रंग‍-विविध

“सिरानीमुनि चिठी छाडेर सुनीलसँग भागेँ”

सौर्य अनलाइन २०६९ असोज ५ गते ३:४० मा प्रकाशित

स्कुलमा राम्रीमध्ये एक थिएँ म । केटाहरू राम्री केटीको पछि नलाग्ने त कुरै भएन । मलाई केटाले प्रपोज गरेर हैरान नै पार्थे । तर, मैले उनीहरूको प्रपोजलाई उतिधेरै महत्त्व दिइनँ । सिधै अस्वीकार गरिदिन्थेँ । अस्वीकार गर्नुको कारण रमाइलो छ । मेरी आमाले मलाई भन्नुभएको थियो, ‘प्रेम गर्‍यो भने केटीहरू बिग्रन्छन् ।’ केटाहरूले प्रपोज गर्‍यो कि आमाले भन्नुभएको कुरा मेरो दिमागमा नराम्ररी बज्रिन्थ्यो । अनि, सम्झिन्थेँ, ‘अहो † म बिग्रनुहुन्न ।’ मलाई लाग्थ्यो, ‘आमाबुबाले जसलाई दिनुहुन्छ, मैले उसैसँग जीवन बिताउनुपर्छ ।’ तर, जब एसएलसी पास गरेर कलेज जीवन सुरु गरेँ, मेरो पूर्वमान्यतमा परिर्वतन भयो । आइए प्रथम वर्षमा पढ्दै गर्दा सुनील (हालका पति सुनीलकुमार थापा)सँग प्रेममा फसेँ म । केटीहरूले लभ गर्‍यो भने बिग्रन्छ भन्ने मेरो पूर्वमान्यता मेरो प्रेमको सामु निरीह सावित भयो । र, प्रेम भएको तीन महिनामै भागेर विवाह भयो ।
यसरी सुरु भयो प्रेम
०५२ साल, त्यतिबेला १७ वर्षकी थिएँ म । रुमानी उमेर थियो । नृत्यमा पनि पारंगत थिएँ । मैले राम्रो नृत्य गर्न सक्छु भन्ने बाहिर पनि हल्ला भएछ क्यार उ उहाँहरू (पति सुनीललगायत) चलचित्रमा अभिनय गर्ने नव नायिकाको खोजीमा हुनुहुँदोरहेछ । यही क्रममा मलाई भेट्न मेरो कलेजमै आउनुभयो । यद्यपि उहाँ पनि चलचित्र क्षेत्रमा लागिसक्नुभएको भने थिएन, उहाँका साथीहरूचाहिँ चलचित्र क्षेत्रमा थिए । पहिलो भेटमै उहाँको नजर परेछ । उहाँलाई लागेछ, ‘यो मेरा लागि उपयुक्त छे ।’ तर, प्रसंग फिल्मी स्टाइलले अघि बढ्यो । एकदमै मिल्ने साथीहरूको ग्रुप थियो हाम्रो । ५ जना ग्रुपमा गरिमा (नाम परिवर्तन) ले चाहिँ सुनीललाई धेरै मनपराउन थाली । मेरी साथीले सुनीललाई मनपराउने, मलाई सुनीलले मनपराउने । उहाँसँग मेरो देखभेट भए पनि मैले भने उहाँलाई खासै वास्ता गरेर हेरेकी थिइनँ । कहिलेकाहीँ फोनमा पनि हाम्रो कुराकानी हुन्थ्यो । फोन गरेर कलेजको टाइममा साथीहरूसँग जिस्क्याउँथ्यौ पनि । मैले साइनो पनि दाइको लगाइसकेकी थिएँ ।
एकदिन गरिमाले मलाई भनी, ‘त्यो केटा एकदमै मनपर्छ, मलाई कुरा गरिदेऊ न ।’ मैले पनि फोन गरेर तत्कालै भनिदिएँ, ‘सुनील दाइ तपाईंलाई गरिमाले धेरै माया गर्छे । तपाईंबिना बाँच्न सक्दिनँ भन्छे ।’ अलिअलि मसला हालेर मैले पनि भनिदिएँ । प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘हेर्नुस् झरनाजी कसैले कसैलाई माया गर्नेबित्तिकै पाउने भए त तपाईंलाई मैले पाइसक्नुपर्ने त † म पनि तपाईंलाई एउटा प्रस्ताव राख्छु । म तपाईंलाई मनैदेखि मन पराउँछु, माया गर्छु, तपाईंसँग विवाह गर्न चाहन्छु ।’ म अचम्ममा परेँ । केही नबोली हत्तपत्त फोन राखिहालेँ । साथीले कुतूहलताका साथ के भन्यो भनेर सोधी तर मैले फोन काट्यो भनेर टारिदिएँ । केही दिनपछि मैले उहाँले भन्नुभएको सबै कुरा साथीहरूलाई सुनाइदिएँ । त्यो कुरा साथीहरूलाई पहिल्यैदेखि थाहा रहेछ । साथीहरूले शुभकामना दिए तर गरिमा भने म बाढा टाढिइन् ।
