गाडी चोरी गिरोहका श्रेष्ठ पक्राउ

काठमाडौं, ११ असोज । भारतबाट चोरीका गाडी नेपाल ल्याएर ठगीलगायत विभिन्न अपराधमा सजाय पाएका सुजन श्रेष्ठलाई प्रहरीले आज राजधानीमा पक्राउ गरेको छ ।
सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक बर्ष कैद सजाय पाएका ३९ वर्षीय श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको हो । अदालतको सजाय पाए लगत्तै फरार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धन व्युरोले पक्राउ गरेको जनाएको छ ।
उनलाई ललितपुर जिल्ला अदालतले २०६१ बैशाख–४ गते १ बर्ष कैद ठहर गरेको थियो ।
सुनसरी जिल्ला धरान नगरपालिका–८, बरगद्दी स्थायी घर भएका श्रेष्ठ कीर्तिपुर नगरपालिका–१, ट्याङ्लाफाँट बस्दै आएका थिए । उनी कुपण्डोलमा रहेको हिमालयन म्यानपावर सर्भिसका सञ्चालक पनि हुन् ।
श्रेष्ठलाई प्रहरीले आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
श्रेष्ठले भारतबाट चोरीका गाडीहरु भन्सार छली नेपाल ल्याउने, नक्कली प्रज्ञापनपत्र तयार गरी नक्कली कागजातहरूको आधारमा सम्बन्धित यातायात व्यबस्था कार्यालयबाट नक्कली दर्ता एवं नामसारी गराउने लगायतका अपराध गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया