आइजिपी सहभागी कार्यक्रममा गएनन् गच्छदार

 

काभ्रे,६ असोज । गृह मन्त्रालयले आयोजना गरेको स्थानीय प्रशासकको क्षेत्रीय गोष्ठीमा भाग लिन धुलिखेल आएका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार अन्यत्र लागे । गृहमन्त्री गच्छदार तीन सय मिटर पर रहेको होटलमा आयोजना गरिएको पार्टीको बैठकमा मात्रै सहभागी भए ।
आइजिपीमा आफू अनुकूलका व्यक्ति नियुक्त गर्न नसकेपछि रुष्ट बनेका मन्त्री गच्छदार धुलिखेलमै रहे पनि सुरक्षा प्रमुखको बैठकमा सहभागी नभएका हुन् । बिहान ८ बजे उद्घाटनका लागि समय दिएको भए पनि गच्छदार १० बजे मात्र धुलिखेल आइपुगेका थिए । काभ्रे र भक्तपुरको सीमा क्षेत्र साँगादेखि कार्यकर्ताको मोटरसाइकल स्कर्टिङमा धुलिखेलको मिराबेल रिसोर्ट पुगेका गच्छदार बाटोमै रहेको अरनिको होटल गएनन् । होटलमा बिहानैदेखि गृहसचिव नवीन घिमिरेलगायत सुरक्षा प्रमुख उनकै प्रतीक्षामा थिए ।
गच्छादार समयमै नआएपछि गोष्ठीको औपचारिक रूपमा गृहसचिव घिमिरेले नै उद्घाटन गरेका थिए । खानाको समयमा गृहमन्त्री सहभागी भएर निर्देशन दिने रिपोर्टिङ पाएका सहभागीले गच्छदार नआएपछि पुन: कार्यक्रमलाई निरन्तरता दिएका थिए । गोष्ठीको समापनमा सहभागी हुने भने पनि गच्छादार पार्टीको बैठक छाडेर सुरक्षा गोष्ठीमा आउन नमानेको प्रहरी स्रोतले बताएको छ । मन्त्री गच्छादारले कुबेरसिंह रानालाई चुनौती दिन कार्यक्रममा सहभागी नभएको स्रोतले बतायो । गोष्ठीमा आइजिपी राना, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, अनुसन्धान विभाग प्रमुख मोती गुरुङ, बाग्मती अञ्चलका डिआइजीहरु, अञ्चल प्रमुख, जिल्ला प्रमुख, सिडिओ तथा प्रहरी प्रमुखले गृह मन्त्रालयले दिएको पाँचबुँदे निर्देशनअनुसार ब्रिफिङ गरेका थिए । मन्त्रालयले सुरक्षा प्रमुखलाई जिल्लाको वर्तमान सुरक्षास्थिति (बुँदागत रूपमा), क्षेत्रीय, जातीय तथा सशस्त्र समूहहरूको गतिविधि र नियन्त्रण, शान्तिसुरक्षा कायम गर्न तत्काल गर्नुपर्ने कार्य, आवश्यक स्रोतसाधन, गृह प्रशासनमा सुधार गर्नुपर्ने कार्यबारे जिल्लाको रिपोर्टिङ गरेका थिए ।
संक्रमणकाल, राजनीतिक समीकरणमा हुनसक्ने फेरबदलमा प्रहरीको भूमिकाका विषयमा गृहसचिव घिमिरेले निर्देशन दिएका थिए । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, दोलखा र रामेछापबाट सिडिओ र प्रहरी प्रमुखहरू सहभागी भएका थिए । मन्त्रालयले नयाँ सुरक्षा रणनीति बनाउन १४ अञ्चल र पाँच विकास क्षेत्रमा गोष्ठीको तयारी गरेको छ ।

प्रतिक्रिया