कैदीबन्दीमा भाइरलको प्रकोप

ताप्लेजुङ, ११ असोज । जिल्ला कारागारका कैदीबन्दीमा भाइरलको प्रकोप देखिएको छ । कैदीबन्दीमा ज्वरो आउने, घाँटी दुख्ने तथा रुघाखोकीको संक्रमण देखिएपछि बुधबार गरिएको स्वास्थ्यपरीक्षणका क्रममा भाइरल भएको पाइएको हो ।

कारागारका अधिकांश कैदी बिरामी परेका छन् । ७९ कैदीबन्दीमध्ये ५१ कैदीबन्दीको बुधबार स्वास्थ्यपरीक्षण गरिएको छ । उनीहरूमा भाइरलको लक्षण देखिएको उपचारमा संलग्न जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट पृतम गुप्ताले बताए । अधिकांश कैदी बिरामी परेपछि बुधबार स्वास्थ्यशिविर राखिएको हो ।
उनीहरूलाई सामूहिक उपचार गरेपछि गुप्ताले भाइरलको लक्षण देखिएकाले निको हुन केही दिन लाग्ने बताए । जिल्ला कारागारका निमित्त प्रमुख तारा तामाङका अनुसार बिरामीका लागि अधिकांश औषधि जिल्ला अस्पतालबाट र नपुग औषधि कारागारले जुटाएको छ । बन्दीमा भाइरलको संक्रमण देखिएपछि कारागार शाखाको अनुरोधमा जिल्ला अस्पतालले कारागारमै उपचार गरेको हो ।
निमित्त प्रमुख तामाङका अनुसार सिकिस्त एक कैदीलाई मंगलबार राति नै अस्पताल लगेर उपचार गरिएको थियो । सबैलाई अस्पताल पुर्‍याउन सम्भव नभएपछि अस्पताललाई अनुरोध गरिएको उनले बताइन् । २५ जनाको क्षमता रहेको कारागारमा ७९ कैदीबन्दी छन् ।
चितवनमा १३ को ज्यान गयो

चितवन, ११ असोज । चितवनमा भाइरल ज्वरोका कारण १३ को ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर चितवनका दुई मेडिकल कलेज र एक सरकारी अस्पतालमा साउनयता १३ को ज्वरोका कारण मृत्यु भएको जानकारी दिएको हो ।
भाइरलबाट चितवन मेडिकल कलेजमा ६, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा चार, भरतपुर अस्पतालमा एक र एक जना उपचारका लागि काठमाडांै लैजाने क्रममा बाटोमा मृत्यु भएको पत्रकार सम्मेलनमा बताइएको थियो । असोजको पहिलो साताबाट भाइरलका बिरामी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । असारमा दुई हजार एक सय ७२, साउनमा तीन हजार दुई सय ८६ र भदौमा ६ हजार ६ सय ८७ ज्वरोका बिरामी अस्पतालमा भर्ना भएका छन् ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको एक टोली माडीको गर्दी गाविसमा पुगेर स्वास्थ्य शिविर सुरु गरेको छ । मंगलबार मात्रै ज्वरोले माडीका एकै परिवारका दुईको मृत्यु भएपछि त्यस क्षेत्रमा ज्वरोको अनुगमन गर्न चिकित्सकसहितको टोली गएको हो । हेल्थ असिस्टेन्ट निर्मल घिमिरेको नेतृत्वमा गएको टोलीले माडीका विभिन्न स्थानमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य परीक्षणसमेत गर्नेछ ।

प्रतिक्रिया