जब प्रेमप्रस्ताव राख्नुभयो, त्यसपछि उहाँ मेरो घरअगाडि गाडी लिएर आउन थाल्नुभयो । म घरबाहिर निस्कनेबित्तिकै गाडीमा बस्न आग्रह गर्नुहुन्थ्यो । म उहाँको गाडीमा चढ्न नमान्दा बिस्तारै गाँडी गुडाएर पछ्याइरहनुहुन्थ्यो । भेटमा एउटै कुरा भन्नुहुन्थ्यो, ‘म तपाईंलाई साँच्चिकै माया गर्छु ।’ हुँदाहँुदा एकदिन त उज्ज्वल पौडेल दाइलाई लिएर मलाई माग्नै आउनुभयो । मलाई पाउन त्यतिका कष्ट गरिरहँदा साँच्चिकै उहाँप्रति माया र विश्वास जाग्न थाल्यो । उहाँको मनले मेरो मनलाई पनि छोइसकेको थियो । तर, हाम्रो जात नमिल्ने भएकाले होला मेरो परिवारले सिधै इन्कार गर्‍यो । मेरो विवाहका बारेमा एक आर्मीसँग कुरा चलिरहेको थियो । यस कारण पनि मेरो बाबाआमाले इन्कार गरिदिनुभएको थियो । परिवारले इन्कार गरे पनि हाम्रो भेट भने चलिरह्यो ।
एक दिन कलेज सकेर घुम्नलाई ककनी जाने भएका थियौँ । तर, ककनी पुग्नलाई आधा बोटो हुँदा एउटा जंगल आयो । मलाई अलि डर लागेपछि उहाँलाई ‘ककनी जान्नँ’ भनेँ । उहाँले मलाई विवाहभन्दा पहिला गर्लफ्रेन्ड भनेर कहिल्यै हक, किसिङ र सेक्स गर्नुभएन । मेरो हात समाउन पनि गाह्रो मान्नुहुन्थ्यो उहाँ । त्यहाँबाट फर्किंदै गर्दा घर देखाउँछु भन्दै उहाँले बानेश्वरतिर गाडी ल्याउनुभयो । रोडबाटै उहाँले घर देखाउनुभयो । घर हेर्दाहेर्दै उहाँले घरमै गाडी लानुभयो । म एकदमै डराएँ । किन घरमा लगेको भन्दै निहँु खोजिरहेकी थिएँ । उहाँले घरमा कोही छैन, जाऊँ न मज्जा हुन्छ भन्दै ल्याउनुभयो । उहाँले घरमा कोही छैन भन्दा झन् डर लागिरहेको थियो । मलाई लाग्न थाल्यो, ‘यो मान्छेले मलाई केही खराब काम त गर्ने होइन ।’ तर, घरभित्र पुगेपछि घरमा हजुरमुमा र भाइ छ भन्नुभयो । शान्त मन भयो । हजुर आमा बार्दलीबाट हेरिरहनुभएको थियो । उहाँले हजुरमुमालाई मैले त लिएर आएँ भन्दै मलाई देखाउन थाल्नुभयो । माथिबाट हजुरमुमाले, ‘लौ, राम्री रहेछिन्, राम्री, ले–ले’ भन्दै गेटसम्म लिन आउनुभयो । घरमा लगेर सबैसँग चिनाउनुभएपछि मलाई लाग्न थाल्यो, ‘उहाँले मलाई सच्चा प्रेम गर्नुहुन्छ ।’
केही दिनपछि उहाँका परिवारका ४ सदस्यहरू मिलेर मेरो लागि सपिङ गर्न गयौँ । परिवारले सिन्दुर पोतेदेखि लिएर दुलहीका लागि चाहिने सबै सामग्रीहरू सपिङ गर्नुभएको थियो । तर, मेरो परिवारलाई केही पत्तो नै थिएन । छोरीको बिहे आर्मीसँग हुन्छ भनेर बुबाआमा ढुक्क हुनुहुन्थ्यो । सुनीलसँगको सम्बन्धबारे परिवारलाई भन्छु–भन्छु भन्दाभन्दै विवाहको मिति आइसकेछ । मैले परिवारमा भन्ने आँटै गरिनँ । तर, म निकष्र्षमा पुगिसकेको थिए कि, म सुनीलसँगै बिहे गर्छु । ०५२ साल २५ असारमा बिहानै कलेज