अर्थबजार

तीन महिनामा तीस प्रतिशत मूल्यवृद्धि

सौर्य अनलाइन २०६९ असोज ५ गते ३:१२ मा प्रकाशित

जाजरकोट, ५ असोज । मध्यपहाडी जिल्ला जाजरकोटमा वर्षायामसँगैका तीनमहिने अवधिमा तीस प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने स्थानीय प्रशासन निष्क्रिय रहेपछि मूल्य अकासिएको हो । बढ्दो मूल्यसँगै आमनागरिक थप मारमा परेका छन् ।
दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, चिनी, मासु, तरकारीलगायत उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको भन्दै तत्काल रोक्न स्थानीय प्रशासनलाई उपभोक्ता हित संरक्षण मञ्चले दुई महिनाअघि नै ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाइ नभएको मञ्चका अध्यक्ष छविराज शर्माले बताए ।
उनले अनुगमन तथा मूल्य नियन्त्रण गर्ने स्थानीय प्रशासन नै उदासीन भएपछि व्यापारीले मनोमानी ढंगले मूल्य वृद्धि गरिरहेको दाबी गरे । शर्माले भने, ‘हामी खबरदारी गरिरहेका छौँ तर प्रशासनको लापरबाहीले गर्दा व्यापारीको मनोबल बढिरहेको छ ।’
तीन महिनाअघि प्रतिकेजी तीन सय ५० रुपियाँ पर्ने खसीको मासु हाल चार सय, ३५ रुपियाँ प्रतिकेजी पर्ने चामल ५० रुपियाँ, ८० रुपियाँ प्रतिकेजी पर्ने मसुरोको दाल एक सय २० रुपियाँ, ७० रुपियाँ प्रतिकेजी पर्ने चिनी ९० रुपियाँ पुगेको उपभोक्ता सीता दवाडीले बताए । त्यस्तै २० रुपियाँ प्रतिकेजी पर्ने आलु ५० रुपियाँमा बिक्री भइरहेको छ । ६ महिनाअघि स्थानीय प्रशासन, उपभोक्ता, सञ्चारकर्मी र व्यापारीको संयुक्त बैठकले निर्धारण गरेको मूल्यसूची यतिबेला प्राय: सबै व्यापारीले लुकाएका छन् । अनिवार्य रूपमा मूल्यसूची पसल अगाडि टाँस्नु पर्ने स्थानीय प्रशासनले निर्देशन दिए पनि नियमित अनुगमन नहुँदा बजारमा मूल्यसूची राखिएको छैन ।
जिल्लामा छ महिनायता बजार अनुगमनसमेत भएको छैन । स्थानीयले मूल्यवृद्धि धेरै भएको गुनासो गर्दै सम्बन्धित निकायले मूल्य नियन्त्रण गर्नुपर्ने मागसमेत गरेका छन् । उनीहरूले भने, ‘थेग्नै नसकिने गरी जनताको ढाड सेक्ने उद्देश्यले मूल्यवृद्धि भइरहेको छ । यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकाय लाग्नुपर्छ ।’
वर्षात्का कारण जाजरकोट आउने यातायात सेवा नियमित नभएको, छिन्चु जाजरकोट सडकखण्डको सल्लीबजार राकमस्थित भेरी नदीमा सञ्चालित फेरी बन्द भएकाले मालसामान ल्याउन कठिनाइ हुने र ढुवानी रकम बढी लाग्ने भएकाले मूल्यवृद्धि गर्नुपरेको उद्योग वाणिज्य संघ जाजरकोटका उपाध्यक्ष भद्रबहादुर वलीले प्रतिक्रिया दिए । वलीले यतिबेला बाध्यतावश दसदेखि तीस प्रतिशतसम्म मूल्यवृद्धि भएको स्वीकारे । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले केही दिनमै बजार अनुगमन गरिने दाबी गरे । उनले यसअघि पनि एक महिनाअगाडि बजार अनुगमन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन हुनसकेको छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय