दलहरुलाई विश्वासमा लिएर जाने सहमति

काठमाडौं, ६ असोज । कांग्रेस र नेकपा–माओवादीले सहमतिकै आधारमा मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज भएको दुई दलका शीर्ष नेताहरुको भेटबार्तामा वर्तमान सरकारलाई विस्थापित गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न पनि सहमत भएका छन् ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले चार दलका नेताले गरेका निर्णयलाई आफूहरुले नमान्ने जनाए । जवाफमा सभापति कोइरालाले नेकपा–माओवादी, फोरम नेपाललगायतका दलललाई पनि सहमति र विश्वासमा लिएर जान आफूहरु तयार रहेको बताए ।
भेटबार्ता पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले निकासका लागि विश्वासिलो वातावरण बन्नु पर्ने बताए । उनले भने, ‘सबै दललाई समावेश गरेर विश्वासका साथ निकास दिने सहमति भएको छ ।’
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले चार दलले मुलुकमा सिण्डिकेट लागू गरेको भन्दै सबै दललाई सहभागी बनाएर सहमतिका लागि निर्णय गर्दै जान शीर्ष नेताहरु सहमत भएको बताईन । उनले भनिन्, ‘चार दलको सिण्डिकेटलाई हामीले मान्दैनौ भनेका छौं ।’
भेटबार्तामा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल तथा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, सचिव नेत्रविक्रम चन्द र प्रवक्त पम्फा भुसाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया