पूर्व राजाको धौलागिरिमा भव्य स्वागत

पोखरा, ६ असोज । पश्चिमाञ्चलको धार्मिक भ्रमणका क्रममा आज बाग्लुङ पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहलार्ई समर्थक तथा शुभेच्छुकले भव्य स्वागत गरेका छन् ।
बाग्लुङकालिका मन्दिरको दर्शन पछि पूर्व राजा शाह सदरमुकाम पुगेका छन् । झण्डै एक किलो मिटर सम्म लामबद्ध भएर बसेका समर्थकले उनको भव्य स्वागत गरेका हुन् ।
राष्ट्रिय झण्डा सहित बसेका समर्थकले राजा आउ देशबचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारावाजी समेत गरे ।
कतिपय शुभेच्छुकले सरकार तपाई सक्रिय हुनुपर्‍यो, देश डुब्न आँट्यो समेत भनेका थिए । जवाफ नफर्काएका पूर्व राजा शाहले मुस्कुराउँदै टाउको मात्रै हल्लाए ।
होटल पिस प्यालेसमै खानाखाएका उनले केहीबेर आराम गरेर पर्वतको कुश्मा प्रस्थान गरेका छन् ।
उनले कुश्मामा रहेको गायत्रीमाता मन्दिरको दर्शन गर्नुका साथै गुम्बा र यान्त्रिक पुलको निरीक्षण गर्ने छन् । उनी आजै पोखरा फर्कने छन् ।
पोखराबाट बिहान पौने ९ बजे पूर्व राजा शाह शिव सेना र प्रहरीको स्कर्टिङमा पोखरा–बाग्लुङ राजमार्ग हुँदै प्रस्थान गरेका हुन् ।
कास्कीको हेम्जा, ढिकुरपोखरी, नाउडाडा, लुम्ले, नयाँपुल, पर्वतको डिमुवा, पातिचौरलगायतका स्थानमा समर्थक तथा शुभेच्छुकले लामबद्ध भएर उनको स्वागत गरेका थिए ।
आफै गाडी हुईकाएर गएका पूर्व राजा शाहले बाटोमा फूलका गुच्छा लिएका थिए । स्वागतका क्रममा ढिला भएपछि उनी निर्धरित समयभन्दा केही ढिलो बाग्लुङ पुगेका हुन् ।
भ्रमण तालिका अनुसार उनले आइतवार स्याङ्गजाको गुणिखोलास्थित धनुषेश्वर महादेवको दर्शन गर्नुका साथै स्थानीय नागरिकहरुसँग भेटघाट गर्ने छन् । सोमबार तनहँुको दमौलीमा पञ्चमन्दिरको दर्शन पनि गर्ने कार्यक्रम छ ।
असोज–९ गते पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिर दर्शनका लागि नालाकोमुखदेखि करिब १५ मिनेट पैदलयात्राका साथ मन्दिर पुग्ने कार्यक्रम छ ।
असोज–११ गते काठमाडौ फर्किनु अघि उनले १० गते बौद्ध मन्दिरहरुको दर्शन र बेलुका संचारकर्मीसंग कुराकानी गर्ने बताईएको छ ।
सत्तारुढ दल एमाओवादीले भ्रमण बिथोल्ने
यसैबीच, सत्तारुढ एमाओवादीले पूर्व राजा शाहको भ्रमण बिथोल्न भोलि आइतबार स्याङजा बन्दको घोषणा गरेको छ ।
धार्मिक भ्रमणका लागि पूर्व राजा शाह आईतवार स्याङजा जाने भएपछि एकीकृत माओवादी सम्बद्ध बिभिन्न ६ भातृसंगठनहरुले ६ घण्टे बन्द आबहन गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गरेर आईतवार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बन्दको घोषणा गरेको उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया