कार्यदल गठनमा नेकपा–माओवादीको आपत्ति

काठमाडौं, ११ असोज । सरकार विरुद्धको आन्दोलन चर्काउने बताएका विपक्षी दलहरुमा आन्तरिक विवाद भएपछि बैठक ठोस निर्णय विनानै सक्किएको छ ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको कांग्रेस, एमाले, नेकपा–माओवादीलगायतका दर्जन बढि दलहरुको बैठकमा आन्दोलनको स्वरुप, कार्यदल र अन्य विविध विषयमा सहमति हुन नसकेको हो । नेकपा–माओवादीले कार्यदल गठनलाई लिएर विवाद उत्पन्न गरे पछि दलहरुका बीच संघर्षका कार्यक्रममा सहमति हुन सकेन ।
विपक्षी दलहरुले सरकार विरुद्धको शान्तिपूर्ण आन्दोलन र कार्यदल आज सार्वजनिक गर्ने जनाएका थिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले छिट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले आन्तरिक छलफल गरेर शान्ति पूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।
एमाले नेता रघुजी पन्तले पनि उपेन्द्र यादव र शरत्सिंह भण्डारीको दल अनुपस्थित रहेकाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न नसकिएको दावी गरे । यादव र भण्डारीका दलहरु आन्तरिक छलफलमा रहेकाले संघर्षका कार्यक्रम आजै सार्वजनिक गर्न नसकिएको नेता पन्तको भनाई थियो ।
बैठकको बिचमै बाहिरिएका नेकपा–माओवादीका सचिव देव गुरुङले कार्यदल बनाउने र त्यसमा रहने भन्ने विषयमा थप छलफल गर्नुपर्ने आवस्यक्ता रहेको बताए । उनले भने, ‘केही विषयमा मतभेद भए पनि आन्दोलनमा पूर्ण समर्थन रहन्छ ।’
कांगे्रस उपसभापति रामचन्द्र पौडेलले कार्यदलमा रहने वा नरहने विषयमा नेकपा–माओवादीले विमति राखेको बताए । उनले भने, ‘सरकार हटाउने एकसूत्रीय एजेन्डामा भने नेकपा–माओवादीले सहमति जनाएको छ ।’
दलहरुले असोज–१५ गते सम्म संघर्षका कार्यक्रम सार्वजनिक गर्ने दावी गरे पनि आन्दोलनलाई लिएर अनिश्चितता बढेको केही साना दलहरुको भनाई छ ।

प्रतिक्रिया