सुकुम्बासी आयोगमा दुई अध्यक्ष

नेपालगन्ज, ८ असोज । दुई अध्यक्षका कारण सुकम्बासीको समस्या समाधान गर्न बनेको सुकुम्बासी समस्या समाधान आयोग आफै समस्यामा परेको छ । फरक पार्टीका दुई जनाले अध्यक्षमा आ–आफ्नो आधिकारिकता दाबी गरेपछि सुकुम्बासी समस्या समाधान आयोग आफै समस्यामा परेको हो ।

एकीकृत माओवादीका सन्तोष बस्नेत र नेकपा (संयुक्त) का मोहन सोनखर दुवैले आफू अध्यक्ष भएको दाबी गरिरहेका छन् । दुवैजनाले अध्यक्षको नियुक्तिपत्र बोकेर हिँडेका छन् । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यसमिति बाँकेका पूर्वअध्यक्षसमेत रहेका बस्नेत अहिले निरन्तर कार्यालयमा आइरहेका छन् भने सोनखर जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । ‘कार्यालयमा छिरे खुट्टा काट्ने धम्की आइरहेको छ,’ सोनखरले भने, ‘त्यही भएर कार्यालय नगई यसरी बाहिर बसिरहेको छु ।’ सोनखरले २८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले आफूलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको पत्र देखाए । ‘२८ भदौबाट लागू हुने गरी १६ मंसिरसम्मका लागि भनेर मलाई नियुक्तिपत्र दिइएको छ,’ सोनखरले भने, ‘नियुक्तिपत्र बुझेर काठमाडौंबाट नेपालगन्ज आउँदै थिएँ, यहाँ त अर्कै पो अध्यक्ष भइसकेका रहेछन् ।’ सोनखरले आफू नै अध्यक्ष भएको दाबी गरे पनि बस्नेतले भने उनलाई अध्यक्ष बनाउने निर्णय खारेज भइसकेको बताउँदै आएका छन् ।
कामविशेष बताउँदै आइतबार कार्यालयमा उपस्थित हुन नसकेका बस्नेतको मोबाइल फोन अफ थियो । उनीसँग सम्पर्क नभएपछि उनले नियुक्तिपत्र पाउँदा सँगै रहेका एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय सदस्य अमर परियारले बस्नेत नै अध्यक्ष भएको दाबी गरे । उनले भने, ‘सोनखरजीलाई अध्यक्ष बनाउने निर्णय खारेज गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सन्तोषजीलाई अध्यक्षको जिम्मेवारी दिइसकेको छ । यसमा कुनै विवाद छैन ।’
परियारले अध्यक्ष बनाउने निर्णय खारेज भएर नयाँलाई जिम्मेवारी दिइसकेपछि पनि आफूलाई अध्यक्षको दाबी गरेर सोनखरले विवाद बढाउने काम गरेको आरोप लगाए । ‘यो विवादले सोनखरजीलाई नङ्गयाउनेछ,’ उनले भने, ‘अनावश्यक विवाद गर्नु आवश्यक छैन ।’ अघिल्लो कार्यकालमा अध्यक्ष भइसकेका माओवादीका बस्नेतको समायवधि साउनमा सकिएको थियो । त्यसयता नेकपा (संयुक्त) का अध्यक्षसमेत रहेका चन्द्रदेव जोशी भूमिसुधार तथा व्यवस्थामन्त्री भएपछि उनले जिल्लामा आफ्ना नेताहरूलाई सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष बनाएका थिए ।

प्रतिक्रिया