विपक्षी दलहरुले सरकारसँग बार्ता नगर्ने

काठमाडौं, ८ असोज । विपक्षी दलहरुले मुलुकलाई निकास दिनका लागि वर्तमान कामचालउ सरकारको बहिर्गमन अनिर्वाय रहेको भन्दै सरकारसँग बार्ता नगर्ने निर्णय दोहराएका छन् ।
उनीहरुले सहज रुपमा सरकारको वहिर्गमन नभए सडक आन्दोलन चर्काउएर हटाउने निर्णय समेत गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको १३ दलको बैठकले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईको वहिर्गमन अनिर्वाय रहेको निष्कर्ष निकालेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै पौडेलेले अब सरकारसँग बार्ता नगर्ने बताए । ‘प्रचण्डसँग हामीले सत्ता मागेका होईनौं,’ उनले भने, ‘सहमतिका लागि तयार नभए सडक आन्दोलनबाट सरकारलाई हटाउँछौं ।’
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सत्ता कसैसँग नमाग्ने बताउँदै मुलुकको निकासका लागि सडक आन्दोलनबाट अधिकार लिने बताए । ‘वर्तमान सरकारसँग अब वार्ता हुँदैन,’ उनले भने, ‘सरकारको वहिर्गमन नहुँदा सम्म कुनै सहमति हुँदैन ।’
विपक्षी दलहरुले निर्णय गर्ने क्रममा सबै दललाई राखेर गर्नु पर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले केही दल मात्रै बसेर गर्ने निर्णय वा सहमति नमान्ने जनाएका छन् ।
तत्काल पद त्याग गरेर सहमतिका लागि मार्ग प्रसस्त गर्न एमाओवादी र प्रधानमन्त्री भट्टराईसँग आग्रह समेत गरेको उनले बताए ।
सहमतिका लागि एमाओवादीले आनाकानी गरेको जनाएका दलहरुले सरकारको वहिर्गन अघि कुनै पनि सहमति हुन नसक्ने उल्लेख गरे । उनीहरुले सरकार विरुद्ध आन्दोलन समेत गर्ने जनाएका छन् ।
सत्तारुढ दलहरु पहिचानसहितको संघीयता र नयाँ संविधानका लागि भन्दै चुनावी अभियानमा लागे पछि विपक्षी दलहरु परामर्शमा जुटेका हुन् ।
बैठकमा कांग्रेस, एमाले, नेकपा–माओवादी, राजपा, राप्रपालगायतका पार्टीका १३ दलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया