घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा

काठमाडौं, ८ असोज । कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो ।
सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय वासस्थानमा सुधार आएकाले नयाँ मात्र होइन, महत्त्वपूर्ण प्रजातिका चरा फेला परेको संघका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरीको भनाइ छ । ‘वासस्थान सुधार भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोपोन्मुख चरासमेत फेला परेका छन्,’ अध्ययनमा संलग्न ठकुरीले सौर्यसँग भने ‘पहिलाभन्दा थप ८६ नयाँ प्रजातिका चरा फेला पर्नु राम्रो संकेत हो ।’
तीन महिनाअघि गरिएको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लोपोन्मुख १८ प्रजातिका चरा फेला परेका छन् । लुइँचे, नकटा, हरिहाँस, मालक हाँस, जल अप्सरा, दोयम हुटिट्याउँ, खोला हुटिट्याउँ र कुरारी ºयाºयाले लोपोन्मुख हुन् । त्यस्तै, माछाकुल, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, सिम भुइँचिल, आब्लाक पेटाहा भुइँचिल, लघु महाचिल, सुइरोठुँडे, घुँगिफोर गरुड र भुँडीफोर गरुड छन् ।
घोडाघोडी ताललाई त्यहाँका जैविक विविधता र सामाजिक एवं सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर १३ अगस्ट २००३ मा विश्व रामसार सूचीमा सुचीकृत गरिएको थियो । सन् २००५ मा नेपालको महत्त्वपूर्ण पक्षी अवलोकन क्षेत्र घोषणा गरिएको थियो । ताल क्षेत्रमा २० साना–ठूला तालसहित जंगल, घाँसेमैदान र खेतीयोग्य जमिन समेटिएको छ । घोडाघोडी ताल खडखडे हाँस, सिन्दुरे हाँस, हरियो टाउके, नादुन हाँस, बेल्चाठुँडे हाँस, सुइरो पुच्छ्रे, श्वेताँखिभौ, बिजुला गौरौ, सुनजुरे हाँस, कैलोटाउके हाँस र कालिजुरे हाँसजस्ता पानीमा बस्ने हिउँदे चराको समेत महत्त्वपूर्ण क्षेत्र हो । दक्षिण एसियाका जम्मा हरिहाँसको एक प्रतिशत संख्या घोडाघोडीमा हुनाले हरिहाँसलाई घोडाघोडीको सूचक प्रजाति मानिन्छ ।

प्रतिक्रिया