकमा सहभागी नेकपा–माओवादीका एटम बिसीले जानकारी दिए ।
बैठकमा विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्णाली बस यातायात व्यवसायी समिति, मध्यपश्चिम बस व्यवसायी समिति, मृतक परिवारका आफन्तका साथै घाइतेका आफन्तको सहभागिता थियो । लामो समय कर्णाली बस व्यवसायी समिति र मध्यपश्चिम बस व्यवसायीबीचको विवाद समाप्त भएपछि मध्यपश्चिम यातायातको सुर्खेतदेखि दैलेखको दैखोलासम्म मात्र सञ्चालन हुँदै आएको बस अब जुम्लासम्म निर्बाधरूपमा सञ्चालन हुने भएको छ ।
बैठकमा सुर्खेतको सुब्बाकुनादेखि कर्णालीको जुम्ला बजारसम्म निर्बाधरूपमा बस चल्न दिने सहमति भएको र सुर्खेत जुम्लासम्म रात्रिसेवा बन्द गरिएको कालिकोटका सिडिओ जगतबहादुर बस्नेतले बताए । सिडिओ बस्नेतका अनुसार घाइतेको उपचार सन्तोषजनक तरिकाले भइरहेको छ । यसअघि जिविस र विभिन्न निकायबाट उपलब्ध भएको पाँच लाख रुपियाँ राहतमध्ये मृतकका परिवारलाई १० हजार रुपियाँ र घाइतेको उपचारबापत २५ हजार रुपियाँका दरले उपलब्ध गराइएको थियो ।
२५ भदौमा दाहा गाविसको बिर्तामोडमा बस दुर्घटना हुंदा २८ को घटनास्थलमै मृत्यु भएको थियो भने १३ यात्रु घाइते भएका थिए । घाइतेमध्ये केहीको नेपालगन्ज र भारतको लखनउमा उपचार भइरहेको छ ।

प्रतिक्रिया