पोखरामा पूर्वराजा र प्रचण्डको जम्काभेट

पोखरा, ८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डबीच आइतबार पोखरामा जम्काभेट भएको छ । स्याङ्जाको धार्मिक भ्रमण सकेर पोखरा फर्किंदै गरेका पूर्वराजा शाह र पोखराबाट अनदु डाँडा शान्ति स्तुपतर्फ जाँदै गरेका प्रचण्डबीच सिद्धार्थ राजमार्गस्थित खाडेखोलानजिकै साँझ जम्काभेट भएको हो । प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच एकअर्काको गाडीबाट हेराहेर भएको थियो ।

सुरुमा कुन भिआइपीको सवारी हो भनी अन्योलमा रहेका शिवसेनाका कार्यकर्ता प्रचण्ड भन्ने थाहा पाएपछि राजतन्त्रको पक्षमा नाराबाजी गर्न थालेका थिए । त्यतिबेला पूर्वराजाको गाडी अगाडि हुइँकिइसकेको थियो । तर, प्रचण्डको गाडी बीचमा परेपछि उनलाई क्रस गराउन सुरक्षाकर्मीलाई हम्मे–हम्मे पर्‍यो । उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सवारीसाधनबाट ओर्लेरै व्यवस्थापन गर्नुपरेको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार कास्कीको अन्तुडाँडास्थित पिस ड्रागन लजमा बसेका छन् । उनको पोखरा आगमनको उद्देश्य खुल्न सकेको छैन । यता, जिल्लास्थित सुरक्षा निकायले भने प्रचण्ड पोखरा आएको सुनेको तर सुरक्षा निकायलाई भ्रमणबारे कुनै जानकारी नभएको जनाएको छ । पोखरा विमानस्थल सम्याउने र तारवार गर्ने ठेक्का पाएको चिनीया ठेकेदार कम्पनीसंग एमाओवादीले कमिसन लिएकोबारे पोखरामा बहस चलिरहेका बेला प्रचण्डको आगमनलाई महत्वका साथ हेरीएको छ । एमाओवादीका तर्फबाट पूर्व सभासद राजकाजी गुरुङ्ले ५०लाख रुपैयाा कमिसन लिएको विषयलाई लिएर निर्णय अनुरुप नै केही रकम लिइएको भनेपछि यस क्षेत्रमा माओवादीको तीब्र आलोचना भइरहेको छ ।
प्रचण्ड पारिवारिक झमेला मिलाउन आएको हुन सक्ने पनि अनुमान गरिएको छ । उनका छोरा प्रकाशको ससुराली कास्कीको हेम्जा हो । तर एमाओवादी कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले प्रचण्ड आराम गर्नको लागि आएको वताएका छन् । उनले कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिए । प्रचण्डको पोखरा बसाई कति समयको हुने भनेर समेत तिवारीले खुलाउन चाहेनन् ।
काठमाडौंस्थित प्रचण्डको नीजि सचिवालयले भने स्वास्थ्य समस्या भएकाले आराम गर्न मात्र पोखरा गएको बतायो । स्रोतका अनुसार प्रचण्डका साथमा उनकी पत्नी सिता र सचिवालय सदस्य मात्र छन् । ‘काठमाडौंमा बिरामी अवस्थामा पनि आराम गर्न नपाइने भएकाले (पोखरा) जानुभएको हो, अरु कुनै प्रयोजन छैन,’ सचिवालय स्रोतले भन्यो ।
माओवादी विरोधका बीच पूर्वराजाको स्याङ्जा भ्रमण 

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्तारूढ दल एमाओवादीको विरोधका बाबजुद आइतबार स्याङ्जाको धार्मिक भ्रमण गरेका छन् । पूर्वराजाको स्याङ्जा भ्रमणलाई लक्ष्य गरी एमाओवादीका विभिन्न ६ भ्रातृसंगठनले आइतबार ६ घन्टे बन्द आह्वान गरेका थिए । एमाओवादीले बन्द निर्धारित समयभन्दा पहिल्यै फिर्ता लिएको भए पनि झडप हुने सम्भावना देखेर प्रशासनले पूर्वराजाको भ्रमण अवधिभर स्याङ्जामा कडा सुरक्षा व्यवस्था गरेको थियो ।
फिस्टेल लजमा बसेका पूर्वराजा दिउँसो १:३० बजे शिवसेना नेपाल र प्रहरीको स्कर्टिङका बीच स्याङ्जा पुगेका थिए । पूर्वराजालाई कास्कीको सिमानासम्म उनको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीका अलावा नेपाल प्रहरीले समेत स्कर्टिङ गरेर पुर्‍याएको थियो । स्याङ्जामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । सशस्त्र प्रहरी बल वालिङका प्रहरी नायब उपरीक्षक कमल गैरेले झडप हुने अवस्था नआओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
पूर्वराजाले स्याङ्जाको गुणीखोलास्थित धनुषेश्वर शिवालय मन्दिरको दर्शन गर्नुका साथै स्याङ्जा बजारमा रहेको बालमन्दिरमा पुगी स्थानीय समर्थक तथा शुभेच्छुकसँग भेटघाट गरेका छन् । मन्दिरमा करिब ४० मिनेट पूजाआजा गरी उनी स्याङ्जा बजार पुगेका थिए । मन्दिर दर्शन गर्नुअघि १५ मिनेट पैदल यात्रा गरी आफ्ना समर्थक तथा शुभेच्छुकबाट उनले फूलगुच्छा लिएका थिए । सदरमुकाम स्याङ्जा बजारमा पनि उनले एक किलोमिटरभन्दा धेरै पैदल यात्रा गरेका थिए । भेटका क्रममा अधिकांशले दलहरूले देशलाई बर्बादीतर्फ धकेलेको भन्दै सक्रिय हुन उनलाई आग्रह गरेका थिए । स्याङ्जामा उनलाई स्वागत गर्न लामबद्ध समर्थकहरूले ०४७ को संविधान जारी गर, राजतन्त्रसहितको प्रजातन्त्रको व्यवस्था गर, जनताले के भन्छ, राजतन्त्र ले भन्छ र श्री ५ महाराजाधिराज सरकारको जयलगायत नारा लगाएका थिए । स्याङ्जामा गठित स्वागत समितिका केही पदाधिकारीले भिडलाई पूर्वश्री ५ भन्न आग्रह गर्दा उनीहरूले आयोजकप्रति नै आक्रोश पोख्दै महाराजाधिराज भन्दै नाराबाजी गरेका थिए । शाहले स्याङ्जाको बालमन्दिरमा केहीबेर पत्रकारको उपस्थितिमा आफ्ना समर्थकसँग छुट्टै भेटेका थिए । उनी आइतबार नै पोखरा फर्किएका हुन् ।
पूर्वराजाले सोमबार तनहुाको दमौलीमा पञ्चमन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनी सोमबार दिउँसो एक बजे पोखराबाट तनहुँका लागि हिँड्नेछन् । असोज ९ गते भने उनले पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर दर्शनका लागि नालाकोमुखदेखि करिब १५ मिनेट पैदलयात्रा गर्ने कार्यक्रम रहेको स्वागत समितिका सहसंयोजक केशव भण्डारीले जानकारी दिए । यसअघि उनले शनिबार बाग्लुङ र पर्वतको भ्रमण गरेका थिए । पूर्वराजा शाह ११ गते राजधानी फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया