राष्ट्रियताका लागि भट्टराई सरकार खतरा

काठमाडौं, ९ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राष्ट्रियताका लागि बर्तमान कामचलाउ सरकार ढाल्नै पर्ने बाध्यता रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नढाले मुलुकको राष्ट्रियता नरहने चेतावनी दिए ।
‘राष्ट्रियताका कारण मुलुक असफल राष्ट्र बन्दैछ,’ उनले भने, ‘जनताका अधिकार झन्झन् खोसिदै जाने भएकाले पनि वर्तमान सरकार ढाल्नु अनिवार्य भएको छ ।’ उनले भट्टराईका कारण राष्ट्रियता खतरामा परेको पनि दाबी गरे ।
उपाध्यक्ष गजुरेलले अब बन्ने नयाँ सरकारको दाबी आफूहरुको पनि रहने बताएका छन् । ‘अहिले कसको नेतृत्व भन्ने विषयमा कुरा भएको छैन,’ उनले भने, ‘बाबुरामजीलाई हटाए पछि प्रधानमन्त्री जो पनि हुन सक्छ ।’
सहमतिमा प्रधानमन्त्री भट्टराई बहिर्गमनमा नगए सडक आन्दोलनबाट सरकार ढाल्ने गजुरेलको भनाई छ । उनले भने, ‘आन्दोलनको आँधिबेहरीले पुष्पकमल दाहाल र उनको गठबन्धनलाई उडाएर लैजाने छ ।’
पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले विधि र प्रक्रिया बाहिरबाट वर्तमान सरकार नढल्ने बताए । उनले विपक्षी दलहरुको आन्दोलनलाई औचित्यहिन भएको टिप्पणी गरे ।
भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीले अहिलेको सरकारलाई कसैले पनि ढाल्न नसक्ने बताए । उनले आन्दोलनको औचित्यका विषयमा विपक्षी गठबन्धनको ऐजेण्डा स्पष्ट नभएको दावी गरे ।
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भिषण आन्दोलनविना प्रधानमन्त्री बाबुराम भट्टराईले पद नछाड्ने निश्चित भईसकेको बताए । भट्टराई सरकार हटाउन आन्दोलन गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

प्रतिक्रिया