गुणस्तरहीन ट्रान्सफर्मरले बर्सेनि दुई अर्ब घाटा

काठमाडौं, ८ असोज । नेपाल विद्युत् प्राधिकरणको चुहावट नघट्नुमा गुणस्तरहीन ट्रान्सफर्मर नै मुख्य कारणका रूपमा देखिएको छ । सोही कारण प्राधिकरणले बर्सेनि दुई अर्ब रुपियाँ भन्दा बढी प्राधिकरणले घाटा बेहोर्दै आएको छ ।

प्राविधिक चुहावट बढेपछि प्राधिकरणले गरेको अध्ययनमा ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भएकाले चुहावट बढेको उल्लेख छ । ०६४ सालयता विभिन्न कम्पनीबाट खरिद गरिएका ट्रान्सफर्मरबारे ०६७ सालमा पूर्वसञ्चालक सदस्य मुकेश काफ्लेको संयोजकत्वमा रहेको र ०६९ साल जेठमा सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा रहेको समितिले गुणस्तरहीन ट्रान्सफर्मरका कारण विद्युत्को चुहावट (लस) बढी भएको उल्लेख गरेका छन् ।
प्राधिकरणको अध्ययन प्रतिवेदनको आधारमा ०६४ सालयता मात्र गुणस्तरहीन ट्रान्सफर्मरको उपयोग गर्दा करिब १० अर्ब रुपियाँभन्दा बढी घाटा प्राधिकरणले बेहोरिसकेको छ । प्राधिकरणका अनुसार २६ दशमलव ४३ प्रतिशत चुहावट छ भने त्यसमा करिब १५ प्रतिशत प्राविधिक चुहावट मात्र छ । प्राविधिक चुहावटका कारणले प्राधिकरणले बर्सेनि करिब साढे तीन अर्ब घाटा बेर्होर्नुपरेको छ । ‘गुणस्तरहीन ट्रान्सफर्मरले मात्र १० प्रतिशतभन्दा बढी चुहावट र यसले गर्दा बर्सेनि प्राधिकरणले दुई अर्बभन्दा बढी घाटा बेहोर्नुपरेको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘कर्मचारीको मिलेमतोविना कुनै पनि कम्पनीले कमसल र गुणस्तरहीन ट्रान्सफर्मर पठाउन सक्दैनन् तर अहिले प्राधिकरणले यसमा संलग्न दोषीलाई उन्मुक्ति दिन खोज्दैछ ।’ उनका अनुसार कर्मचारीलाई उन्मुक्ति दिएमा चुहावट नियन्त्रणलाई ठूलो धक्का पर्नेछ र चुहावट बढाउन कारण देखिएका विद्युत्को तार, पोललगायत अन्य गुणस्तरहीन उपकरणको छानबिनका लागि ढोका बन्द हुनेछ । आर्थिक चलखेल र कमिसनका कारणले विनापरीक्षण ट्रान्सफर्मर, तारलगायत उपयोग गरिएकाले पनि चुहावट बढ्ने गरेको पाइएको छ । गत वर्षदेखि पाँच वर्षभित्र २९ प्रतिशत रहेको चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको छ तर प्राधिकरणले लक्ष्य हासिल गर्न सकेको छैन । चोरी चुहावटमा केही प्रगति भए पनि प्राविधिक चुहावट नघट्दा प्राधिकरणले अर्बौं घाटा बेहोर्नुपरेको हो ।
०६७/६८ मा २८ दशमलव ३५ प्रतिशत रहेको चुहावटलाई नियन्त्रण गरी ०६८/६९ मा २५.