म्यानचेस्टर युनाइटेडद्वारा लिभरपुल पराजित

लन्डन, ८ असोज । पहिलो हाफमै १० खेलाडीमा सीमित भएको लिभरपुललाई रबिन भान पर्सीको निर्णायक गोलमा २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित हात पारेको छ । खेलको ८१औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरमा डच स्टार पर्सी सफल भएपछि म्यान युले पहिलो खेलमा हार व्यहोरे पनि त्यसपछि कायम राखेको लगातार जित यात्रालाई निरन्तरता दिएको हो ।
३९आँै मिनेटमा लिभरपुलले जोन्जो सेल्भेले सोझै रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । यद्यपि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले सुरुआती अग्रता लिएको थियो । ग्लेन जोनसोनको पासमा लिभरपुलका स्टिफन जेरार्डले दोस्रो हाफ सुरु भएको एक मिनेट पनि बित्न नपाउँदै गोल गरेका थिए ।
तर त्यसको चार मिनेट पनि बित्न नपाउँदै म्यान युले ब्राजिलियन स्टार राफायलको गोलमार्फत खेल बराबरीमा ल्याइपुर्‍याएको थियो । जापानी मिडफिल्डर सिन्जी कागवाको पासमा राफायलले गोल गरी म्यान युमाथिको दबाब कम गरेका थिए । पाँच खेलपछि १२ अंक जोडेको म्यान यु अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । पाँच खेलबाट १३ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ ।

बार्सिलोनाको शत प्रतिशत नतिजा
म्याड्रिड । ग्रेनाडालाई २–० ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस लिगमा शत प्रतिशत नतिजा ल्याउने क्रमलाई कायमै राखेको छ । बार्सिलोनाले एक आत्मघातीसहित निर्धारित समयको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । ८७आँै मिनेटमा जावी हर्नान्डिजले एकल प्रयासमा गोल गरी बार्सिलोनालाई अन्तिम समयमा सुरुआती अग्रता दिलाएका थिए । ९०आँै मिनेटमा बोर्जा गोमेजले आत्मघाती गोल गरेका हुन् । लिगको चालु सिजनमा पाँच खेल खेलिसक्दा बार्सिलोना सबैमा विजयी भएको छ । मालोर्का ११ अंकसहित दोस्रोमा छ । शनिबार राति भएको अर्को खेलमा मालोर्काले भ्यालेन्सियालाई २–० ले पराजित गर्‍यो । विजयी टोलीका लागि आठौँ मिनेटमा भिक्टोर र ५५आँै मिनेटमा एन्जेल जेभियर अजिरमेन्दीले गोल गरे । चालु लिगमा कुनै खेल नहारेको मालोर्काले दुई बराबरी पनि खेलेको छ ।
युभेन्ट्स पनि त्यस्तै
फावियो क्वाग्लिआरेल्लाको सानदार प्रदर्शनमा चिएभोलाई हराउँदै युभेन्ट्सले इटालियन सेरी एमा विजयी यात्रा कायम राखेको छ । चालु लिगमा चौथो खेलमा पनि विजयी हुने क्रममा साविक विजेता युभेन्ट्सका लागि क्वाग्लिआरेल्लाले दुवै गोल गरेका थिए । ६३आँै मिनेटमा सुरुआती अग्रता लिएको युभेन्ट्सले त्यसको पाँच मिनेटपछि अग्रता दोब्बर बनाएको थियो । फिओरेन्टिना भने पार्मासँग १–१ ले बराबरीमा रोकियो । ९०आँै मिनेटमा पेनाल्टीमार्फत गोल गरी पार्माले अंक लिएको हो । निकै तनावपूर्ण रहेको उक्त खेलमा दुवै टोली एक–एकपटक पेनाल्टीमा चुके । ८८आँै मिनेटमा पार्माका अलिआन्द्रो रोसीले सोझै रातो कार्ड पाएपछि प्राप्त पेनाल्टीमा स्टेभान जोभेटिक चुकेका हुन् । त्यसको दुई मिनेटपछि नै लुका टोनीले डी–बक्सभित्र फल गरेपछि पार्माले पेनाल्टी पाएको थियो र यसपटक जैम भाल्डेस चुकेनन् ।
अन्य खेलमा दुई ठूला क्लब इन्टरमिलान र एसी मिलानले हार व्यहोरे । अन्तिम २० मिनेटमा दुई गोल गर्दै सिएनाले इन्टरमिलानलाई २–० ले पराजित गर्‍यो । नौ खेलाडीमा सीमित एसी मिलान युडिनिजीविरुद्धको खेलमा २–१ ले निराश भएको हो । एजेन्सी

प्रतिक्रिया