भक्ति र भक्त

आजको प्रवचन म अष्टाबक्र गीताको एक श्लोकबाट गर्दैछु । भारतवर्षमा सातभन्दा बढी गीता लेखिएका छन् । कृष्णले मात्रै गीता लेखेनन् उनीभन्दा अघि पनि विश्वामित्रले गीता लेखे जो विश्वामित्र गीताको नामबाट प्रसिद्ध छ । एकजना आरुणी बराह थिए उनले अत्यन्त सुन्दर उच्चकोटिको गीता लेखे । जनकजस्ता राजा भए, जसले पूरा गीता लेखे । द्वापर युगमा कृष्णले गीता लेखे । तपार्इंहरूलाई आश्चर्य लाग्ला हनुमानले पनि एउटा उच्चकोटिको गीता रचना गरे । हनुमानका शिष्य, भक्त अष्टाबक्रले पनि गीता लेखे । यो कृष्णको गीताभन्दा पनि ज्यादा महत्त्वपूर्ण र मूल्यवान छ । उनको ज्ञान कृष्णको गीताभन्दा ज्यादा उच्चकोटिको छ । यसो भनेर मैले कसैको गीताको न्यूनता देखाउन खोजेको होइन । तर, कृष्ण गीताभन्दा उच्च कोटिको ज्ञान, उच्च कोटिको विचार, उच्च कोटिको चिन्तन यो गीतामा छ । हनुमानले जुन गीता लेखे त्यो ‘हनुमत गीता’ को नामले प्रसिद्ध छ । हनुमानजस्ता शिष्य हामीले जसको नाम बदलिदियौँ भक्तिकालमा भक्त भनेर । तर, पहिले त शब्द एउटै थियो गुरु र शिष्य । भगवान् र भक्तजस्ता शब्द त थिएनन् नै । ऋग्वेदमा या यजुर्वेदमा भक्तजस्तो कुनै शब्द आएकै छैन । भगवान्जस्तो शब्द पनि कुनै छैन । ब्रह्म शब्द आएको छ, देवता शब्द आएको छ ।
भगवान् र भक्ति शब्द भक्तिकालमा पैदा भयो । यो आजभन्दा केवल चार सय वर्ष पहिलेको स्थिति हो, जुनबेला बाबर, अकबर या शाहजाहको समय थियो । त्यतिबेला यो भक्त शब्द पैदा भयो । कवीर हुन्, सुर हुन् ती सबै एकै युगमा भए । केवल चार सय वर्षको इतिहासमा यो भक्ति र भक्त शब्द पैदा भयो । उनीहरूले एक नयाँ पद्धति निकाले– केवल नाम मात्रले पनि भगवान्को प्राप्ति हुन सक्दछ । यही सिद्धान्त फैलँदै गयो । उनको नामबाट मात्र भगवान् प्राप्ति हुन सकेन । उनीहरू एउटा काल्पनिक भगवान्को नामका सामु झुक्दैरहे भगवान् आउने छन्, हाम्रो दु:ख दूर गर्नेछन् भनेर । जब अकबरको अत्याचार अत्यन्त बढ्दै गयो, औरंगजेबको पनि अत्याचार बढ्यो, त्यस्तो अवस्थामा तुलसीलाई लाग्यो, हिन्दू जाति ज्यादै दु:खित छन्, पीडित छन् । त्यसैले उनले एउटा ग्रन्थ लेखे, रामचरितमानस । उनले रामको ठूलो स्तुति गरे, ठूला वीर हुन्, धनुषवाण, तीर लिएका युद्ध प्रिय हुन् । शत्रुहरूको संहार गर्न सक्दछन् ।
‘जब–जब होया धर्म कीे हानि बाढे अधम असुर महाअभिमानी’
जबजब धर्मको हानि हुन्छ, जब असुर बढ्छन् त्यतिबेला भगवान् रूप धारण गरेर असुरको नाश गर्ने छन् । यस प्रकार उनले एउटा नायक दिए हिन्दूका लागि । यसकारण कि ती नायकको काल्पनिक साहराबाट व्यक्तिले आफ्नो धर्मको रक्षा गर्न सकोस् । तर यसोभन्दा भन्दै पनि म यो बताइरहेको छैन कि भक्त हुनु गलत हो । लाखाँै भक्त व्यक्तिहरू छन् । मन्दिर जान्छन्, हात जोड्छन् र आफ्नो मनोकामना माग्दछन् । तर, जबसम्म पूर्णताको कुरा छ त्यो भक्ति मार्गबाट मात्र सम्भव छैन । भक्तिले