आमाले गरिन् छोरीको हत्या

रौतहट, ९ असोज । दुई वर्षीया छोरीको हत्याको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ । ३ असोजमा कनकपुर–२ स्थित बम नहरको कल्भर्टमा पानीमा डुबेर मरेको दुई वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा आमाबाबुले नै बालिकालाई नहरको पानीमा फालेर मारेको रहस्य खुलेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले पत्रकार सम्मेलन गरेर मृतककी आमा ३० वर्षीया कुश्मी खातुनलाई सार्वजनिक गरेपछि घटना प्रकाशमा आएको हो । कनकपुर–२ का शेख जोखन र उनका तेस्रो पत्नी ३० वर्षीया कुश्मी खातुनका सन्तान दुई वर्षीया जुमिनी खातुनलाई घरायसी विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा छोरी हत्याको आरोपमा पक्राउ परेकी खातुनले भनिन्, ‘पतिले घर चलाउने खर्च दिएनन् । मलाई देवरले निर्घात कुटपिट गरेपछि रिसको झोकमा छोरीलाई ज्युँदै नहरमा फालेर भागँे ।’ पतिसँग झैझगडा र वादविवाद भएपछि दुवैको दाम्पत्य जीवनबाट जन्मेकी बालिका जुमिनी खातुनको हत्या गरेको उनले स्विकारेकी छन् ।
पत्रकार सम्मेलनमा पति र देवरले अत्याचार गर्न थालेपछि आफूले १ असोजमा बालिकालाई नहरमा फालेको उनले बताइन् । पतिले खर्च नदिने भएपछि आफू एक्लै बस्ने सोचमा रहेकी कुश्मीले भनिन्, ‘नगर्नु गल्ती गरेँ, अहिले पश्चात्ताप छ ।’ खातुनको पनि पहिलो पतिबाट १० वर्षीय छोरा सलाउदिन र पाँच वर्षीय छोरा मैनुदिन छन् । बारा बरेवाका विदेशी मियाँसँग दाम्पत्य जीवनमा बाँधिएकी खातुनले पहिलो पतिलाई छाडेर दुई पत्नी भएका कनकपुर–२ का शेख जोखनसँग दोस्रो विवाह गरेकी थिइन् । खातुन शेख जोखनकी तेस्री पत्नी हुन् ।
आफ्नै छोरीलाई ज्युँदै नहरमा फालेर फरार खातुनलाई प्रहरीले निजगढको तामागढीबाट सुराकीका आधारमा पक्राउ गरेको हो । पक्राउ परेकी खातुनलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ललन कुर्मीले बताए ।
हतियारसहित एक पक्राउ

रौतहट, ९ असोज । धर्मपुर–६ बाट प्रहरीले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका २९ वर्षीय चनरदेव राय यादवलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका यादवसँग एक थान नलकटुवा पेस्तोल र दुई राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ । धर्मपुर–६ का विजय राय यादवलाई पटक–पटक धम्की दिने गरेको आरोपमा पक्राउ परेका यादवसँग प्रहरीले सोधपुछका क्रममा घरमा हतियारसमेत रहेको सुइँको पाएपछि खानतलासी गर्दा लुकाइराखेको एकनाले नलकटुवा पेस्तोल र गोली फेला पारेको थियो । पक्राउ परेका यादवलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही गरिने इन्स्पेक्टर ललन कुर्मीले बताए ।

प्रतिक्रिया