भाइरल ज्वरोले गाउँले सबै बिरामी

सिन्धुपाल्चोक, ८ असोज । सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ हगाममा फैलिएको भाइरल ज्वारोका कारण अधिकांश स्थानीय ओच्छान परेका छन् ।
एक साताअघिदेखि फैलिएको ज्वरोका कारण दुई जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा हगाम–१ का ६५ वर्षीया सुनमायाँ तमाङ र ३ का ६० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको स्थानीय चेतबहादुर लामाले जानकारी दिए ।
भाइरलको प्रकोप गाउँभरि फैलिएपछि विद्यार्थी विद्यालय समेत जान छाडेका छन् । हगामको १, २ र ४ वडामा धेरै स्थानीय बिरामी भएका छन् ।
भाइरलको प्रकोपले विद्यार्थी विद्यालय आउँन छाडेपछि स्थानीय जुगल प्रावि एकसातादेखि बन्द छ । शुरुमा टाउकोमा सोला हान्ने, रुघा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र उठ्न नसक्ने गरी विरामी हुने तथा ज्वरोकै कारण बिरामीको मृत्यु समेत भएको लामाले वताए ।
जिल्लास्वास्थ्य कार्यालयलाई भने भाइरलको प्रकोपबारे सोमबार बिहान मात्र थाहा भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । ‘हामीलाई जानकारी नै भएन,’ मिजारले भने, ‘आजै हामीलाई जानकारी भएपछि जलवीरे स्वास्थ्य कार्यालयबाट एक जनालाई बुझ्न पठाएका छौं ।’
जिल्लाभरि नै भाईरल प्रकोपले सयौ सर्वसाधारण बिरमी भएका छन् । जिल्ला अस्पताल चौतारा, सिन्धु सदावहार अस्पताल खाडिचौर, किष्टोन अस्पताल बाह्रविसेलगायतका स्वास्थ्य संस्थाहरुमा केही दिनदेखि भाइरलका विरामी बढेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया