डलरको तुलनामा नेपाली रुपियाँ महँगो

काठमाडौं, ७ असोज । भारतीय रुपियाँ बलियो हुँदै गएपछि विस्तारै नेपाली रुपियाँ पनि अमेरिकी डलरका तुलनामा बलियो हँुदै गएको छ । पाँच महिनामा नेपाली रुपियाँ अमेरिकी डलरका तुलनामा पाँच रुपियाँले महँगो भएको छ । पाँच महिनाअघि ९१ रुपियाँ ८८ पैसासम्म पुगेको अमेरिकी डलरको बिनिमय दर डलर शनिबार ८६ रुपियाँ ८ पैसा पुगेको छ । गत सोमबारको मूल्य ८७ रुपियाँ १९ पैसा थियो । चार महिनाअघि डलरको मूल्य बढेर ९१ रुपियाँ ८८ पैसासम्म पुगेको थियो ।
अमेरिकाले बेरोजगारी दर नघटेसम्म आर्थिक सहायता जारी राख्ने भएपछि भारु बलियो भएको हो । भारु बलियो हुँदा नेपाली रुपियाँसँग स्थिर विनिमयका कारण नेपाली रुपियाँ पनि डलरका तुलनामा बलियो भएको हो । डलरको मूल्य अझ घट्ने समाचार एजेन्सीले जनाएका छन् । अमेरिकामा आर्थिक सुधारको प्याकेजलाई जारी राख्ने त्यहाँको सरकारको घोषणा र भारतमा पनि वैदेशिक लगानीलाई पलायन हुन नदिने एवं आर्थिक सुधारका कायक्रम सुरु गर्ने घोषणासँगै डलर कमजोर भएको थियो भने भारु बलियो बनेको थियो । गत शुक्रबार भारु प्रतिडलर ५३ रुपियाँ ४५ मा कारोबार भएको थियो । भारतमा शुक्रबार भारु प्रतिडलरमा झन्डै ९० पैसाको वृद्धि भएको थियो । विश्लेषकले छिट्टै डलरको तुलनामा भारु ५२ दशमलव ७० को तहमा पुग्ने अनुमान गरेका छन् । त्यसको अर्थ नेपालमा डलर ८४ रुपियाँका हाराहारीमा पुग्नु हो । आइतबार नेपाली मुद्रा अझ अधिमूल्यन हुने सम्भावना रहेको मुद्रा विज्ञहरूले बताएका छन् । बिहीबार प्रतिडलर ५४.३८ भारुमा कारोबार भएको थियो ।
डलर कारोबार गर्ने ठूला बैंकमध्येको नेपाल इन्भेस्टमेन्ट बैंकले शनिबार राष्ट्र बैंकले तोकेभन्दा १८ पैसा कम ८५ रुपियाँ ९० पैसामा कारोबार गरेको छ । इन्भेस्टमेन्टले ८५ रुपियाँ ३० पैसामा खरिद र ८५ रुपियाँ ९० पैसा बिक्रीदर तोकेको हो । डलरसँगको कारोबारमा नेपाली रुपियाँ ८५ रुपियाँ तल आएको पाँच महिनापछि पहिलोपटक हो ।
भारतमा पेट्रोलियम पदार्थमा दिएको अनुदान घटाउने र खुद्रा कारोबारमा विदेशी लगानी भित्रयाउने निर्णयपछि भारुको अधिमूल्यन सुरु भएको हो । यो निर्णयपछि बितेको एक सातामा विनिमय कारोबारीले आठ हजार करोड रुपियाँ यो डलर कारोबारमा लगानी गरिसकेका छन् । डलर कमजोर भएसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) कम हुन्छ । गत आवमा अमेरिकी डलरका तुलनामा नेपाली रुपियाँको अवमूल्यन भएका कारण नेपालमा करिब साढे ३ खर्बको रेमिट्यान्स भित्रिएको थियो । डलर सस्तो हँुदा बाहिर पढ्न जाने विद्यार्थी, औषधि उपचार र घुम्न जानेहरूलाई राहत मिल्छ । त्यस्तै सरकारले तिर्नुपर्ने वैदेशिक ऋणको भार पनि कम पर्छ । नेपालको कुल बजेटको उल्लेखनीय अंश वैदेशिक ऋण रहेको छ । बजेटमा पुँजीगत खर्च, चालु खर्च र ऋण भुक्तानी शीर्षक गरी तीन शीर्षक दिइएको हुन्छ । डलर सस्तो भएका बखत ऋण भुक्तानी गर्दा तुलनात्मक रूपमा नेपालले कम पैसा मात्र विदेश पठाए पुग्छ । नेपालमा उपभोग्य सामानको उत्पादन कम मात्र हुने हुँदा विदेशबाट आयात गर्ने सामान डलर सस्तो हुँदा सस्तो पर्ने हुन्छ । डलर घटेपछि सर्वसाधारणले अत्यधिक प्रयोग गर्ने मोबाइल, कम्प्युटरलगायत विद्युतीय सामानको मूल्यमा समेत गिरावट आउनेछ ।
डलर घटेसँगै सबैभन्दा बढी राहत पेट्रोलियम पदार्थको आयातमा मिल्ने छ । कच्चा तेलको मूल्यमा निरन्तर वृद्धि र डलरसँग नेपाली रुपियाँको अवमूल्यनका कारण नेपाली उपभोक्ताले प्रतिलिटर पेट्रोलको एक सय २५ रुपियाँ तिर्नु परिरहेको छ । डलरको मूल्य घट्दा नेपाल आयल निगमलाई पनि राहत नै मिल्नेछ । त्यसैगरी सबैभन्दा ठूलो राहत नेपाल विद्युत् प्राधिकरणलाई हुनेछ । प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका खिम्ती र भोटेकोसीका कारण जहिले पनि घाटा व्यहोर्नु परिरहेको छ । डलर मूल्य घट्दा भने प्राधिकरणलाई सबैभन्दा बढी फाइदा हुन्छ ।

प्रतिक्रिया