१० हजार विद्यार्थी बढी देखिएपछि अनुगमन

जाजरकोट, १० असोज । शिक्षा कार्यालयले अनुगमनलाई तीव्रता दिएपछि विद्यालयमा हाजिर नहुने र फर्जी विद्यार्थी बनाउने शिक्षक हैरानीमा परेका छन् । गत शुक्रबारदेखि शिक्षा कार्यालयले तेस्रो चरणको विद्यालय अनुगमन सुरु गरेपछि जिल्लाका जिम्मेवारी वहन नगर्ने र ‘ठग्ने’ शिक्षक हैरानीमा परेका हुन् ।

विद्यालय अनुगमनका क्रममा शिक्षा कार्यालयको टोली गाउँमा जान थालेपछि सदरमुकाममा बस्दै आएका शिक्षक धमाधम गाउँ जान थालेका छन् । दुई महिनाअघि गरिएको अनुगमनका क्रममा विद्यालय नजाने एक सय ५० शिक्षकको १३ लाख रुपियाँ कारबाहीस्वरूप तलबबाट कटौती गरिएको थियो । ३ वैशाखबाट सुरु गरेको अनुगमनले विद्यालयमा पठनपाठन लगायतका विभिन्न पक्षमा सकारात्मक सुधारका लागि सहयोग पुगेकाले यसपाली पनि विशेष टोली बनाएर अनुगमन थालिएको शिक्षा कार्यालयले जनाएको छ ।
गाउँमा रहेका विद्यालयका विषयमा जनगुनासो बढ्न थालेपछि अनुगमन थालिएको शिक्षा अधिकारी गिरमान थापाले बताए । एक साताको समयावधि तोकेर थालिएको अनुगमनका क्रममा विद्यालयबाट पठाएको विद्यार्थी संख्या ठीक छ कि छैन, विद्यालयमा शिक्षक उपस्थित छन् वा छैनन् र पढाइका लागि विद्यालयमा उपयुक्त वातावरण छ कि छैन भन्ने कुरा हेरिने थापाले बताए । उनले भने, ‘अनुगमनले गाउँका विद्यालयमा फर्जी विद्यार्थी बनाएर एवं नपढाएर चरम आर्थिक अनियमितता गर्ने शिक्षकलाई कडा कारबाहीका लागि कार्यालयले विशेष अभियान थालेको छ ।’
जिल्लामा विद्यालयस्तरका ७६ हजार बालबालिका भएकोमा ८६ हजार विद्यार्थीको तथ्यांक देखिएपछि कार्यालयलाई समस्या परेको थियो । ‘विनाकारण विद्यालयमा नजाने, नपढाउने धेरै शिक्षकका कारण गाउँका विद्यालयको पढाइको स्तर र वातावरण निकै खस्कँदो देखिएपछि कार्यालयले अनुगमनलाई तीव्रता दिएको हो,’ जिशिअ थापाले भने ।
जिल्लाका सामुदायिक र निजी गरी चार सय ३५ विद्यालयको एकसाथ अनुगमन तथा विद्यार्थी संख्याको सत्यापन गर्नका लागि कार्यालयका विद्यालय निरीक्षक, स्रोतव्यक्ति र अन्य कर्मचारीको चार समूह बनाइएको छ । विद्यालयमा गएर संख्या सत्यापन गर्दा विद्यालयले कार्यालयमा पठाएको विवरण, विद्यार्थीको प्रत्यक्ष उपस्थिति र पहिलो त्रैमासिक परीक्षामा उपस्थितिको अवस्थाको मूल्यांकन गरिने स्रोतले बताएको छ ।]
अभिभावकद्वारा विद्यालयमा तालाबन्दी
बर्दिया : प्रधानाध्यापकले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सूर्यपटुवा–३ स्थित कैलाशीमा रहेको विपी प्राथमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।
प्रधानाध्यापक शम्भुप्रसाद चौधरीले छात्रवृत्ति रकम, खाजा रकम वितरण नगरी आर्थिक हिनामिना गरेको भन्दै सरुवाको माग राखेर अभिभावकले तालाबन्दी गरेका हुन् । प्रधानाध्यापकलाई कारबाही गरेर सरुवा नगरे ताला नखोल्ने अभिभावको जिद्दी छ । विद्यालय बन्द हुँदा दुई सय विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
प्रधानाध्यापकलाई कारबाही गर्न गाउँका बडघर दशरथ थारूको अध्यक्षतामा बसेको अभिभावक भेलाले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको थियो । आफूहरूले दिएको उजुरीमाथि शिक्षा कार्यालयले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको थारूले बताए । बर्दियाका शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले उजुरीमाथि छानबिन भइरहेको बताए । प्रधानाध्यापक चौधरीले पनि आफूले आर्थिक हिनामिना नगरेको दाबी गरे । (सौस)

प्रतिक्रिया