सुर्खेतको शिक्षा क्याम्पसमा तालाबन्दी

सुर्खेत, १० असोज । विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले सुर्खेतको शिक्षा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायतका विद्यार्थी संगठनहरुले आज विहान क्याम्पसको मुल गेट र प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् ।
सोमबार ११ वुँदे मागसहित ज्ञापन पत्र बुझाएका उनीहरुले क्याम्प्स प्रमुख डा.महेन्द्रकुमार मल्लले समस्या समाधानतर्फ ध्यान नदिएकाले तालाबन्दी गरिएको स्ववियु सभापति कमल सिजापतिले जानकारी दिए । माग पुरा नभएसम्म ताला नखोलिने उनले बताए ।
सन्ध्याकालीन कक्षा सञ्चालन गर्नुपर्ने, रिक्त स्थानमा प्रध्यापकहरु नियुक्त गर्नुपर्ने, अवैधानिक रुपमा क्याम्पस प्रमुखले गरेका भर्ना तथा बढुवा खारेजी गर्नुपर्ने, विभागीय प्रमुखहरु नियुक्ति गर्दा आ–आफ्ना मान्छेलाई नियुक्ति गरिएकाले सो निर्णय खारेज गर्नुपर्ने माग विद्यार्थीका छन् ।
क्याम्पस प्रमुख मल्लले विद्यार्थीले अघि सारेका केही मागहरु पुरा गर्न सकिने भएपनि प्रशासनसँग समन्वय नै नगरी एकतर्फी आन्दोलन गरेको आरोप लगाए ।

प्रतिक्रिया