सरकारविरुद्ध अवरोध आन्दोलनको तयारी

काठमाडौं, ११ असोज । कांग्रेस, एमाले र नेकपा–माओवादीलगायत विपक्षी दलले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम बिहीबार ल्याउने भएका छन् ।
आन्दोलनका कार्यक्रम ल्याउने तयारीस्वरूप बुधबार बल्खुस्थित एमाले मुख्यालयमा बसेको प्रतिपक्षी तीन दलको बैठकमा आन्दोलनको स्वरूप र कार्यक्रमको अन्तिम टुंगो बिहीबार नै लगाउने सहमति भएको छ । स्रोतका अनुसार विपक्षी दलहरूले सरकारविरुद्ध अवरोध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । आन्दोलनका कार्यक्रम तय गर्न बिहीबार एमाले मुख्यालयमा नै फेरि विपक्षी दलहरूको बैठक राखिएको छ ।
आन्दोलनका कार्यक्रमका विषयमा तयारी गर्न बुधबार विपक्षमा रहेका तीन ठूला दलका नेताहरूको बैठक बसेको थियो । बैठकमा आन्दोलनको स्वरूप र कार्यक्रमबारे छलफल भए पनि बिहीबार विपक्षमा रहेका सबै दलको बैठक बसेर त्यसको टुंगो लगाउने सहमति भएको हो । ‘आन्दोलनको स्वरूप र कार्यक्रम के–कस्ता हुने भन्ने विषयमा प्रारम्भिक छलफल भयो,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पोडेलले भने, ‘भोलि (बिहीबार) नै त्यस सम्बन्धमा टुंगो गरेर कार्यक्रम अगाडि सार्ने कुरा भएको छ ।’
बैठकमा कांग्रेसबाट उपसभापति पौडेल, नेताहरू डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य रघु पन्तलगायत नेता सहभागी थिए । माओवादीबाट उपाध्यक्ष सिपी गजुरेल र देव गुरुङलगायत नेता बैठकमा उपस्थित थिए ।
बिहीबार बस्ने प्रतिपक्षी बैठकमा सरकारविरुद्ध अवरोध आन्दोलनका कार्यक्रम अगाडि सार्ने तयारी भएको स्रोतले जनाएको छ । यसअघि नै प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित कार्यक्रम बहिष्कार गर्ने घोषणा गर्दै आएका विपक्षी दलहरूले बिहीबार बस्ने बैठकबाट अवरोध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
केही दिनअघि मात्रै एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेता सम्मिलित बैठकमा संविधानसभाको नयाँ चुनावमा जाने र त्यसका लागि सहमतीय सरकार गठन गर्ने सहमति भएको थियो । तर, सत्तारुढ मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले देशव्यापी जनपरिचालन र आमसभा गर्ने कार्यक्रम तय गरेपछि विपक्षी दलहरू एमाओवादीप्रति सशंकित बनेका छन् । एमाओवादीले वार्तालाई सत्ता टिकाउने रणनीतिक दाउका रूपमा मात्रै उपयोग गरेको निष्कर्षका साथ विपक्षी दलहरू आन्दोलनको तयारीमा लागेका हुन् ।
सरकारलाई टिपेर फ्याँकिन्छ : ओली
काठमाडौं : एमाले नेता केपी शर्मा ओलीले सत्तारुढ एमाओवादीले वार्ताको नाटक गरेको आरोप लगाउँदै मोर्चाका नाममा भिड्ने तयारीमा रहेको दाबी गरेका छन् ।
पार्टीको उपत्यका समन्वय कमिटीले प्रकाशन गरेको ‘उपत्यका बुलेटिन’ सार्वजनिक गर्दै बुधबार नेता ओलीले सरकारलाई आन्दोलनको बलबाट टिपेर फ्याँक्ने चेतावनी दिए । ‘एकातिर वार्ताको नाटक गरेको छ, अर्काेतिर विपक्षीहरूसँग लड्नका लागि मोर्चा बनाएर आन्दोलन घोषणा गरेको छ,’ ओलीले भने, ‘सरकारमै बसेर कसका विरुद्ध आन्दोलन ? जनताविरुद्ध क्रियाकलाप गर्दै हिँडे यस्तो सरकारलाई टिपेर फ्याँकिन्छ ।’
एमालेले समयमै आफ्नो शक्ति नचिनेका कारण एमाले हुँदाहुँदै एमाओवादीले वितण्डा मच्चाएको उनको भनाइ थियो । ‘एमाओवादी कम्युनिस्ट पार्टी त हुनै सक्दैन,’ उनले भने, ‘उसको विचार छैन र त्यो विचार समूह पनि हुन सक्दैन ।’
जनप्रदर्शनलाई भव्य बनाइने
सरकारविरुद्ध एमालेले १९ असोजमा राजधानीलगायत देशका प्रमुख सहरमा जनप्रदर्शन कार्यक्रम राखेको छ । जनप्रदर्शनको तयारीका क्रममा एमाले उपत्यका विशेष समन्वय कमिटीले बुधबारदेखि नियमित मासिक बुलेटिन प्रकाशन थालेको हो । यसअघि गत शुक्रबार पार्टी अध्यक्ष झलनाथ खनालले कमिटीको नोटिसबोर्ड उद्घाटन गरेका थिए । उपत्यकामा हुने जनप्रदर्शनलाई भव्य बनाउन उपत्यकाका सबै निर्वाचन क्षेत्र र वडास्तरसम्म अभियान चलाइएको कमिटी संयोजक कृष्णगोपाल श्रेष्ठले बताए । (सौस)

प्रतिक्रिया