मलाई चित्त बुझ्या छैन

बाग्लुङ, ७ असोज । विशुद्ध धार्मिक यात्रा भन्दै गण्डकी र धौलागिरि अञ्चलका विभिन्न जिल्ला भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका क्रियाकलापप्रति असन्तुष्टि जनाएका छन् । देशको अहिलेको अवस्थाप्रति आफू निकै चिन्तित रहेकोसमेत उनले बताए ।

शनिबार बिहान पोखराबाट बाग्लुङ पुगेका पूर्वराजा ज्ञानेन्द्रले स्थानीय कालिका भगवती मन्दिरमा पूजापाठ गरी होटल पिस प्यालेसमा आराम गरे । त्यहीँ पत्रकारसित उनले भने, ‘देशको अहिलेको अवस्थाप्रति मेरो चित्त बुझ्या छैन ।’
पूर्वराजा ज्ञानेन्द्रले अप्रत्यक्षरूपमा दलहरूको गतिविधिप्रति असन्तुष्टि जनाए । आमजनताजस्तै आफूलाई पनि देशको अवस्था देखेर चित्त दुखेको उनले पत्रकारलाई बताए । दोहोरो सवालजवाफ गर्न नदिई एकतर्फीरूपमा आºना कुरा मात्रै राखेका उनले भने, ‘देशको अवस्था मलाईभन्दा तपार्इंहरूलाई धैरै थाहा छ । आमजनताको जस्तै मलाई पनि देशको अवस्था देखेर चित्त दुखेको छ ।’ धार्मिक यात्राका क्रममा सर्वसाधारणबाट पाएको समर्थन र स्नेहले आफूलाई उत्साहित बनाएको उनले बताए । आºनो भ्रमण विशुद्ध धार्मिक आस्थामा केन्द्रित रहेको प्रस्टीकरण पनि पूर्वराजाले दिए ।
दिउँसो साढे १२ बजे पोखराबाट बाग्लुङ पुगेका पूर्वराजा शाहलाई उनका समर्थक र शिवसेनाका कार्यकर्ताले मोटरसाइकलमा स्कर्टिङ गरेका थिए । आफँैले गाडी हाँकेका उनले स्थानीय कालिका भगवती मन्दिरमा पूजा गरे । त्यसपछि उनले जिविस चोकदेखि होटल पिस प्यालेससम्म पैदल यात्रा गर्दै सर्वसाधारणको स्वागत ग्रहण गरे ।
पूर्वराजा ज्ञानेन्द्रलाई एमाले र कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले पनि स्वागत र सम्मान गरे । उनीहरू पूर्वराजाको कार्यक्रममा सहभागी नहुन पार्टीले दिएको निर्देशन उल्लंघन गर्दै नागरिक अभिनन्दन कार्यक्रममा सरिक मात्रै भएनन्, ‘देश बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासित बिन्ती पनि बिसाए ।
एमालेका जिल्ला कमिटी सदस्य जब्बरबहादुर लामिछानेले त ‘राजनीतिक दलले देशलाई सिध्याउन थाले, अब सरकारले केही गरी बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासमक्ष बिन्ती बिसाए । ‘माओवादी, कांग्रेस, एमाले कसैले केही गर्न सकेनन्, अब सरकारले केही गरिबक्सियोस्’, उनले रुँदै पूर्वराजासित बिन्ती गरे । त्यस्तै, कांग्रेसका केही नेताले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका आºनो घरअगाडि घडा राखेका थिए ।
पूर्वराजाको स्वागतमा मोटरसाइकलसहित र्‍यालीमा सहभागी हुनेलाई २ लिटर पेट्रोल नि:शुल्क उपलब्ध गराइएको थियो । पूर्वराज्ञा ज्ञानेन्द्र शनिबार नै पोखरा फर्किएका छन् । फर्किने क्रममा उनले पर्वत सदरमुकाम कुस्मास्थित गायत्री मन्दिर, गुप्तेश्वर गुफाको दर्शन तथा अवलोकन गरेका थिए ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्रको भ्रमण बिथोल्न एमाओवादीका ६ भ्रातृसंगठनले संयुक्त रूपमा आइतबार स्याङ्जा बन्दको घोषणा गरेका छन् । उनीहरूले ६ घन्टे बन्दको आह्वान गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको आइतबार स्याङ्जाको गुणिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै सदरमुकाम स्याङ्जा बजारमा सर्वसाधारणसित भेट गर्ने कार्यक्रम छ । बन्दका बाबजुत पनि स्याङ्जाको भ्रमण भने स्थगन नहुने पूर्वराजानिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया