महिलालाई बोक्सीको आरोपमा कुटपिट

वीरगन्ज, ११ असोज । बारा जिल्लाको लिपनीमालमा बोक्सीको आरोपमा एक विधुवा महिला माथि स्थानीय गाउँलेले दुव्र्यवहार गर्नुका साथै कुटपिट गरेका छन् ।
लिपनीमाल–१ निवासी ४८ वर्षीया विधुवा महिला रसुलबानो खातुनलाई स्थानीय व्यक्तिले बोक्सीको आरोपमा कुटपिट गरेको पीडितका आफन्तले जनाएका छन् । उनलाई स्थानीय आठ/दश जनाको समूहले बुधबार राति घरमै पुगेर बोक्सीको आरोपमा कुटपिट गरेका थिए ।
रसुलबानोलाई गाँउकै दोहाकीम मियाँ, अब्दूल गनी, मन्सुक हवारीलगायतको समूहले कुटपिट गरेर घाइते बनाएको हो ।
दोहाकिम मियाँकी १४ वर्षीया छोरी भूइली खातुनलाई बोक्सीको तन्त्रमन्त्र गरी बिरामी बनाएको भन्दै कुटपिट गरेको पीडितले बताएकी छन् ।
घटनाका बारेमा पीडितले राति नै ईलाका प्रहरी कार्यालय जितपुरमा जानकारी दिएका थिए । समयमा घटनाका बारेमा थाहापाएको प्रहरी टोली दुई घण्टा ढिला पुगेको थियो ।
प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो सामान्य सोधपुछ गरेर फिर्ता भएको पीडित महिला र आफन्तको गुनासो छ ।
आफू माथि भएको दुव्यर्वहार र कुटपिट बारे रसुलबानोले प्रहरी कार्यालयमा जाहेरी दिने बताएकी छन् । (गुगल तस्विर)

प्रतिक्रिया