जान भनेर बागबजार आएँ । करिब ९ बजेको थियो होला उहाँसँग भेटेर विवाहका लागि भाग्यौँ । उहाँले अन्टीको घरमा लिएर जानुभयो । आन्टीकै घरमा दुलही सिँगारिएर गुहेश्वरी मन्दिरतिर विवाहका लागि लाग्यौँ । उहाँका परिवारहरू सबैजना हुनुहुन्थ्यो । तर, मेरो परिवारको कुनै सदस्य नभएकाले होला मलाई अलि खल्लो लागिरहेको थियो । मेरो एकल निर्णयले मलाई पछि धोका त हुने होइन भन्ने मनमा खेलिरहेको थियो । अहिले सम्भँmदा अचम्म लाग्छ, ३ महिनामा उहाँसँग कसरी विवाह भयो भनेर । अहिले पो मलाई ती दिनहरू सम्झेर डर लाग्छ ।
म उहाँसँग जाने दिन मैले घरमा सिरानीमुनि चिठी छाडेँ । ममीलाई सम्बोधन गरेको त्यो चिठीमा मैले लेखेकी थिएँ, ‘जसलाई मैले हृदयदेखि माया गरेकी थिएँ उहाँसँगै गएँ । मबाट गल्ती भयो कि के भयो मलाई थाहा छैन ? तर, उहाँविना म बाँच्न नसक्ने भएकाले यो निर्णय गरेकी हुँ ।’ विवाहको चार–पाँच दिनपछि घरमा फोन गरेँ । ममीले फोन उठाउनुभयो । म भनेर थाहा पाएपछि केही नबोली रुन थाल्नुभयो । ममीले यत्तिकैमा फोन राखिदिनुभयो । मलाई मेरो माइतीबाट कहिले बोलाउनुहुन्छ भन्ने लागिरहेको थियो । करिब दुई महिनापछि मात्र बोलाउनुभयो । मेरो माइतीमा पनि परम्पराअनुसार आमाबाबाले टीकाटालो लगाएर पठाउनुभयो ।
विवाहपछि हनिमुन पनि घरमै भयो । विवापछिका दिनहरू पनि अत्यन्त सुन्दर रहे । सासूससुराले पनि एकदमै बुझ्नुहुन्थ्यो । बुहारी होइन, छोरीजस्तै बनाएर राख्नुभएको थियो । मलाई चलचित्र क्षेत्रमा ल्याउनमा पनि श्रीमान्कै हात छ । चलचित्र क्षेत्रबाट सफलता हात पर्दै गएपछि हामीले पनि फिल्महरू निर्माण गर्न थाल्यौँ । फिल्ममा ग्ल्यामर हुन त भयो नै । ‘गोर्खाली’ नामक फिल्ममा त निकै ग्ल्यामर थियो । त्यसपछि यति धेरै ग्याल्मर ? भनेर मिडियाहरूले पछ्याउन थाले । एकदिनको इन्टरभ्यु मेरो ससुराले हेर्नुभएछ । घरमा आएपछि ससुराले बधाई दिँदै भन्नुहुन्थ्यो, ‘ठीक छ, बुहारी तिमीले राम्रो इन्टरभ्यु दियौ ।’ इन्टरभ्युमा मैले भनेकी थिएँ, ‘कलाकार भएकाले फिल्ममा अभिनय गर्दा कसैको गर्लफ्रेन्ड हुँदैन, कसैको श्रीमती हुँदैन र कसैको बुहारी पनि हँुदैन ।’ मेरो यो कुरा ससुरालाई मनपरेको रहेछ । विवाह भएको एक–डेढ वर्षमा मेरी छोरी सुहाना पनि जन्मिइन् ।
हामी नेपाली चलचित्रमा एकदमै सफल र उदाहरणीय जोडी हौ जस्तो लाग्छ । जति चलचित्रमा सफल छौँ, पारिवारिक जीवनमा पनि उत्तिकै हामी सफल छौँ । हरेक अवस्थामा उहाँले मलाई सहयोग गर्नुहुन्छ । नयाँ सफलताका लागि हौस्याइरहनुहुन्छ । म उहाँलाई यसै पत्रिकामार्फत भन्न चाहन्छु, ‘मलाई चलचित्र क्षेत्रमा ल्याएर यस स्थानसम्म ल्याउनुभयो । यस्तो सर्पोटका लागि ‘धन्यवाद’ बोल्ने शब्दै पाइरहेकी छैन । र मैले भगवान्सँग प्रार्थना गर्दै अर्को जन्ममा पनि तपाईंकै अर्धांगिनी भएर बाँच्न पाउँm ।’
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय