सरकार विरुद्ध कडा बन्दै विपक्षी दल


काठमाडौं, १० असोज । एमाओवादी नेतृत्वको वर्तमान सरकार मुलुकलाई राजनीतिक निकास दिन अनिच्छुक रहेको भन्दै विपक्षी दलहरुले बिहीबार शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको विपक्षी पाँच दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रियता, भ्रष्टाचार, अनियमिततालगायतमा गरेका विषयलाई उदाङगो बनाउने संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सरकारले अन्तरिम संविधान, ऐन, कानून र राजनीतिक सहमति विपरितका कार्य गर्न शुरु गरेको भन्दै विपक्षी दलहरुले अध्यादेशबाट सरकार चलाउन प्रधानमन्त्री भट्टराईको आलोचना समेत गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दशैं, तिहार अगाडिनै सरकार विरुद्धको आन्दोलन शुरु गर्ने सहमति भएको जानकारी दिए । ‘एमाओवादी र उस्को नेतृत्वको सरकार चरम आर्थिक अनियमितता र राष्ट्रियता विरुद्ध लागेको छ,’ उनले भने, ‘सरकारलाई विस्थापित गर्न दशैं र तिहार अगाडिदेखि नै आन्दोलन गर्ने सहमति भएको छ ।’
सहमतिमा नआउने वर्तमान सरकार विरुद्ध सडक आन्दोलन गरेर विस्थापित गर्ने उनले चेतावनी दिए । उपसभापति पौडेलले भट्टराईको सरकारको गलत चरित्रलाई नेपाली जनता समक्ष उदाङगो पार्ने बताए ।
एमालेको नेता रघुजी पन्तले भोली बिहीबार बस्ने विपक्षी १३ दलको बैठकले शान्ति पूर्ण संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले भने, ‘कार्यदल गठन गरेर शान्ति पूर्ण आन्दोलनलाई व्यवस्थित बनाउँने सहमति गरेका छौं ।’
नयाँ संविधानका लागि सहमति गरेर जानुपर्ने जनाएका विपक्षी दलहरुले एमाओवादी र मधेसी मोर्चाले राजनीतिक सहमति नचाहेको आरोप लगाउँदै आएका छन् । उनीहरुले वर्तमान सरकारको सहज वहिर्गमनको माग पनि गरेका छन् ।
बैठकमा कांग्रेस, एमाले, नेकपा–माओवादी, राप्रपा र शरतसिंह भण्डारी नेतृत्वको दल सहभागी रहेको थियो ।

प्रतिक्रिया