एक महिनामै २८ हजार बदेसिए

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीका लागि चालू आर्थिक वर्षको भदौ महिनामा २८ हजार ८७ जना बिदेसिएका छन् । रोजगारीका लागि बिदेसिएका अधिकांश मलेसिया र खाडी मुलुक गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार यो संख्या गत आवको सोही महिनाको तुलनामा २५ दशमलव ७१ प्रतिशत कम हो । गत आवको सोही महिना ३७ हजार आठ सय आठजना रोजगारीका लागि विदेश गएका थिए । यो संख्यासहित चालू आवमा रोजगारीकै लागि विदेश जानेको संख्या ६० हजार सात सय ४५ पुगेको छ ।
विभागका अनुसार भदौमा २६ हजार ६ सय ३५ पुरुष र एक हजार चार सय ५२ महिला बिदेसिएका छन् । यसमा २७ हजार ९८ संस्थागत र नौ सय ८९ व्यक्तिगत श्रम स्वीकृतिमा विदेश गएका हुन् । सरकारले व्यक्तिगत भिसामा विदेश जानेलाई कडाइ गरेपछि त्यो संख्यामा विगतको भन्दा कमी भएको विभागका निर्देशक काशीराज दाहालले बताए । व्यक्तिगत रूपमा रोजगारीमा जानुपरे सम्बन्धित मुलुकको दूतावासको प्रमाणीकरण पेस गर्नुपर्ने सरकारी व्यवस्था छ । व्यक्तिगत रूपमा जाँदा ठगी बढी भएपछि सरकारले यस्तो व्यवस्था गरेको हो ।
भदौ महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । सो महिना १२ हजार एक सय ५१ जना मलेसिया गएका छन् । यसमा ११ हजार चार सय दुईजना पुरुष र सात सय ४९ महिला छन् । यस्तै, ६ हजार आठ सय ११ जना साउदी अरब गएको विभागले जनाएको छ । त्यसमा ६ हजार आठ सय १० पुरुष र एकजना महिला छन् । भदौमा कतार जानेको संख्या भने घटेको छ । सो महिना चार हजार पाँच सय ६५ जना रोजगारीका लागि कतार गएका हुन् । यसमा चार हजार चार सय ९२ पुरुष र ७३ महिला छन् । यस्तै, युएई जानेको संख्या तीन हजार एक सय ६८ छ । जसमा दुई हजार ६ सय ५३ पुरुष र पाँच सय ३३ महिला छन् ।
यसैगरी भदौमा १० हजार दुई सय १० जनाले विभागबाट पुन: श्रम स्वीकृति लिएका छन् । उनीहरूले यसअघि रोजगारीकै क्रममा घर आई पुन: जानका लागि स्वीकृति लिएका हुन् । यसमा नौ हजार आठ सय ४२ पुरुष र तीन सय ६८ महिला छन् ।
यस्तै, भदौमा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रूपमा नौ करोड ६८ लाख १५ हजार चार सय ६१ रुपियाँ र संस्थागत रूपमा तीन करोड ६१ लाख ७४ हजार आठ सय ८० रुपियाँ ठगी भएको छ । चालू आवमा व्यक्तिगत रूपमा मात्र १८ करोड ७९ लाख ९१ हजार एक सय एक र संस्थागत रूपमा पाँच करोड ६९ लाख ७५ हजार तीन सय ८० रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित चार सय ४८ वटा उजुरी परेको विभागले जनाएको छ । चालू आवमा परेका उजुरीमध्ये ३१ वटा मुद्दा अदालतमा दर्ता भएका छन् ।

प्रतिक्रिया