रक्सौलमा भर्खरै नयाँ चलचित्र मन्दिर खुलेको थियो । हाम्रो कुमारी टोलका एक हुल मानिस फिल्म हेर्न रक्सौल हिँडे । ६ वर्षको केटो म पनि पछि लागेँ । छ आना तिरेर टिकट किन्न पाइन्थ्यो । म फुच्चेसँग पैसा कहाँबाट होस् † तर, त्यो समूहमा उमेरले कान्छो मै रहेछु, पालेले छिराइदियो । हलको सबैभन्दा अगाडि ‘स्पेसल’ मा ठाउँ पाएँ । ‘श्रीकृष्ण लीला’ फिल्म मलाई निकै मन पर्यो । त्यसमा देखाइएको चमत्कारले मेरो बालक मनमा फिल्मप्रति चाख बढाइदियो ।
गएको वर्ष नेपाली ‘लुट’ फिल्म हेर्दा पनि स्पेसलमै बसेको थिएँ । मलाई फिल्म हेर्न पाएपछि विशेष ठाउँको आवश्यकतै पर्दैन । न त साथी नै चाहिन्छ । ‘लुट’ हेर्न म र एक साथी जय नेपाल हल गएका थियौँ । हल त फुल भइसकेछ । सिट स्पेसलको मात्रै पाइयो । बाल्कोनी पूरै प्याक । ‘भिआइपी’ स्थान मिलेन भन्दैमा फिल्म छुटाउन मन लागेन । ‘हामीलाई चिन्ने कोही हुन्नन् अघिल्तिर’, मैले भनेँ, ‘चिने पनि के भो त ?’ मेरो प्रस्तावमा साथी मणिरामले पनि सहमति जनाए । उनी भर्खरै विदेशबाट आएका थिए । छ वर्षको उमेरदेखि साथमा पैसा नहुँदा अगाडिको सिटमा बसेर फिल्म हेरेको स्वाद बुढ्यौलीमा पनि लिइयो ।
०००
फुर्सदमा त मेरो साथी नै फिल्म हो । म फिल्म राम्रो/नराम्रो छुट्याएर हेर्दिनँ । फुर्सदको शून्य समय फिल्म हेरेर बिताउन निकै आनन्द लाग्छ । मैले पिएचडी गर्ने बेलामा पनि फिल्म हेर्ने समयको निकै उपयोग गरेँ । भाषाविज्ञानमा पिएचडी गर्न मुम्बई गएको थिएँ । तीन महिनासम्म पढाइ सुरु भएन । विश्वविद्यालयबाट छात्रवृत्ति पाइन्थ्यो । म होस्टलमा बस्थेँ । पढाइ नभएपछि दिनभर फुर्सद । बिहान भात खाएपछि निस्कन्थेँ । एक्लै लखरलखर फिल्म हल पुग्थेँ । मध्याह्न १२ देखि ३ बजे एउटा सो हेर्थें । त्यसपछि ३–६ अनि ६ बजेदेखि राति ९ बजेसम्म अर्को सो हेर्थें । मैले तीन महिनासम्म हरेक दिन फिल्म हेरेँ । अहिले सम्झँदा रमाइलो पनि लाग्छ । समय बर्बाद भयो भन्ने पछुतो छैन किनकि मैले फुर्सदको उपयोग गरेको थिएँ । कुनै फिल्मको गीतसंगीत मन पर्छ, कुनैको कथावस्तु । कुनैमा चाहिँ आफ्ना मन परेका अभिनेता/अभिनेत्रीको अभिनयले तानिन्छु । पिएचडी गर्न भारत बस्दाकै समयमा पुना इन्स्टिच्युटमा मैले थुपै्र विश्वप्रसिद्ध फिल्म हेर्ने मौका पाएँ । त्यसबाट मलाई फिल्मको विश्लेषण गर्नसक्ने खुबी अझ विस्तार भएको महसुस हुन्छ । कक्षा सुरु भएपछि पनि हप्तामा एक दिन आइतबार भने नियमितजसो फिल्म हेरेकै हुन्थेँ ।
पिएचडी पढ्ने बेला छुट्टिमा घर आएर फर्किँदा रक्सौलबाट बिहानै पटना पुगिन्थ्यो । पटनाबाट पुनाका लागि राति ८ बजे मात्र रेल छुट्थ्यो । दिनभरि फुर्सद । त्यो बेला पनि म फिल्ममै बिताउँथेँ । पहिलो र दोस्रो शो त मज्जाले भ्याइन्थ्यो । तेस्रो सो पूरै हेर्न भ्याइँदैनथ्यो । बेलुकी साढे आठमा रेल चढ्नुअघि तेस्रो सोको आधाउँधी मात्र भ्याइन्थ्यो । बाँकी भाग पछि फेरि हेर्ने सोचका साथ पटनामा साढे दुईवटा फिल्म हेरेर पुनाको रेल समाउँथे ।
०००
मेरो प्राथमिकता पहिलो लेख्नु अनि दोस्रो पढ्नु हो । तेस्रोचाहिँ फिल्म हेर्नु हो । म नराम्रो भनिएका फिल्म पनि हेरेर पूर्ण मनोरञ्जन लिन सक्छु । मलाई कुनै पनि फिल्म ‘छि… कति नराम्रो’ भन्ने नै लागेन । कुनैको गीत, कुनैको अभिनय, कुनैको संगीत, कुनैको कथावस्तु । फिल्म हेर्न हलमा पसेपछि यीमध्ये कुनै न कुनै पक्षले तानेकै हुन्छ ।
त्यसैले होला, बाल्यकालदेखि बुढ्यौली लाग्दासम्म फिल्ममोह रत्ति घटेको छैन । बाल्यकालमा वीरगन्ज घरबाट रक्सौल पुगेर फिल्म हेरियो । विरगन्जमा चलचित्र मन्दिर खुलेपछि त्यसमा लागेका हरेकजसो फिल्म छुटाइनँ भने पनि हुन्छ । गोजीमा पैसा नहुने बेला गेटपालेको मन जितेर छिरिन्थ्यो । त्यो पनि भएन वा समय पुग्ने भएन भने फिल्म हलको पछाडि बसेर मन परेको गीत मात्रै सुनेर पनि फर्कन्थेँ । त्यति बेलाका ‘मुरलीवाला’, ‘जयमहालक्ष्मी’, ‘निसाना’ लगायत फिल्मको झल्को अझै ताजै छ । मैले पहिलोपटक हेरेको फिल्मचाहिँ ‘लाल हवेली’ हो । तीन–चार वर्षको उमेर भएकाले होला, त्यसको धुमिल विम्ब मात्रै सम्झन्छु । दीलिप कुमार र मीना मेरा मनपर्ने हिन्दी नायक–नायिका थिए, उति बेला । उनीहरूको अभिनयमा रहेको सूक्ष्मताले मलाई लोभ्याउँथ्यो । कथा बुझ्नसक्ने भएपछि सामाजिक विषयवस्तुमा बनाइएका फिल्ममा मन बस्न थाल्यो । तर, पनि रोजीछाडी फिल्म हेर्ने स्वभाव भएन । किशोर भएपछि हेरेकामध्ये हिन्दी फिल्म ‘प्यासा’ ले मलाई निकै छोएको छ । एउटा लेखकको जीवनकहानी बोकेको ‘प्यासा’ मा गुरुदत्तको मुख्य अभिनय थियो ।
मैले चलचित्रलाई साँच्चिकै नजिकबाट बुझेको छु जस्तो लाग्छ । नेपालमा चलचित्रको विकास हुनुअगावैदेखि ममा चलचित्रको मोह बस्यो । नेपाली सिनेजगत्को विकाससँगै यहाँ निर्माण भएका अधिकांश चलचित्र मैले छुटाएको छैन । नेपाली भाषामा बनेको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’, नेपाली भाषामा नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’ देखि नेपाली चलचित्रको सुरुआतताकाका सबैजसो चलचित्र हेरेको छु । भुवन केसी, राजेश हमाल, करिस्मा मानन्धर मलाई मन पर्ने नेपाली कलाकार हुन् ।
म चलचित्र मनोरञ्जनका लागि हेर्छु । मलाई कहिल्यै अभिनेताजस्तो शक्तिशाली हुने वा चलचित्र खेल्छु भन्ने मोह भने पलाएन । बाल्यकालमा मेरो सोख गायक बन्ने थियो । बरु, चलचित्रका गीतहरू गाउने गर्थें । १० वर्षको उमेरदेखि लेखनतर्फ तानिएपछि भने गायक बन्ने रहरको बीज पनि अंकुराउन पाएन । लेखक बन्नतर्फ नै अग्रसर भएँ ।
जीवनकालको ६९ वर्षे यात्रामा अनगिन्ती फिल्म हेरिसकेँ । तर, मेरो लेखनीका विषयवस्तु ती कुनै फिल्मबाट लिएको छुइनँ । बरु आफैँले सामाजिक विषयमा आधारित भएर चलचित्रको कथा, पटकथा र संवाद लेखेको छु । मैले लेखेको कथा ‘कट्टेल सरको चोटपटक’ मा आधारित भएर नेपाली चलचित्र ‘वासुदेव’ बनाइएको छ । २०३९ सालमा उक्त चलचित्र नीर शाहको निर्देशनमा बनेको थियो । हरिहर शर्मा र शकुन्तला शर्माको मुख्य भूमिका छ । शिक्षकको पेसागतसाथै व्यक्तिगत जीवनको समेत दु:ख–पीडा समेटिएको ‘वासुदेव’ ले त्यतिबेला राम्रो प्रतिक्रिया पाएको थियो । त्यसपछि मैले चारवटा टेलिचलचित्र पनि लेखेँ । ‘निमित्त नायक’, ‘अलिखित’, ‘रात’, ‘एक सहरमा एक कोठा’ मैले लेखेका टेलिचलचित्र हुन् ।
म दर्शक बनेर ६५ वर्षदेखि चलचित्रक्षेत्रलाई नियालिरहेको छु । यद्यपि, पछिल्लो समय हलमाभन्दा घरमै डिभिडी, सिडी ल्याएर चलचित्र हेर्ने गर्छु । यतिखेर घरमा बलिउड फिल्म ‘बर्फी’ को सिडी ल्याएको छु, अब हेर्नुपर्ला । मेरो चलचित्रयात्राको समीक्षा गर्दा म नेपाली चलचित्रको परिवेशलाई नियाल्छु । नेपाली चलचित्र उद्योग भर्खरै मध्यम गतितर्फ पाइला चल्दै छ । नेपाली चलचित्रमा प्राविधिक विकासको क्रम बढे पनि नयाँपनमा अझै कमी छ । पुरानै शैलीमा भए पनि रुचिले चलचित्र हेर्ने मजस्ता दर्शक नेपाली बजारमा निकै कम भइसकेका छन् । त्यसैले नेपाली चलचित्रका कथावस्तुमा नयाँपन दिन आवश्यक छ ।
प्रस्तुति : प्रतिमा सिलवाल
प्रतिक्रिया