नाम उल्ट्याउन सिपालु श्रीधर


के मात्र गरेनन् साहित्यकार श्रीधर खनालले ? त्यसैले त उनको परिचयले अनेक हाँगाबिँगा फैलाएको छ अहिले । उनले हात हालेका क्षेत्र मात्र उल्लेख गर्ने हो भने पनि एकै सासमा सम्भव छैन । वरिष्ठ निबन्धकार, स्वतन्त्र पत्रकार, चलचित्र लेखक, ‘संरक्षण’ साप्ताहिकका सम्पादक–प्रकाशक, कवि, गीतकार, निर्देशक, अभिनेताका रूपमा चिनिएका उनी हास्यव्यंग्य क्षेत्रका पनि हस्ति हुन् । घरी जासुसी उपन्यास लेखेर तहल्का मच्चाए त घरी प्यारोडी गीत लेखेर सनसनी फैलाए । शिक्षक हुँदै प्रधानाध्यापक बनेर स्कुल सञ्चालनको अभिभारासमेत पूरा गरिसकेका उनलाई सर्वगुणसम्पन्न व्यक्ति भन्छन् कसैकसैले । यीमध्ये उनका थुप्रै कुरा अब अतीत भइसकेका छन् । अहिले ८१ वर्षमा हिँड्दै छन्, श्रीधर उर्फ दीर्घबाहु । ५ छोरा (एक जनाको निधन), एक छोरी, छ नातिनातिना अनि दुई पनातिनीले भरिभराउ परिवार अहिले बुढेसकालमा रमाउने माध्यम बनिरहेको छ उनका लागि । हाल धर्मपत्नीका साथ काठमाडांै जयवागेश्वरीमा बस्दा रहेछन् श्रीधर ।
सानो छँदा उनी हजुरआमासँग सुत्थे । हजुरआमा बिहान तीनै बजे उठ्नुहुन्थ्यो । त्यही बानी उनमा पनि नानीदेखि जवानी हुँदै वृद्ध बेलासम्मै कायम भएको रहेछ । उठेर कपालभाँती, प्राणायाम अनि हल्का व्यायामसमेत गर्छन् । ‘खानामा हरियोपरियो साग मन पराउँछु, नित्यकर्मको माग आएपछि जान्छु’ भन्दै ठट्टाको गट्टा पनि उफार्न भ्याउँछन् उनी । भैरव अर्यालको हास्यव्यंग्य मन पराउने खनाल भन्छन्, ‘भैरव मलाई दाइ भन्थे । गोरखापत्रमा लेखरचना दिन जाँदा कफ आउन्जेल भैरवसँग गफ हुन्थ्यो ।’ भेट नभएका बेला अर्याल र खनाल फोनमै रमाइलो र दु:खसुखका कुरा गर्थे रे † एकचोटि धेरै दिनपछि खनालले अर्याललाई फोन गरेछन् । तर, अरू कसैको जस्तो आवाज सुनेर छक्क मात्रै होइन, पक्क पनि परेछन् र फोनमै पड्किन थालेछन्, ‘तिमी फोन उठाउने को हँ † झट्ट अलवर भैयालाई फोन दिइहाल ।’
गाँठी कुरोचाहिँ के भएको रहेछ भने भैरवको घाँटीमा केही समस्या थियो । उनी मिहिन अनि आइमाईको जस्तो मसिनो स्वरमा बोल्थे । तर, उनी जर्मनी गएर उपचार गराएर फर्किएका रहेछन् । अब उनको स्वर कडा, खुकुलो र मोटो भएको रहेछ । त्यही भएर खनाल झुक्किएका रहेछन् । आÏनो नामका अक्षरलाई यताउता पारेर ‘अलवर भैया’ भनेको सुन्दा भैरव अर्याल पनि दंग परेका थिए रे † मानिसको राम्रो र प्यारो नामलाई उल्टोपाल्टो पारेर पनि कर्णप्रिय शब्द बनाउन सक्ने खुबी उनमा पहिल्यदेखि रहेछ । एकपटक उनले रामराज पौड्यालको नाम ‘जरामरा लड्यापौ’ बनाएछन् । आफ्नो नयाँ नाम सुनेर पौड्याल दंग परेछन् अनि बडो हार्दिकतासाथ हात मिलाउँदै खनाललाई धाप मारेका थिए रे † भवानी भिक्षुको नाम बनाएछन्– भिनिवा भक्छु । यो सुनेर भिक्षुले भनेछन्– ‘खनाल, आप तो कमाल दाते हैँ ।’ उनले बालमुकुन्ददेव पाण्डेको नाम ‘मुन्ने पाँडे बन्द कुबाल’ अनि किरण खरेलको नाम ‘रिकरण रखेल’ बनाएछन् । आफूलाई पनि छोडेनछन् श्रीधरले, बनाएछन्– ‘श्रीखल धरना’ ।
राति १० बजे सुत्ने, दिउँसो सुत्न झ्याउ मान्ने, दिनको एउटा स्याउ खाने खनाल ०११ सालमा पोखरामा सहायक प्रधानाध्यापक थिए । त्यहाँ एउटा साधु पनि थिए । ती साधु आफूलाई ब्रह्मचारी भन्थे तर व्यवहार ठ्याक्कै उल्टो थियो । उनी नांलेपसलकी केटी र आइमाईसँग छिल्लिएका कुरा गर्थे । त्यसो ढोँगी साधुको कैरन देखेर खनाललाई बडो अचम्म लाग्थ्यो । पछि ‘माइतीघर’ फिल्मको कथा संशोधक र संवाद लेखकका नाताले उनी बम्बई पुगेका थिए । त्यहाँ एउटा भेलामा हिन्दी फिल्मका सुप्रसिद्ध गायक मुकेशले गाएको गीत अर्का एक गायकले गाए–
सबकुछ सिखा मैने, न सिखी होसियारी
सच है दुनियाँवाले कि हम है अनाडी ।
माला सिन्हाका बाबु अल्बर्ट सिन्हाले खनाललाई यो गीतको प्यारोडी बनाउन भनेछन् । खनालले पोखराको त्यही ढोँगी साधुलाई सम्झेर फटाफट तयार पारे–
‘अरू सब जोरे मैले जोरिन एउटै नारी
सुन हे दुनियाँ सारा † कि म हुँ ब्रह्मचारी ।’
यो सुनेर अल्बर्ट सिन्हा खुसीले गदगद भएका थिए रे †
खनाल शरीरलाई आरोग्य राख्न शिलाजित र अश्वगन्धाको निरन्तर सेवन गर्छन् । पहिला खलखल पसिना आउने गरी टाढासम्म प्रात: भ्रमण गर्थे, अहिले छेउछाउतिरै हलचल गरी ऐच्छिक भ्रमण गर्छन् । मधुमेह भए पनि घरेलु औषधि खाएर चिनीरोगलाई वशमा राख्छन् । ‘१५ वर्षअघि सुगर भयो, मलाई आँप असाध्यै मन पथ्र्यो । अहिले आँप आकाशको फल आँखा तरी मर भएको छ । के गर्नु, लाटाले पापा हेरेझैँ टाढाबाट हेर्न मात्रै हुन्छ, खान हुँदैन । रोगले भोक देखाएपछि कसैको दाल गल्दैन,’ खनाल हाँस्दै भनिरहेका थिए । कुनै बेला खसीको कबाफ मन पराउने, अहिले मासुको बाफ आए पनि पेट अघाउने, सकभर मासु खान नपरोस् भनिठान्ने, आइहाले एक–दुई टुक्रा खाई पनि हाल्ने उनको बानी बसेको छ । उनी मासुबारे आशुकविता बनाउँदै सुनाउँछन्,
‘अल्छीको तिघ्रो चल्दैन
लोभीको जिब्रो अड्दैन
खसीको मासु खानेले
मान्छेको मासु छाड्दैन ।’
०१४ सालको कुरा हो । खनाल दाङबाट घोडामा माल्टा जाँदै थिए । घोडा आफ्नै तालमा पैयाँ मार्दै उकालो चढिरहेको थियो । उकालो सकिन लागेको थियो । सामुन्ने एउटा छाप्रो देखेर घोडा हिनहिनायो र फरक्क फर्केर ओह्रालोतिर दौडिन थाल्यो । ‘लौ आज घोडाले बिताउने भयो, लडाएर यहीँ मार्ने भयो,’ खनाल सोचिरहेका थिए । त्यही बेला उकालो चढिरहेका दुई घोडचढीले खनालको घोडालाई बल्लतल्ल छेक थुन गरेछन् । खनालले गहिरो सास फाल्दै खोकेर भने, ‘छाप्रो देखेर घोडा बिच्केको रहेछ ।’
तीन भाइ फेरि उकालो चढ्न थाले । छाप्रोतिर पुगेर घोडा टक्क अडियो, डेग बढाएन । तीनैजना घोडालाई बाँधेर छाप्रोमा गएछन् । त्यहाँ त चितुवाको छाला सुकाउन झुन्ड्याएर राखिएको रहेछ । घोडा त्यही देखेर बिच्केको रहेछ । छाप्रो एक बूढी आमैको थियो । सुरुमा त उनले चितुवाको छाला हटाउनै मानिनन् । अनेक बिन्तीभाउ गरेपछि बल्ल भित्र राखिन् । त्यसपछि मात्रै घोडा वेग मार्दै दौडियो ।
खनाल बालवय सम्झिँदै भन्छन्, ‘हाल दशरथ रंगशाला भएको ठाउँलाई सानो टुँडिखेल भन्थे । त्यहाँ एउटा पोखरी थियो । त्यहाँ रंगीचंगी माछाका प्रशस्तै भुरा हुन्थे ।’ त्यो पोखरी सेनाको अधीनमा थियो । उनी र उनका साथी शिव पोखरेल (वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलका दाजु) छुट्टाछुट्टै सिसी लिएर माछा समाउन पुगेछन् । उनीहरू पोखरीमा पसेर माछाको भुरा समाउँदै थिए, कुन्नि कताबाट एउटा सिपाही आएर करायो, ‘ए भुराहरू † माछाका भुरा किन समाएका, झट्टै पोखरीमा हाल्दिहाल ।’
मन नलागीनलागी पोखरीमा माछा हालेपछि उनीहरू बाहिर आए । सिपाहीले दुवै हातले दुवैजनाको कमिजको कठालो समातेर ‘तिमीहरूलाई तुरुङमा नहाली छाड्दिनँ’ भन्दै एकातिर घिच्याउन थाल्यो । फुच्चे खनाललाई आफ्नो कठालो अलि खुकुलो भएजस्तो लाग्यो । मौका यही हो चौका ठोक्नैपर्छ भन्ने ठानेर उनी पत्तातोडले कस्तो भागे भने च्यातिएको कमिज उनको साथमा अनि कठालोचाहिँ सिपाहीको हातमा । कस्तो स्वामीभक्त र क्रूर सिपाही रहेछ भने अर्का साथी शिवलाई मध्यरातमा मात्रै छाडिदिएछ ।
‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’, चलचित्र माइतीघरको यो गीतको प्यारोडी उनले यस्तो बनाएका रहेछन्,
म नाक बेचिदिन्छु, म कान बेचिदिन्छु
को किन्छ मेरो शिरको कपाल बेचिदिन्छु ।
ढिला भएकाले श्रीधर खनालज्यूलाई अभिभावदन गर्दै ‘हवस् त म कपाल किन्ने हजाम पठाइदिन्छु’ भन्दै बाहिरिएँ ।

प्रतिक्रिया