केवल कीर्तन र मनलाई केही क्षणका लागि सन्तोष दिन सक्छ । स्थायित्व भाव दिन सक्तैन । किनभने यो अस्थायी भाव हो । मन्दिरमा गयो भने भाव पैदा हुन्छ । मन्दिरबाहिर निस्केपछि भाव समाप्त हुन्छ । चौबीसै घन्टा भक्त बनेर रहने पनि छन् । त्यो पनि आफँैमा उनको श्रेष्ठ विधा हुनेछ । तर, मेरो रायमा आफँै गिड्गिडाएर, घुँडा टेकेर एक काल्पनिक भगवान्को साहरामा जीवन यापन गर्ने कलामा लिप्त हुनुहुँदैन । अष्टाबक्रले आफ्नो गीतामा यसै सिद्धान्तलाई दोहोर्‍याए । यद्यपि उसबखत कुनै भक्तिजस्तो चिज थिएन ।
हनुमानको जीवनको एक प्रसंग छ, रामको सेवामा उनी चैबीसै घन्टा तत्पर रहन्थे । उनी कुनै भक्त थिएनन्, आफू स्वयंमा उच्च कोटिका ज्ञानी थिए, विद्वान् थिए । उनमा कति उच्च कोटिको विचार, ज्ञान र चिन्तन छ भन्ने कुरा उनको गीताबाट प्रस्ट हुन्छ । एकपटक उनले देखे, भगवान् राम चार–पाँच दिनदेखि ज्यादै उदास छन्, चिन्तित छन्, तनाबमा छन् र हाँसेका छैनन् । यति धेरै चिन्तित किन भएको भनेर एक–दुईपल्ट यसको कारण सोध, ‘के काम छ मलाई बताउनुस् ? तपार्इंका कृपाले म एक्लै नै तनाब कम गर्न समर्थ छु, म तपार्इंको सेवक हुँ ।’ जुन भक्त शब्द आएको छ तुलसीले लेखेका हुन् । उनले आफ्नो रामचरित मानसमा लेखे ‘म तपार्इंको भक्त हुँ ।’ वाल्मीकिले कहिल्यै पनि आफ्नो रामायणमा हनुमानलाई भक्त शब्दले सम्बोधन गरेनन् । वाल्मीकि रामकै समयका ऋषि थिए । सीता रावणकहाँबाट फर्केपछि वाल्मीकि आश्रममै बसिन् । वाल्मीकिले जेजस्तो लेखे सत्य लेखे । आँखाले जे देखे त्यही लेखे । उनको समयकै घटना थियो । हजारौँ वर्षपछि तुलसीले लेखे । त्यतिबेलासम्म घटीमा पनि दुई सय रामायण लेखिइसकेको थियो । कुम्भ रामायण भिन्नै छ । तेलगु रामायण अलग छ । वाल्मीकि रामायण अलग छ । दक्षिणमा गयो भने एक सय एक रामायण छ । अलग/अलग ऋषिद्वारा अलग/अलग रामायण लेखिएको छ । तिनको सार र तथ्य लिएर उनले ग्रन्थ लेखे जसलाई राम चरित मानस भनियो । तर, वाल्मीकिले सही अर्थमा उनलाई शिष्य शब्दले सम्बोधन गरेका छन्, भगवान् रामलाई गुरुका रूपमा सम्बोधन गरेका छन् । जहाँ पनि वाल्मीकिले उनलाई सम्राटका रूपमा विभूषित गरेका छन्, उनी एक राजा हुन् पथभ्रष्ट राजा हुन् । उनले दुई/तीन पटक लेखेका छन् ।
अयोध्यानजिक उनको आश्रम थियो । रामले उनको आश्रम उजाड बनाइदिए । त्यहाँबाट ८० किमी टाढा उनले आफ्नो आश्रम निर्माण गरे । राम राज्यको जुन कल्पना गरिरहनु भएको छ, राम राज्यमा पनि यस्तो लडाइँ–झगडा थियो । सामन्तशाही थियो । कयौँ पत्नी राख्दथे । दशरथजस्ता राजाले पनि राखे । उनले पत्नी मोहमा आएर छोरालाई घरबाट निकालिदिए । मन्थराजस्ती नोकर्नी पनि थिई । कुटीलता हुन्थ्यो । एक भाइलाई वनबास पठाएर अर्को भाइलाई राजगद्दीमा बसाउने षड्यन्त्र हुन्थ्यो । यो सब तपाईंहरूको रामराज्यमा पनि हुन्थ्यो र आज पनि हुन्छ ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया