मेरो गीत सुनेर आत्महत्या गरे

काठमाडौं, १० असोज । सानोमा सिनेमा हेर्न जाँदा अर्जुन नेपालीले गोपाल योञ्जन, रञ्जित गजमेरको नाम बारम्बार पर्दामा देखेछन् । उनलाई लागेछ, ‘गीतकार, गायक र संगीतकारमध्ये क्याप्टेन को होला ?’ उनको मनले संगीतकार नै क्याप्टेन हो भन्ने ठम्यायो । अनि त के थियो, उनलाई संगीतकार बनेर देखाउने ‘भूत’ सवार भएछ ।

विसं ०३० मा दोलखामा जन्मिएको ठिटो अल्लारे उमेरमै भारतको बम्बै हानिएछ । ‘त्यतिबेला अहिलेजस्तो जताततै गीत, संगीतको माहोल थिएन,’ अर्जुनले भने, ‘बम्बैमा त्यो सम्भावना छ भन्ने लाग्यो, त्यतै गएँ ।’ सौभाग्य पनि कस्तो † बम्बै पुग्नेबित्तिकै उनले फिल्ममा नाम देखेकै मान्छे रञ्जित गजमेरलाई भेटेछन् । नेपाली मूलका वरिष्ठ संगीतकार रञ्जित पनि नेपाली भनेपछि हुरुक्कै हुँदा रहेछन् । उनले भने, ‘म उहाँकै सहयोगी बनेर फिल्महरूमा संगीत गर्न थालेँ ।’ ०५१ ताकाको त्यो यात्राले अर्जुनलाई ०५५ सालमा जिन्दगीमा कसैलाई चाहनु भूल होइन बोलको गीत आºनै शब्द, संगीत र स्वरमा निकाल्न कुनै समस्या भएन । गीत चल्यो पनि ।
‘गुरु रञ्जितले तिमी केही गर्न सक्छौ भन्नुभयो,’ अर्जुनले भने, ‘त्यसपछि म नेपाल फर्किएँ ।’ उनी राजधानीमा आमा सीता र बुबा जयनबहादुरसँग बस्न थाले । बम्बैमा सिकेको सीप प्रयोग गर्ने सोच बनाइरहेकै बेला उनलाई वियोग एल्बममा संगीत गरिदिने प्रस्ताव आएछ । ‘कस्तो पो हुन्छ भन्ने थियो,’ अर्जुनले भने, ‘धेरै माया दिँदा रैछन्, मुटु जोडेर जानेहरू… गीत सुनेर एकजनाले आत्महत्या गरेको खबर सुनियो, नरमाइलो पनि लाग्यो ।’ तर, जे होस् गीत मर्मस्पर्शी भने थियो, त्यसैले अत्यधिक चल्यो पनि ।
अर्जुनका अनुसार उनले संगीत गरेका आठ गीतमध्ये धेरै माया दिँदा रै’छन् सुनेर प्राण त्याग्नेमा त्यतिबेला प्रेमवियोग भोगिरहेका डोल्पामा कार्यरत दैलेखका प्रहरी जवान रामबहादुर जैशी थिए । त्यसो त दार्जिलिङमा पनि आत्महत्याको खबर त्यतिबेला मिडियाले छापेको र त्यसबारे चाहिँ आफूलाई थाहा नभएको उनले सुनाए । मानवीय रूपमा यो घटना असाध्यै नमीठो भए पनि व्यावसायिक रूपमा अर्जुनका लागि ठूलो सफलता थियो । त्यसपछि उनी तीन वर्षजति यो पेसाबाटै अलग्गिए । किन त ? उनले यो पेसामा जीवन धान्ने आधार देखेनन् र सहायक पेसामा संलग्न भए । संगीत बुझेकाहरूले उनको खोजी गरेपछि उनी फेरि यो पेसामा फर्किए । त्यसपछि उनले एउटा कथा, सत्य एल्बम र न्यु जेनेरेसनसहित चारवटा फिल्म गरी जम्माजम्मी डेढ सय गीतमा संगीत दिइसकेका छन् ।

प्रतिक्रिया