३५ प्रतिशतमा झार्ने लक्ष्य भए पनि यो वर्ष २६ दशमलव ५ प्रतिशतमा मात्र झरेको प्राधिकरणले जनाएको छ । आगामी ०६९/७० मा २३ प्रतिशतमा झार्ने पञ्चवर्षीय रणनीतिक लक्ष्य भए पनि त्यो सम्भावना कम छ । त्यसैगरी ०७०/७१ मा २२ प्रतिशत, ०७१/७२ मा २१ प्रतिशत र ०७२/७३ मा २० प्रतिशत झार्ने लक्ष्य छ । ‘चोरी घटाउनका लागि प्राविधिक चुहावटलाई फोकस गर्नुपर्छ, त्यसमा फोकस गर्दा गुणस्तरहीन ट्रान्सफर्मर, तार, पावर ट्रान्सफर्मर मिटर बक्सबारे सार्वजनिक हुने डरले कसैले वास्ता गरेका छैनन्,’ प्राधिकरणका एक अधिकारीले भने । दुलाल प्रतिवेदनले ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदनपछि अर्का सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठलगायत ३० भन्दा बढी कर्मचारीलाई दोषी देखाएको थियो । श्रेष्ठलाई सञ्चालक समितिले नै स्पष्टीकरण चित्त बुझ्दो भन्दै सफाइ दिएपछि अहिले ट्रान्सफर्मर प्रकरणमा संलग्नले उन्मुक्ति पाउने र प्राविधिक चुहावट घटाउनका लागि मुख्य अभियान असफल हुने देखिएको छ । ‘प्रतिवेदनअनुसार नै कारबाही भएको भए त्यसले चुहावट घटाउन ठूलो सहयोग गर्दथ्यो, ट्रान्सफर्मरमा चलखेल गर्न खोज्ने निरुत्साहित हुन्थे, सञ्चालकको सफाइ निर्णयले चुहावट नियन्त्रण कार्यक्रममा धक्का लागेको छ,’ उनले भने ।
प्राधिकरणले चुहावट महाशाखा पनि चोरी नियन्त्रणमै बढी सक्रिय छ । ०६८ देखि गत साउनसम्म प्राधिकरण चुहावट महाशाखाले चोरी गर्ने पत्ता लगाई ११ करोड २८ लाख रुपियाँ बराबरको चोरी चुहावटबापतको रकम उठाइसकेको छ । ‘हामी विद्युत् चोरी नियन्त्रणमा बढी सक्रिय छौँ, करोडभन्दा बढी रकम संकलन पनि गरिसक्यौँ,’ महाशाखा प्रमुख दीपक आचार्य भन्छन् ।
महाशाखाका अनुसार वीरगन्ज केन्द्रअन्तर्गत मात्र ६ करोड १६ लाख, धादिङअन्तर्गत ९६ लाख, कृष्णनगर केन्द्रअन्तर्गत ६७ लाख, भरतपुर केन्द्रअन्तर्गत ५० लाख, गोर्खा केन्द्रअन्तर्गत ४६ लाख रकम बराबर चोरीबापत विद्युत् रकम उठाइसकेको छ । चोरी विद्युत् नियन्त्रणमा लक्ष्यअनुसार प्रगति नभए पनि केही प्रगति भने भएको छ तर प्राविधिक चुहावट भने घट्न सकेको छैन । गुणस्तर ट्रान्सफर्मरविना प्राविधिक चुहावट कम गर्न कठिन भए पनि अहिले गुणस्तरहीन ट्रान्सफर्मरका दोषीमाथि कडा कारबाही नगर्ने संकेत देखिएपछि चुहावटको कारण थलिएको प्राधिकरणका धेरै अधिकारी चिन्तित बनेका छन् ।
तीन महाप्रबन्धकलाई स्पष्टीकरण

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले गुणस्तरहीन ट्रान्सफरमर प्रकरणमा तीन महाप्रबन्धकलाई स्पष्टीकरण सोधेका छन् । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक श्रेष्ठलाई सफाइ दिँदै बाँकी कर्मचारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आइतबार श्रेष्ठले तीन महाप्रबन्धलाई स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरण सोधिएका महाप्रबन्धकमा ग्राहक तथा वितरण शाखा पूर्वका महाप्रबन्धक चिरन्जीवी शर्मा पौडेल, पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्ट र प्रसारणका महाप्रबन्धक गणेशप्रसाद राज रहेको स्रोतले बतायो । (सौस)

प्रतिक्रिया