राज्यकोषको चार अर्ब हिनामिना गरेको दाबी

काठमाडौं, ६ असोज । शिविरमा नक्कली लडाकु खडा गरी राज्यकोषको चार अर्ब रुपियाँ हिनामिना गरेको दाबी गर्दै एमाले भ्रातृसंगठन युवा संघ नेपालले प्रमुख सत्ताधारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेता कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।
युवा संघका अध्यक्ष महेश बस्नेतको नामबाट शुक्रबार उजुरी दर्ता गरिएको हो । विपक्षी दलहरू लडाकुका नाममा राज्यको अर्बौं रकम हिनामिना भएको आरोप लगाउँदै आए पनि छानबिन गर्ने निकायमा उजुरी भने परेको थिएन । तत्कालीन व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले पनि शिविरमा रहेका लडाकुका नाममा राज्यकोषबाट निकासा भएको रकममा एमाओवादी नेतृत्वले अनियमितता गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, लडाकुको रेखदेख, समायोजन र पुन:स्थापनासम्बन्धी विशेष समितिमा पनि विपक्षी दलहरूले रकम दुरुपयोग भएको भन्दै छानबिनको माग गरेका थिए ।
युवा संघले अख्तियारमा दर्ता गरेको उजुरीमा ‘नक्कली लडाकुका नाममा राज्यबाट निकासा भएको

करिब चार अर्ब रकम असुलउपर गरी एमाओवादी पार्टी र तीनका अध्यक्षसहित नेताहरूलाई भ्रष्टाचारमा हदैसम्मको कारबाही गर्न’ माग गरिएको छ । संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)ले शिविरमा रहेका लडाकुको प्रमाणीकरण गर्दा फेला नपरेका आठ हजार आठ सय ५६ र प्रमाणीकरणमा परे पनि पछि शिविरमा फेला नपरेका दुई हजार चार सय ३२ लडाकुका नाममा राज्यबाट लिएको करिब ५५ करोड रुपियाँ एमाओवादीले हिनामिना गरेको दाबी उजुरीमा गरिएको छ ।
उजुरीमा एमाओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई र नेता महरालाई तत्काल नियन्त्रणमा लिएर छानबिन प्रक्रिया थाल्न माग गरिएको छ । ‘नक्कली लडाकुका नाममा राज्यकोषको चरम दुरुपयोग गर्ने र लडाकुका नाममा लिइएको रकम चुस्तदुरुस्त राख्न नसक्ने एमाओवादीका अध्यक्ष दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराई र नेता महरालाई अविलम्ब नियन्त्रणमा लिई छानबिन प्रक्रिया अघि बढाउन माग गर्दछौँ,’ उजुरीमा भनिएको छ ।
०६३ सालमा विस्तृत शान्ति–सम्झौता गर्दा एमाओवादीले आफ्ना ३० हजार आठ सय ५२ लडाकु रहेको जिकिर गर्दै राज्यकोषबाट उनीहरूका लागि रासन र दैनिक भत्ता बुझेको थियो । सरकारले प्रत्येक लडाकुलाई रासन र दैनिक भत्ता स्वरूप ६२ रुपियाँ दिने गरेको थियो । एमाओवादीका तत्कालीन संसदीय दलका नेतासमेत रहेका नेता महराले सो रकम राज्यबाट आफ्नो नाममा एकमुष्ट बुझेका थिए । जुन अहिले पनि महराको नाममा बेरुजु छ ।
एमाओवादीले ३० हजार आठ सय ५२ लडाकुका लागि राज्यकोषबाट रासन र दैनिक भत्ता बुझे पनि अनमिनले प्रमाणीकरण गर्दा शिविरमा २१ हजार नौ सय ९६ लडाकु मात्रै फेला परेका थिए । प्रमाणीकरण प्रक्रियामा नदेखिएका आठ हजार आठ सय ५६ जना लडाकुका नाममा करिब १४ करोड ८२ लाख रुपियाँ दुरुपयोग भएको दाबी युवा संघले आफ्नो उजुरीमा गरेको छ ।
अनमिनले प्रमाणीकरण गरेपछि ०६४ देखि ०६८ सालसम्मको चार वर्ष एक महिना सरकारले लडाकुको रासन र दैनिक भत्ता बढाएर ७५ रुपियाँ पुर्‍याएको थियो । सो अवधिमा अनमिनले गरेको पुन:प्रमाणीकरणमा दुई हजार चार सय ३२ लडाकु शिविरमा नरहेको पाइएको थियो । ती लडाकु कहाँ गए भन्ने औपचारिक जानकारी र स्पष्ट जवाफ एमाओवादीले दिन सकेको थिएन ।
ती लडाकुका नाममा पनि एमाओवादी नेतृत्वले करोडौँ रकम हिनामिना गरेको दाबी युवा संघको छ । ‘एमाओवादी नेतृत्वले सो समयमा राज्यकोषको २६ करोड २१ लाख रुपियाँ भ्रष्टाचार गरेको छ,’ उजुरीमा उल्लेख गरिएको छ । रकम दुरुपयोग भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका तथ्यलाई प्रमाणका रूपमा सिडी बनाएर युवा संघले उजुरीसँगै बुझाएको छ ।
एमाओवादी नेतृत्वले लडाकुका नाममा चार अर्बभन्दा बढी रकम हिनामिना गरेको गुनासो पार्टीभित्र समेत उठेको थियो । गत साउनमा भएको विस्तारित बैठकमा कार्यकर्ताले लडाकुका नाममा आएको पैसाको पारदर्शी हिसाब–किताब देखाउन माग गर्दै नाराबाजी गरेपछि नेतृत्वले छानबिन गरेर सार्वजनिक गर्ने आश्वासन दिएको थियो । नेता पोष्टबहादुर बोगटीको संयोजकत्वमा छानबिन समिति नै बनाइएको थियो । तर, अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।
एमाओवादीभित्रै र बाहिर लडाकुका नाममा राज्यकोषको अर्बौं रकम हिनामिना भएको गुनासो उठे पनि अख्तियारले अहिलेसम्म कुनै चासो देखाएको थिएन । ‘एमाओवादीको नेतृत्वले लडाकुका नाममा अर्बौं रकम हिनामिना गरेको गुनासो बाहिर मात्रै होइन, एमाओवादी पार्टीभित्रै पनि चर्को रूपमा उठ्दासमेत अख्तियार मूकदर्शक भएर बसिरहेको थियो । अख्तियार एमाओवादीको त्रासमा परेको देखेपछि हामीले उजुरी दिएका हौँ,’ युवा संघका महासचिव नीरज आर्चायले भने ।
उजुरी बुझेपछि अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले राज्यका कुनै पनि निकाय र पदमा पुगेको व्यक्तिले अख्तियार दुरुपयोग गरे त्यसलाई आयोगले छानबिन गर्ने बताए । युवा संघले दिएको उजुरीलाई पनि गम्भीरतापूर्वक लिने उनले बताए । यसअघि अख्तियारका सचिव भगवतीप्रसाद काफ्लेले एक साताअघि एमाओवादी पार्टीले छानबिन गरेपछि मात्र आफूहरूले त्यसबारे छानबिन गर्ने हास्यास्पद अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिएका थिए ।

प्रतिक्रिया