प्रधानमन्त्री नहटेसम्म विपक्षी वार्तामा नबस्ने

काठमाडौं, ९ असोज । कांग्रेस, एमालेलगायत १३ विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म सत्तारूढ एमाओवादीसँग वार्ता नै नगर्ने भएका छन् । वार्ता र सहमति प्रक्रियालाई सत्ता लम्ब्याउने रणनीतिका रूपमा मात्र उपयोग गरेको भन्दै उनीहरूले सहमतिका लागि पहिले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने निर्णय गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले आन्दोलनका सशक्त कार्यक्रम ल्याउने पनि निर्णय गरेको छ । नयाँ चुनावमा जान सहमतिको सरकार गठन गर्ने प्रमुख चार दलबीच सहमति भए पनि डा. भट्टराई नेतृत्वको सरकारलाई नै निरन्तरता दिने कसरतमा सत्तारूढ एमाओवादी देखिएपछि विपक्षी दलहरूले सडक आन्दोलनबाटै सरकार हटाउने सहमति गरेका हुन् । राजनीतिक निकासका लागि संविधानसभाको नयाँ चुनावमा जाने र त्यसका लागि निर्वाचन प्रक्रिया र सरकारमा सहमति खोज्ने प्रमुख चार दलबीच सहमति भए पनि सरकारको नेतृत्वलाई लिएर उनीहरूबीच फेरि सम्बन्ध चिसिएको छ ।
नेकपा–माओवादीसहितका प्रतिपक्षी दलहरूको सोमबार बसेको बैठकले तीनबुँदे प्रस्ताव पारित गर्दै भट्टराई सरकारको बहिर्गमन राजनीतिक निकासको पहिलो पाइला भएको निष्कर्ष निकालेको छ । यस्तै, सरकारविरुद्ध आन्दोलन अनिवार्य भएको निष्कर्ष निकाल्दै ११ असोजमा बस्ने बैठकले आन्दोलनका सशक्त कार्यक्रम ल्याउने पनि निर्णय गरेको छ । ‘एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेतृत्व गरेको वर्तमान सरकार राष्ट्रिय सहमतिका निम्ति बाधक रहेकाले तत्काल हट्नुपर्छ भन्ने बैठकको ठहर छ,’ उनीहरूको बैठकले गरेको निर्णयमा उल्लेख छ, ‘वर्तमान सरकार हटेर राष्ट्रिय सहमतिको सरकार गठन हुनु राजनीतिक निकासको पहिलो पाइला हो भन्ने बैठकको सर्वसम्मत निष्कर्ष रहेको छ । वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न अनिवार्य रहेको कुरामा बैठक सहमत भएको छ ।’ आन्दोलनका कार्यक्रम तय गर्न ११ असोजमा एमाले केन्द्रीय कार्यालयमा उनीहरूको बैठक आयोजना गरिएको छ ।
राजनीतिक निकासका विषयमा दलहरूबीच पछिल्लोपटक भएको छलफलले नयाँ निर्वाचनमा जाने सहमति गरे पनि सत्तारूढ एमाओवादी र मधेसी मोर्चाले चुनावसम्मै मोर्चाबन्दी गरेर जाने सहमति गरेपछि विपक्षी दलहरूको बैठक बसेको हो । ‘सत्तामा बसेर एमाओवादीले वार्ताका नाममा भुल्याउने र ढाँट्ने काम मात्रै गरेको छ, मोर्चाका नाममा मुलुकमा राजनीतिक विभाजनको अभ्यास गरेको छ,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘सहमतिलाई झुक्याउने र ढाँट्ने काममा उपयोग गरी भाग्ने काम एमाओवादीले गरेकाले अब सरकारलाई सडकबाटै हटाउनुपर्ने अवस्था आएको छ ।’ पौडेलले सहमतीय सरकार गठन गर्ने दलहरूबीच समझदारी भए पनि एमाओवादी सरकार नछाड्ने मनस्थितिमा देखिएको दाबी गर्दै उनले यस्तो अवस्थामा एमाओवादीसँग वार्ता पनि हुन नसक्ने बताए । ‘झुक्याउनका लागि मात्रै वार्ता हो भने यस्तो अवस्थामा हामी ऊसँग वार्ता पनि गर्दैनौँ,’ पौडेलले भने, ‘सडकबाटै छिनोफानो गर्छाैं ।’ बैठकमा एमाओवादीबाट विभाजन भई बनेको नेकपा–माओवादी पनि सहभागी थियो । ‘बाबुराम भट्टराईको सरकार राष्ट्रिय सहमतिको बाधक हो यो नहटेसम्म दलहरूबीच सहमति बन्दैन,’ माओवादी उपाध्यक्ष सिपी गजुरेलले बैठकपछि भने, ‘अब सडक आन्दोलनका सशक्त कार्यक्रम ल्याउँछौँ ।’ बैठकमा कांग्रेस, एमाले, नेकपा–माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाललगायत १३ दलका नेता सहभागी थिए ।

प्रतिक्रिया