अर्थबजार

विल गेट्स बने विश्वकै धनी

सौर्य अनलाइन २०६९ असोज ५ गते २:५९ मा प्रकाशित

एजेन्सी : विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोब्र्सले विश्वका सर्वाधिक धनी व्यक्तिहरूको सूची सार्वजिनक गरेको छ । फोब्र्सको सूचीअनुसार विश्वको सबैभन्दा धनी व्यक्ति बिल गेट्स हुन् । प्रविधि कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिलको सम्पत्ति ६६ अर्ब अमेरिकी डलर छ । उनको सम्पत्ति गत वर्षभन्दा सात अर्ब डलरले बढेको छ ।
वारेन बफेट दोस्रो धनीको सूचीमा छन् । उनीसँग ४६ अर्ब डलर सम्पत्ति छ । उनको सम्पत्ति पनि गत वर्षभन्दा सात अर्ब डलरले बढेको फोब्र्सले जनाएको छ । ओराकल कम्पनीका लेरी इलिसन तेस्रो स्थानमा छन् । उनीसँग ४१ अर्ब डलर सम्पत्ति रहेको फोब्र्सले बताएको छ । एक वर्षको अवधिमा सर्वाधिक सम्पत्ति जोड्नेमा उनी पहिलो स्थानमा छन् । गत वर्षको तुलनामा उनको सम्पत्ति आठ अर्ब डलर बढी छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्ग भने गत वर्षको स्थानबाट खस्केर ३६औं स्थानमा पुगेका छन् । उनको कुल सम्पत्ति आठदेखि नौ अर्ब डलर घटेको अनुमान गरिएको छ । गत मे महिनामा फेसबुक सेयर बजारमा सूचीकृत भएपछि लगातार यसको बजार मूल्य घटिरहेको छ । गत वर्ष जुकरवर्ग १४औँ स्थानमा थिए ।
सूचीअनुसार चार सय धनीहरूमा ४५ जना महिला छन् । अमेरिकी अर्थतन्त्र धराशयी भइरहँदा त्यहाँका धनीहरूको सम्पत्ति भने वार्षिक १३ प्रतिशतले बढिरहेको फोब्र्सको दाबी छ । धनी र गरिबबीचको खाडल यो वर्ष अझ धेरै फराकिलो बनेको पत्रिकाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय