कार्यालय नै रित्तो पारेर विदेश भ्रमणमा

काठमाडौं, ११ असोज । राष्ट्रिय महिला आयोगको जम्बो टोली कार्यालय नै रित्तो पारेर विदेश भ्रमणमा निस्केको छ । कार्यालयको काम प्रभावित हुनेगरी आयोगका अध्यक्ष, सचिव, सदस्य र कर्मचारीको समूह आइतबार आठ दिनका लागि फिलिपिन्सको मनिला उडेको हो ।

फिलिपिन्सको महिला आयोगबारे जानकारी लिन भन्दै ‘युएनएफपिए’ नामक गैरसरकारी संस्थाको खर्चमा आठजना मनिला गएको स्रोतले बतायो । यति धेरै पदाधिकारी एकैचोटि विदेश भ्रमणमा गएपछि कार्यालयको काम प्रभावित हुने भएको छ । भ्रमणमा जानेमा अध्यक्ष शेष चाँदतारा, सदस्यहरू मोहना अन्सारी, मनु हुमागाईं, उर्मिलादेवी विश्वकर्मा, धनेश्वरी चौधरी, सचिव बद्री पोखरेल, प्रशासन उपसचिव एमेन्द्र उपाध्याय र नासु दीलिप खड्का छन् ।

कार्यालयको काम प्रभावित हुनेगरी विदेश भ्रमणमा जानु नियमविपरित हो । तर महिला आयोगका आयुक्त र कर्मचारी पहिले पनि यसैगरी कार्यालय रित्तो बनाएर विदेश जाने गरेका छन् । गत वर्ष इन्डोनेसियाको महिला आयोगबारे जानकारी लिन भन्दै यस्तै जम्बो टोली गएको थियो ।
यता, टोलीमा उपसचिवपछि अधिकृतलाई समावेश नगरी नासुलाई लगिएको भन्दै अधिकृतहरूले असन्तुष्टि जनाएका छन् । महिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेले समेत जम्बो टोली गएकोमा असन्तुष्टि जनाए । ‘यस्तो खालको विदेश भ्रमणबारे म पनि चिन्तित छु,’ मन्त्री न्यौपानेले सौर्यसँग भने, ‘कार्यालय नै खाली हुनेगरी क्याबिनेटले विदेश जान दिने निर्णय गर्न हुँदैनथ्यो ।’ आयोगका आयुक्तको विदेश भ्रमणबारे महिला मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्छ । मन्त्री न्यौपानेले आफू नभएका बेला मन्त्रिपरिषद्ले भ्रमण पास गरेको बताए । ‘पटकपटक कार्यालय खाली हुनेगरी मन्त्रिपरिषद्ले आयोगका पदाधिकारीको विदेश भ्रमणको निर्णय किन गर्छ, यो कुरा मलाई पनि थाहा छैन,’ मन्त्री न्यौपानेले भने, ‘म पन्ध्र दिनका लागि बाहिर गएको थिएँ । त्यतिबेला यस्तो निर्णय भएछ ।’ कार्यालयमा एकजना पनि आयुक्त र सचिव नराखी भ्रमणमा जानु नियमविपरीत हुने भन्दै उनले नियमविपरीत गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
कर्मचारीलाई आयोगको भ्रमण टोलीबारे सामान्यबाहेक अन्य जानकारी छैन । सचिव बद्री पोखरेलसमेत कार्यालयलाई कुनै जानकारी नदिई विदेश गएको कर्मचारीहरू बताउँछन् । निमित्त सचिवको जिम्मेवारी पाएकी अधिकृत मधु अर्यालले सचिव पोखरेलले केही जानकारी नगराएको बताइन् । उनले भनिन्, ‘जानेबेला सचिवज्यूले केही भन्नुभएन, कार्यालयमा आउँदा निमित्तको चिठी पाएँ ।’

प्रतिक्रिया