आरसिटीद्वारा बाँसबारी पराजित

काठमाडौं, ६  असोज । एनसेल कप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा आरसिटीले बाँसबारी क्लबलाई २–१ ले पराजित गर्‍यो । एक गोलले पछि परेको आरसिटीलाई जित दिलाउने क्रममा अमर डंगोलले दोस्रो हाफमा दुवै गोल गरे । ३२औँ मिनेटमा श्यामबाबु मगरको गोलमा बाँसबारीले अग्रता लिएको थियो ।
८१औँ मिनेटमा विपक्षी रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै अमरले गोल गरेका हुन् । इन्जरी समयको दोस्रो मिनेटमा अमरले नै निर्णायक गोल गरे । पराजयका बाबजुद बाँसबारीले आरसिटीविरुद्ध मन छुने खालको प्रदर्शन गरेको थियो ।
खासमा सुजन लिम्बू र श्यामबाबुको प्रदर्शन स्तरीय रह्यो । बाँसबारीका गोलरक्षक अजित प्रजापतीको प्रदर्शन पनि उत्तिकै स्तरीय थियो । १५औँ मिनेटमै आरसिटी गोलको नजिक पुगे पनि अफ्रिकी खेलाडी ओलावाले गरेको प्रहार अजितले बचाउ गरेका थिए । ६९औँ मिनेटमा बाँसबारीका कप्तान ली तामाङले २५ यार्डबाट प्रहार गरेको बल क्रसबारको माथिल्लो भागमा लागेर फर्केको थियो ।

प्रतिक्रिया