पुन: घट्न थाल्यो बैंक निक्षेप

काठमाडौं, ११ असोज । दुई वर्षअघि दसँैको मुखबाट बैंकिङ क्षेत्रमा तरलता अभाव सुरु भएजस्तै यस वर्ष पनि दसँैकै मुखबाट तरलता अभाव हुने संकेत देखापरेको छ । रेमिट्यान्स वृद्धिका कारण शोधनान्तर बचत हालसम्मकै उच्च रहे पनि नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै घट्ने क्रम सुरु भएको छ ।
सरकारी बजेट आउन नसकेका कारण बैंकको निक्षेप बढ्न सकेको छैन । बैंकहरूले यसबीचमा १५ अर्ब ऋण लगानी गरिसकेका छन् । यसले दुई वर्षअघिबाट सुरु भएजस्तै तरलता अभाव हुने संकेत गर्छ  । असार मसान्तमा आठ सय ६२ अर्ब रुपियाँ रहेको निक्षेप पाँच साताअघि बढेर आठ सय ६८ अर्बसम्म पुगेको थियो । तर, त्यसपछि निरन्तर घट्न थालेको निक्षेप सोमबार साँझसम्म आठ सय ६२ अर्बमा झरेको छ । कर्जा भने असार मसान्तपछि केही साता घटे पनि त्यसपछि निरन्तर बढिरहेको छ । बैंकले ब्याज घटाउन प्रतिस्पर्धा गर्न थालेपछि कर्जा ६ सय १८ अर्बबाट बढेर ६ सय ३३ अर्ब पुगेको छ ।
१० महिनायता तरलतामा सुधार भएर बैंकहरू लिने र दिने ब्याज घटाउन थालेका छन् । यसैको असरले ऋणको ब्याज घटेको हो । निक्षेपमा पनि ब्याज घटेकाले ग्राहकले पैसा झिकेको अनुमान बैंकरहरूको छ । अर्कोतर्फ तिब्बतको सुन काठमाडौं हुँदै भारत तस्करी हुन थालेपछि त्यसको दबाब पनि निक्षेपमा परेको छ । बैंक निक्षेपको प्रमुख स्रोत सरकारी खर्च र रेमिट्यान्स हो । बजेट नआएको र रेमिट्यान्स वृद्धि दर कम भएकाले शोधनान्तर बचत घट्न थालेपछि निक्षेप घट्न थालेको हो । भदौ मसान्तसम्म सरकार २५ अर्ब रुपियाँ बचतमा छ । गत वर्ष शोधनान्तर बचत १२७ अर्ब ७० करोड रुपियाँ थियो । नयाँ आथिर्क वर्ष लागेपछि भने बचत घट्न थालेको हो । राष्ट्र बैंकले साउनको तथ्यांक सार्वजनिक गरिसकेको छैन । राष्ट्र बैंकका अधिकारी भने बजेट आउन नसकेकाले निक्षेप बढ्न नसकेको स्वीकार्दै पूर्ण बजेट आउन नसके हिउँदमा तरलता अभाव हुने बताउँछन् ।
दुई वर्षअघि दसैँमा नोट नपाइएपछि तरलता अभाव सुरु भएको थियो । यस वर्ष भने केन्द्रीय बैंकले नयाँ नोट बाँड्ने कार्यको आरम्भ गरिसकेको छ । अहिले बजेट आएको छैन र घरजग्गा कारोबार उस्तै छ । यसले तरलता अभावलाई बल पुगेको छ । गत आवको अन्त्यसम्म तरलता अत्यधिक रहेका कारण बैंकले भर्खरै मात्र तरलता बढी भएपछि ब्याज घटाउन थालेका थिए । बैंकले १७ प्रतिशतसम्म पुगेको ब्याजलाई १२ प्रतिशतको हाराहारीमा झारिसकेका छन् ।

प्रतिक्रिया