रामप्रसाद स्मृति बुद्धिचाल सुरु

इलाम, ८ असोज । गजुरमुखी चेस क्लब तथा इलाम जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालित नेपालको सर्वाधिक पुरस्कार राशिको रामप्रसाद गौतम स्मृति बुद्धिचाल प्रतियोगिताको सोमबार संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेमबाङले उद्घाटन गरे । इलामबजारमा लगभग एक हजार जनाको उपस्थितिमा भएको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष नेमबाङले गजुरमुखी चेस क्लबको प्रयास समग्र इलाम जिल्लाकै लागि प्रेरणादायी भएको बताए । कार्यक्रममा बोल्दै नेपाल बुद्धिचाल संघका अध्यक्ष तथा विश्वबुद्धिचाल महासंघका सदस्य राजेशहरि जोशीले नेपालको पहाडी जिल्लामा समेत चेसमय वातावरण बन्दै गएको चर्चा गरे ।
अन्तराष्ट्रिय मास्टर अतानु लहरीले नेपालको पहाडी जिल्ला र युथहरूमा देखिएको चेस खेलप्रतिको क्रेज साँच्चै उत्साहजनक रहेको बताए । नेपाली बुद्धिचालमा महत्त्वपूर्ण योगदान पुर्‍याएका लहरी यसै प्रतियोगिताका लागि दोलखाबाट इलाम पुगेका छन् । कार्यक्रममा प्रायोजक गजुरमुखी कन्स्ट्रक्सनका प्रमुख दीपक गौतमले इलाम जिल्ला बुद्धिचाल संघले सराहनीय कार्य गरेको बताए ।
गजुरमुखी कन्स्ट्रक्सनका पूर्वप्रमुख दिवंगत रामप्रसाद गौतमको स्मृतिमा आयोजित प्रतियोगितामा पाँचभन्दा बढी देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता छ । प्रतियोगिताको लागत १४ लाख रुपियाँ छ ।
स्विस लिग प्रणालीमा हुने प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगिता १० चरणमा हुनेछ । प्रतियोगिताको पहिलो चरण मंगलबार बिहान हुनेछ । केही दिनअघि दोलखामा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधिविजेता बंगलादेशी फिडेमास्टर अमानुल इस्लाम, अस्ट्रेलियाका अन्तर्राष्ट्रिय मास्टर अलेक्जेन्डर बल र नेपालका राष्ट्रिय विजेता मनीष हमाललगायत खेलाडी हेर्नलायक खेलाडीका रूपमा रहेका छन् । प्रतियोगिताको उपाधिविजेताले ६० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया